पूर्वराजदूतहरू भन्छन्– अफगानिस्तान मामलामा नेपालको भूमिका महत्वपूर्ण छ

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका विषयमा विभिन्न देशका लागि नेपालका पूर्वराजदूतहरूले आफ्नो धारणा राखेका छन्। आज मंगलबार एक वक्तव्य जारी गर्दै पूर्वराजदूतहरूले सार्कको अध्यक्ष राष्ट्रका रूपमा नेपालले यस क्षेत्रको स्थिरताका लागि भूमिका खेल्नुपर्ने जनाएका छन्।

रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्वराजदूतहरू दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्वराजदूत सुरेश चालिसे र चीनका लागि पूर्वराजदूत महेश मास्केले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।

अफगानिस्तानमा तालिवानको अग्रसरताले दक्षिण एसियाको सामाजिक–आर्थिक, आप्रवासन  र सुरक्षा मामलामा  दूरगामी असर गर्ने उल्लेख गरिएको छ। तालिवानले आममाफीको घोषणा, महिला अधिकारको प्रत्याभूति र अन्य समूहसँग वार्ता गरिरहेको बताए पनि उनीहरूको विगतको व्यवहार र देश छाड्न चाहने अफगानीको अवस्था हेर्दा उनीहरूलाई विश्वास गरिहाल्ने अवस्था नरहेको पूर्वराजदूतहरूको ठम्याइ छ।

‘यो गम्भीर  मोडमा  सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताका लागि  महत्वपूर्ण भूमिका खेल्न  सक्छ। हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनीतिक  घटनाक्रमले उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न  तुरुन्तै  सरोकारवाला देशहरूसँग वार्ताका लागि आवश्यक पहल गर्नका लागि आग्रह गर्दछौँ,’ वक्तव्यमा उल्लेख गरिएको छ।

सुझावित समाचार