नेकपा एमालेले पार्टीको ह्विप उल्लंघन गरेका माधव नेपालसहितका १४ सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ । अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन्।
नेकपा एमालेका निर्वाचन विभाग प्रमुख रहेका खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी रहेको बताए। नेकपा एमाले फुटाउनकै लागि अध्यादेश ल्याएको भन्दै खरेलले मूल दल (एमाले)को रोहवरमा काम गर्न सुझाब दिएका छन्।
‘सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ। नेकपा एमाले दल फुटाउने उद्देश्यले निवेदन आउँछ भने जुन मूल दल हो त्यसलाई फुटाउनका लागि आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन् ? ती संसदीय दलका सदस्य हुन् कि होइनन् ? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन् ? भन्ने कुराका लागि त्यो दललाई रोहवरमा त राख्नुपर्याे नि। यो कुरा हामीले उहाँहरूलाई रिक्वेस्ट गरेका छौँ,’ खरेलले भने।