म दिल्लीदेखि करिब एक सय २० किलोमिटर दक्षिणपूर्वमा रहेको सानो सहर अलिगढमा हुर्कें, बढेँ । अलिगढलाई उत्तर प्रदेशको उत्तरपश्चिमी कुनामा शीतवासमा सुतेको जनावरसँग तुलना गर्दा अतिशयोक्ति नहोला । उसो त शीतवासका लागि अलिगढलाई मानिसले विरलै सम्झिन्छन्, किनकि शीतवास भनेको शान्त एवं सुषुप्त हुने प्रक्रिया हो । म इसाई धार्मिक (कन्भेन्ट) विद्यालय ‘आवर लेडी फातिमा स्कुल’मा पढेको हुँ तत्पश्चात् अलिगढ मुस्लिम विश्वविद्यालयको जवाहरलाल नेहरू मेमोरियल कलेजबाट स्नातक पूरा गरेँ । संक्षेपमा भन्ने हो भने, म हुर्केको अलिगढ विभिन्न नाम एवं धार्मिक पहिचानबाट चिनिएको सहर थियो । यो सहर ‘नयाँ’ भारतमा खस्किँदै गइरहेको छ ।
अलिगढमा किशोरावस्था पूरा गर्दैगर्दा भारत नेहरूको समाजवादको चिहान र ९० को नवउदारवादी सुधारबाट उदाइरहेको थियो । नवउदारवादको हावाले हाम्रो सहरमा धेरथोर परिवर्तन ल्याइदिएको थियो । पसलमा चमकधमक देखिन्थ्यो । विदेशबाट फर्केका ‘अंकल–आन्टी’ले ल्याउने चकलेट सहजै बजारवरपर पाइन्थ्यो । टेलिभिजन बदलिए, एमटिभीले २४सै घन्टा सात दिन नै गीत बजाउन थाल्यो । तिनै गीत सुन्न सातामा एक दिन आउने राष्ट्रिय टेलिभिजनको ‘चित्रहार’ कार्यक्रम गरिन्थ्यो । हामी अमेरिकी धाराबाहिक, गीतमा लट्ठिन थालिसकेका थियौँ । अमेरिका टाढा रहेन, मेरा थुप्रै साथी अमेरिकाको मेडिकल लाइसेन्सको तयारी गर्न थालेका थिए ।
अलिगढमा देखिएको चकाचौधसँगै सहर भित्रभित्रै खोक्रो हुँदै गइरहेको थियो । ताल्चा र पित्तलका लागि प्रसिद्ध मानिने नवउदारवादी कालपछि यो सहरले दुवै उत्पादनमा भारी नोक्सान व्यहोर्यो । ‘तालानगरी’ भनेर चिनिने यस सहरमा पाँच हजारभन्दा बढी संगठित एवं असंगठित ताला उद्योग बन्द भए । यस क्रममा दुई लाखभन्दा बढीले रोजगारी गुमाए । गरिबी संस्थागत भयो र यो शीतवासमा निदाइरहेको सहरबाट क्रमशः आप्रवासनको थालनी हुन थाल्यो । नवउदारवादी आर्थिक सुधार र गरिबी सत्ता राजनीतिको सोपान बन्न पुग्यो । धार्मिक पहिचानले जातिगत पहिचानको अन्त्य गर्यो । केही घन्टामै बाबरी मस्जिद धुलोपिठो भयो । धार्मिक दंगा एवं हिंसा दिनानुदिन बढ्दै गयो । मेरै सहपाठी एकाएक हिन्दू मुसलमान हुन थाले । सन् २००२ को गुजरात नरसंहारले हिन्दुत्व वर्चस्व बेहिसाब रूपमा बढ्यो ।
