कम्युनिस्ट पार्टीको रमिता

अग्रलेख

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली वामपन्थको अवस्था जे–जस्तो भए पनि माधव नेपाल परम्परागत नेपाली वामपन्थका एउटा खम्बा हुन् 

जनयुद्धका सर्वोच्च कमान्डर रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको राजनीतिक बैंस सन् २०१८ मे महिनाको प्रारम्भदेखि नै खुलेर बतासिएको थियो । बैंस खुलेका सुरुका दिनमा दुबै नेता प्रसन्न थिए । तर, दुवैको प्रसन्नताको कारण एउटै थिएन । मे १७ का दिन प्रचण्ड र ओलीले एकअर्कालाई फूलको गुच्छा दिएर परस्परमा सम्मानको आदान–प्रदान गरेका थिए । पार्टी एकता भएको थियो । एमाले र माओवादी केन्द्रको सम्मिलनबाट एकीकृत कम्युनिस्ट पार्टीका रूपमा ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ ले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनाएको थियो । त्यो सरकार झन्डै दुईतिहाइको थियो । केही समयपछि उपेन्द्र यादवको समाजवादी फोरम सरकारमा सामेल भएपछि तीनवटै पार्टी मिलाएर दुईतिहाइको सरकार बन्यो । 

मानिसले सोचे, नेपालको माटोमा एउटा नयाँ राजनीतिक प्रयोग सुरु भएको छ । कम्युनिस्टको सरकार बन्दै छ । जे हुँदै छ, त्यो राम्रै हुँदै छ । भन्नका लागि मात्रै हो कि साँच्चै हो, कम्युनिस्ट राजनीतिमा व्यक्तिका इच्छा र आकांक्षा कहिल्यै प्रमुख विषय हुँदैनन् । कम्युनिस्ट राजनीतिमा व्यक्तिलाई तात्कालिक परिस्थितिले निश्चित भूमिका सुम्पिएको हुन्छ । त्यसको निर्वहण जसले कुशलतापूर्वक गर्न सक्छ, ऊ नेताका रूपमा स्थापित हुन्छ । नेपालमा भएको मे महिनाको परिवर्तनमा त्यस्तो केही देखिएन । नेकपाका अध्यक्षका रूपमा ओलीले पार्टीका ‘अर्का’ अध्यक्ष प्रचण्डलाई ‘पेलेर’ आफ्ना लागि निकै फराकिलो ठाउँ ओगटे । अर्का अध्यक्ष प्रचण्ड अपमानित भएर पनि केही बोलेनन् । ओलीले आफूलाई पार्टीका पहिलो अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा स्थापित गर्दा पार्टीमा प्रचण्डको कुनै कार्यकारी भूमिका थिएन । ओलीले देशको सत्ता र शक्तिलाई त गुटमुट्याए । तर, उनले यी कुनै भूमिकामा आपूmलाई स्थापित र प्रमाणित गर्न सकेनन् । नेकपाको नाममा यो शासन १७ मे २०१८ देखि ८ मार्च २०२१ सम्म चल्यो । यसबीच, वामपन्थी राजनीति जेजस्तो उहापोहबाट गुज्रियो ती भर्खरकै घटना हुन् । 

‘सरकारको शुद्धीकरणका लागि’ नेकपाका ‘अर्का’ अध्यक्ष प्रचण्डले नेकपाको ७०औँ सचिवालय बैठकमा सनसनीखेज तर महत्वपूर्ण राजनीतिक प्रस्ताव प्रस्तुत गरे । यसको सुरुमै प्रचण्डले पार्टी एकता प्रक्रियाले निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको बताएका थिए । उनले प्रस्तावको प्रारम्भमा ‘पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका’ ओलीको व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली’ प्रमुख रूपमा जिम्मेवार रहेको बताएका थिए । त्यति मात्रै होइन, प्रचण्डले ‘सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति’ देखिएको भनी गरेको टिप्पणीको उपहास गरियो ।’ वास्तवमा, त्यतिवेला नेकपाभित्रको अवस्था त्यस्तै थियो ।

यी कुरा धेरै अघिका होइनन्, हिजोअस्तिकै हुन् । माओवादी केन्द्र र एमालेबीचको बैंसालु सम्बन्धविच्छेद भएर नेपालको वाम राजनीतिमा नयाँ परिच्छेद सुरु भइसकेको छ । यो नयाँ परिच्छेद कतै गएर जोडिन्छ कि भन्ने आशंका पनि नभएको होइन । किनभने, अहिलेको परिस्थितिमा एमालेभित्र टुटफुटको निरन्तरता रही नै रहने लक्षण पनि देखिएको छ । त्यसका लागि एकीकृत समाजवादी उपयोगी हुन सक्छ ।

एमालेभित्रका मध्यमार्गीहरू एमाले अखण्डताका नाममा ओलीको डाचामा प्रवेश गरेका छन्, तर, त्यहाँ पनि कोही सुरक्षित रहने देखिँदैन । एमाले अध्यक्षका रूपमा ओली कहिले विदुषक देखिन्छन् भने धेरैजसो विध्वंसक । उनले आफ्ना सहयोगीको राजनीतिक विचार र सामथ्र्यको सम्मान गर्ने छाँटकाँट नदेखाएको अवस्थामा उनी एक्लै सम्प्रभुका रूपमा स्थापित हुन खोजेर कुनै परिणाम आउने सम्भावना छैन । नेपाली वामपन्थको अवस्था जे–जस्तो भए पनि माधव नेपाल परम्परागत नेपाली वामपन्थका एउटा खम्बा हुन् । जो खम्बा हो, उसलाई खम्बा भनेर स्वीकार गर्नु र सम्मान दिनु राजनीतिक सद्भावको प्रारम्भ हो । यसमा कसैले कन्जुसी गर्नुपर्दैन ।

