अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा आएको बाढी पस्दा कैलालीमा दर्जनौँ बस्ती डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि एक सय ६० भन्दा बढी घरमा बाढी पसेको छ। घर डुबानमा परेकामध्ये विस्थापित भएका परिवारको विवरण यकिन हुन नसकेको प्रशासनले जनाएको छ।
विस्थापित भएका कतिपय परिवार बाढी घटेपछि घर फर्केका जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। बाढीबाट सबैभन्दा बढी प्रभावित भएको भजनी र टीकापुर नगरपालिका तथा जोशीपुर गाउँपालिकाका विभिन्न ठाउँका दर्जनौँ घर डुबानमा परेका छन्।
भजनीमा करिब ७० परिवार हुलाकी सडकमा बसेका वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले बताए। भजनी–५ का लालबोझी, पुलियापुर, लखरैया, लौबस्तालगायत अधिकांश बस्ती बाढीले जलमग्न भएका उनले जानकारी दिए। मोहना र कान्द्रा नदीको बाढी बस्ती पसेको हो। भजनी बाढीबाट अत्यधिक प्रभावित हुने क्षेत्र हो।
जानकी गाउँपालिकामा ८० घरमा बाढी पसेको छ। बाढी घटेपछि बेलुकीसम्म अधिकांश परिवार घर फर्केका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बताए। कर्णाली नदीअन्तर्गत कुलरिया खोलामा आएको वडा नम्बर ४ र ७ का बस्तीहरू डुबानमा परेका उनले बताए।
यस्तै टीकापुर–५, शाहीपुरमा कर्णाली नदीले तटबन्ध भत्काएको छ। नदीको बाढी गाउँ पस्ने खतरा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। तटबन्ध कटान गरेको ठाउँमा ठुल्ठूला ढुंगा र बालुवासहितको बोरा राखेर कटान कम गर्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले बताए।
प्रशासन कार्यालयका अनुसार अविरल वर्षाका कारण लम्की–चुहा नगरपालिका– ३, बलचौरमा स्थानीय गोपाल चौधरीको घर भत्किएको छ। गोदावरी नगरपालिका– ४, मा गोदावरी नदीको कटानले एउटा पसल, काठेपुल र प्रतीक्षालय बगाएको छ। स्थानीय गणेशदत्त पाण्डेयको पसल नदी कटानले बगाएको हो। स्थानीय कटैनी नदीमा आएको बाढी पस्दा कैलारी गाउँपालिका– ७ छटकपुर वसन्तामा केही घर डुबानमा परेका छन्।
पहिरोले दुई घर बगायो
कैलालीको चुरे गाउँपालिका– ५, गोपालेमा दुईवटा घर पहिरोले बगाएको वडा कार्यालयले जनाएको छ। स्थानीय हर्कबहादुर राना र लिलबहादुर रानाको घर बगेको वडाध्यक्ष नरबहादुर तामाङले बताए। पहिरोले गोठ बगाउँदा आठवटा बाख्रा मरेका उनले जानकारी दिए। वडा नम्बर ५ कै निङ्लाडीमा पहिरोले तीन घरमा आंशिक क्षति पुर्याएको छ।
वडा नम्बर ५ का दर्जनौँ घर उच्च जोखिममा रहेका उनले बताए। वडाध्यक्ष तामाङका अनुसार गोपालेमा ११ घर पहिरोको अति जोखिममा छन्। यस्तै काफलगैरामा २५ घर, मैतेताणमा १० घर अति जोखिममा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए। थप क्षति र जोखिम भए पनि विकट बस्ती भएकाले पहिरोले भएको क्षति र जोखिमको यकिन विवरण आउन नसकेको उनले बताए।
बाढीमा फसेका दुईजनाको उद्धार
गौरीगंगा नगरपालिका– ३ कुचैनीस्थित शिवगंगा नदी र झिल खोलाको बीचमा बाढीमा फसेका दुईजनाको उद्धार गरिएको छ। बिहीबार घाँस काट्न गएका स्थानीय राजाराम सापकोटा र उनकी बहिनी आरती बाढीमा फसेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले राति १२ बजेतिर दुवैजनाको डुंगाबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उद्धार कार्यमा ५० जना सुरक्षाकर्मी खटिएका थिए।
एकजनाको मृत्यु
लम्की–चुहा नगरपालिका– ६ गुलरामा बिहीबार बेलुकी बाढीले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। लुगा धुने क्रममा गुलरा नदीमा आएको बाढीले बगाउँदा ९५ वर्षीया फुपिया थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।