ओली भन्छन्- अध्यादेशबाट उहाँहरू नै थर्कमान हुनुहुन्छ आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले नियतवश दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यस्तो आरोप लगाएका हुन्। 

उनले आफू प्रधानमन्त्री भएको समयमा ल्याइएको अध्यादेश र अहिलेको अध्यादेशको मनसाय फरक भएको जिकिरसमेत गरेका छन्। उनले भने, ‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो। अहिलेजस्तो १२ बजे राति चलिरहेको संसद् अचानक अन्त्य गरेर भोलिपल्टै ल्याइएको थिएन। प्रक्रियाअनुरूप ल्याइएको थियो।’

उनले आफ्नो समयमा आएको अध्यादेश संविधानको व्यवस्थाअनुसार व्यावहारिक अर्थमा कार्यान्वयन हुन सक्ने गरी आएको बताएका छन्। पछिल्लो अध्यादेश एमाले विभाजनकै लागि ल्याइएको र माधव नेपालको सहजतालाई हेरेर ल्याइएकोसमेत ओलीले बताए। 

‘अध्यादेशमा माधव नेपालजीसँग जति सांसद छन् त्यति लेखेको भए पुग्ने भनेर लेखेको भए स्पष्ट हुन्थ्यो। माधव नेपालजीले पार्टी गठन गरेपछि यो स्वत: अन्त्य हुने भन्ने पनि लेखिएको भए हुन्थ्यो। तर, उहाँहरू थर्कमान हुनुहुन्छ आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर,’ ओलीले व्यंग्य गर्दै भने।

सुझावित समाचार