ओलीको सद्भावरहित व्यवहार र निरन्तरको कटाक्षका कारण माओवादीले ढिलोचाँडो नेकपाबाट अलग हुनु नै थियो । ऋषि कट्टेलको माग–निवेदनका आधारमा सर्वोच्च अदालतबाट दल खण्डित नभएको भए पनि माओवादीले सामान्य अवस्थामा एकीकृत बसिरहनु सम्भव थिएन । माओवादी केन्द्रको नेतृत्वप्रति असन्तोष भाव देखाएर जो–जो माओवादी नेता अहिले एमालेमा छिरेका छन्, तिनको प्रतिष्ठा कहाँ पुगेको छ ? यो सबैले देखेकै हो ।

नेकपा (एकीकृत समाजवादी) ले आफूसँगै रहने अन्दाज गरेका दश अवतारको एमालेमा पलायन अहिलेको कम्युनिस्ट राजनीतिक परिदृश्यमा देखिएको सबभन्दा कमजोर कर्म हो

नेपालको वामपन्थी राजनीति अहिले नयाँ परिवेशमा देखिएको छ । यो परिवेशको एक छेउमा एमाले आफ्नो दक्षिणपन्थी व्यवहार र अनुहारसाथ खडा छ । परिवेशको अर्को छेउमा नेकपा (एकीकृत समाजवादी) देखा परेको छ । समाजवादीको उपस्थिति स्थायी हो । वैचारिक हिसाबले नवीन र वैकल्पिक होइन । अहिलेसम्म एमाले र एकीकृत समाजवादीबीचका आधारभूत भिन्नताको कसैले मीनमेख निकालेको पनि छैन । एकीकृत समाजवादीले आफूसँगै रहने अन्दाज गरेका दश अवतारको एमालेमा पलायन अहिलेको राजनीतिक परिशिष्टमा देखिएको सबभन्दा कमजोर कर्म हो । एमालेको क्षितिज आफ्नो होइन भन्ने थाहा हुँदाहुँदै त्यहीँ घुस्रिरहनुलाई नै कम्युनिस्ट मान्यता भन्ने हो कि ?

देशमा एउटै मात्र कम्युनिस्ट पार्टी अपुग हुने कुरा हाँसोको मात्रै विषय होइन । नेकपाको नाममा एउटा सिंगो र बलियो कम्युनिस्ट पार्टी बनाउने मौका थियो, जसलाई ओलीले आफ्नो अहंकार र राजनीतिक स्वार्थका कारण ध्वस्त बनाइदिए । एउटा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हुटहुटी प्रचण्डमा छ । उनी शान्ति प्रक्रियामा आएपछि बृहत् कम्युनिस्ट पार्टीको निर्माणसँगै देशलाई महत्वाकांक्षी बनाउन चाहन्थे । माओवादीले पहिलो संविधानसभा चुनावमा झन्डै बहुमत ल्याएको थियो । त्यतिखेर, माओवादीको केन्द्रीय समितिमा ३५ जना मात्रै सदस्य थिए । प्रचण्ड त्यतिवेलै एमालेसँग एकताको पहल गर्ने पक्षमा थिए । तर, चुनावको चटारोले त्यस्तो केही हुन पाएन । 

रमाइलो कुरा के भने, चुनावमा कांग्रेस, एमाले र राप्रपाले माओवादीलाई सारै कम आँकेका थिए । खास गरेर, कम्युनिस्ट पार्टीका रूपमा एमालेले माओवादीलाई सारै कम आँकेको थियो । अन्ततः एमालेको त्यो अनुमान गलत साबित भयो । कांग्रेस सभापति तथा नेता गिरिजाप्रसाद कोइराला माओवादीहरू चुनाव जितेर आऊन् भन्ने पक्षमा भएकाले कांग्रेस पनि चुनावमा त्यति तात्तिएको थिएन । पछिल्लोपटक, संविधान निर्माण भइसकेपछिको आमचुनावमा वाम मोर्चाबन्दीको विचार प्रचण्डकै थियो । यसबाट के थाहा हुन्छ भने प्रचण्डका लागि नेपालमा कम्युनिस्टलाई एकताबद्ध गराउनु गाह्रो काम थिएन । त्यसलाई निरन्तरता दिनु निकै अप्ठेरो थियो । 

पार्टी एकताका सन्दर्भमा प्रचण्ड भन्छन्– मैले हेर्दा सरकार र माओवादीबीच भएको यो बृहत् शान्तिसम्झौता विचित्रको थियो । वाम गठबन्धन र पार्टी एकता अर्को ठूलो काम भयो । मैले गरेका ती काम अहिले मलाई नै भारी परेका छन् । कम्युनिस्ट हुनुको नाताले मैले जे काम गरेँ, त्यो अहिलेको समयमा कसैलाई सह्य भएन । अमेरिकालाई पनि सह्य भएन । भारतलाई पनि सह्य भएन । युरोपलाई पनि सह्य भएन । चीनलाई केही भए होला । चीनले गरेर पनि यहाँ केही हुनेवाला छैन । 

सुझावित समाचार