फ्रेन्च युवा स्ट्राइकर केलियन एम्बाप्पेलाई भित्र्याउन स्पेनिस क्लब रियल म्याड्रिड अग्रसर भएको छ । विश्वस्तरीय स्ट्राइकरका साथ यस सिजनको युरोपियन फुटबलमा सशक्त प्रदर्शन गर्ने लक्ष्य राखेको म्याड्रिडले एम्बाप्पेलाई १६ करोड युरो प्रस्ताव गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् ।
यसै महिना लियोनल मेसीलाई अनुबन्ध गरेपछि पिएसजी केही खेलाडी बेच्ने तयारीमा छ । खेलाडीले अन्य क्लब जान इच्छुक भए पिएसजीले नरोक्ने पनि जनाएको छ । सन् २०१७ मा एम्बाप्पे पिएसजीमा अनुबन्धित भएका हुन् । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्डोले भने एम्बाप्पेलाई राख्ने वा नराख्ने भन्नेबारेमा नसोचेको बताएका छन् ।
एम्बाप्पेको वर्तमान मार्केटिङ भ्यालुभन्दा म्याड्रिडले निकै कम रकम प्रस्ताव गरेको लियोनार्डोले जनाएका छन् । ‘अहिले हामी उनलाई राख्ने वा नराख्ने पक्षमा चर्चा गरिरहेका छैनौँ, तर रियलले पठाएको प्रस्ताव रकम एम्बाप्पेलाई अपुग छ,’ उनले भने, ‘हामी यसबारेमा पुर्नविचार गर्न सक्छौँ ।’
पाँच वर्षको अवधिमा एम्बाप्पेले एक सय ७४ खेलमा एक सय ३३ गोल पिएसजीका लागि गरेका छन् । यसक्रममा उनले तीनपटक फ्रेन्च लिग वान तथा तीनैपटक फ्रेन्च कप जितेका छन् । पिएसजी दुई वर्षअघि युरोपियन फुटबल च्याम्पियसिपको उपविजेता बन्दा एम्बाप्पे प्रमुख खेलाडी थिए ।
खेलाडी अन्य क्लबमा जाँदा पिएसजीको नियमअनुसार मात्र स्थानान्तर हुन सक्ने लियोनार्डोको भनाइ छ । ‘यदि कुनै एक खेलाडी क्लब छाड्न चाहन्छन् भने उसले सबै नियम पालना गर्नुपर्छ,’ स्थानान्तरसम्बन्धी स्पष्ट नियम रहेको जनाउँदै लियोनार्डोले भने, ‘यो एम्बाप्पेलाई मात्र लागू हुँदैन, सबै खेलाडी एकै नियममा बाँधिएका छन्, एम्बाप्पे रियल जान चाहे पिएसजीकै मूल्यअनुसार जानेछन् ।’
कोरोना भाइरस (कोभिड–१९) का कारण म्याड्रिडले तीन सय मिलियन युरो गुमाएको छ । आर्थिक अभावकै कारण म्याड्रिडले नयाँ सिजनका लागि केवल एक खेलाडी मात्र भित्र्याएको छ । म्याड्रिडले जर्मन क्लब बायर्न म्युनिखका डेभिड अलावालाई फ्री ट्रान्सफरमा अनुबन्धित गरेको हो ।
म्याड्रिडका भरपर्दा डिफेन्डर तथा तत्कालीन कप्तान सर्जियो रामोस फ्री ट्रान्सफर विन्डोमै पिएसजीमा आबद्ध भए । म्याड्रिडले यो सिजनमा सर्वाधिक मूल्यमा खेलाडी बिक्री गरेको नै राफेल भाराने हो । म्याड्रिडले भारानेलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा तीन करोड ४० लाख पाउन्डमा बिक्री गरेको हो । बार्सिलोनाकै जस्तै चरम आर्थिक संकटमा रहेको म्याड्रिडले एम्बाप्पेलाई चर्को मूल्यमा अनुबन्धित गर्न धेरै चुनौतीका सामना गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
सन् १९८० पछि म्याड्रिडले पहिलोपटक खेलाडी किनबेचमा रकम खर्चेर अनुबन्धित गरेको छैन । यो सिजनको समर ट्रान्सफर विन्डो ३१ अगस्टको मध्यरातिमा सकिँदै छ । म्याड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोट्टी एम्बाप्पे स्पेनिस क्लबमा आबद्ध हुनेमा आशावादी रहेको बताउँछन् ।
पिएसजीमा एम्बाप्पे असुरक्षित
पिएसजीले अर्को वर्ष युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो ल्याउने योजना सार्वजनिक गरेपछि एम्बाप्पेले आफूलाई फ्रेन्च क्लबमा असुरक्षित महसुस गरेका छन् । पिएसजी विश्व फुटबलकै शक्तिशाली स्ट्राइकर टोली बनाउने अभियानमा छ । ब्राजिलका नेमार, मेसी तथा रोनाल्डोलाई एकै क्लबबाट खेलाउने पिएसजीको ड्रिम प्रोजेक्ट हो । पिएसजी र रोनाल्डोका एजेन्टबीच पनि यस सम्बन्धमा कुराकानी भइसकेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि रोनाल्डो भित्र्याउन इच्छुक छ ।