दक्षिणपन्थी भाजपा, केही धनाढ्य एवं ठूलो संख्यामा वञ्चित वर्गको उदयले अलिगढलाई पूरा परिवर्तन गरिदियो । यही पृष्ठभूमिमा सहरको नाम हरिगढ राखिने हल्ला सुनियो । एक दिन घर फर्किँदा कृष्ण कन्भेन्ट स्कुल नाम गरेको अनौठो स्कुलको दृश्य देखियो । यो दृश्य पुँजीवाद र पहिचानको राजनीतिले समाजमा ल्याउने परिवर्तनको ज्वलन्त उदाहरण हो । स्कुलको कृष्णले तपाईंको भावनामाथि नियन्त्रण गर्छ भने कन्भेन्टले अवसरका बाटा खुला गर्छ । शक्तिको यो चरम भोगले शीतवासबाट जाग्न लागेको सहररूपी पशुले अब निर्दोषका रगतको प्यासी हुन थाल्यो । तसर्थ, जिल्ला पञ्चायतले अलिगढको नाम परिवर्तन गरेर हरिगढ राख्ने प्रस्ताव गर्नु कुनै अस्वाभाविक घटना थिएन । ठाउँको नाम फेर्नुको सोझो अर्थ शक्तिको सबैभन्दा सजिलो प्रदर्शन हो ।
उत्तर प्रदेश आफ्ना मतदातालाई झुक्याउन र ठग्न अलीलाई हरि बनाइरहेको छ । यसले अलिगढमा कुनै सकारात्मक परिवर्तन भने आउनेछैन ।
सोभियत पतनपछि ‘चेकेस्लोभाक’ गणतन्त्रमा स्लोभाकहरूले आफ्नो पहिचान दाबी गर्दा चेक–स्लोभाकिया बनेको थियो (यो मुलुक अन्ततः १९९३ मा विघटन भयो) मुलुकको नाममा समास चिह्न राख्न पनि ठूलै संघर्ष भएको थियो जसलाई हाइफन वार पनि भनिन्छ । यदि एउटा समास चिह्नले एक समूहको पहिचानका लागि यति धेरै महत्व राख्छ भने ‘नयाँ’ भारतमा अलीलाई हरिले विस्थापन गर्नु अनौठो घटना होइन । भारतमा उत्पन्न हुने समास चिह्न रक्तरञ्जित हुनेछ ।
उसो त उत्तर प्रदेशमा अलिगढलाई हरिगढ मात्रै बनाइएको होइन अलाहबादलाई प्रयागराज, मुगलसरायलाई पण्डित दीनदयाल उपाध्याय नगर र फैजाबादलाई अयोध्या बनाइएको थियो । यी परिवर्तित नामका बाबजुद कोभिड–१९ को दोस्रो लहरमा यस राज्यले असंख्य मृत्युको सामना गर्यो । यसले एक स्वाभाविक नतिजा बाहिर ल्याइदियो अर्थात् नाम परिवर्तनले केही पनि परिवर्तन ल्याउँदैन । खराब रूपमा प्रशासित उत्तर प्रदेश आफ्ना मतदातालाई झुक्याउन र ठग्न अलीलाई हरि बनाइरहेको छ ।
अलीलाई हरि बनाए पनि अलिगढमा हुने शिशु मृत्युदरमा कुनै परिवर्तन आउनेछैन । मेरा धेरै राष्ट्रवादी मित्रलाई थाहा नहोला, हेर्दा मात्रै मनमोहक देखिने, तर सुगन्ध नभएको पलाँसको फूल उत्तर प्रदेशको राज्य फूल हो । अहिलेका उत्तर प्रदेशका राजनीतिक खेलाडी र राज्यले पलाँसको फूललाई ज्यादै महत्व दिएको प्रतीत हुन्छ । तथापि, नाम परिवर्तन पलाँसप्रतिको अतिरागयुक्त मूर्खता होइन, यो घृणित मनोदशाको चित्रण हो ।
द वायरबाट (खान एम्सका अर्थोपेडिकका प्राध्यापक हुन्)