केपी ओलीसँग तपाईंहरूले के सहमति गर्नुभएको हो ?
१०बुँदे सहमति अक्षरशः कार्यान्वयन गरेर जाने सवालमा उहाँहरू पूर्ण रूपमा सहमत हुनुभएको छ । तपाईं–हामी सबै मिलेर पार्टी बचाऔँ भन्ने राम्रो समझदारी बनेको छ । हामीले भन्दै आएको एकताको आधार भनेकै १०बुँदे सहमति थियो, त्यसैले फुटेर जानुको अब कुनै अर्थ छैन । १०बुँदे कार्यान्वयनका लागि मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटीको संयुक्त बैठक बस्नेछ । दुई–तीन दिनमा केन्द्रीय कमिटी बैठक राखेर स्थायी कमिटीले पास गर्ने प्रस्ताव कार्यान्वयन गर्दै अगाडि बढ्ने सहमति बनेको छ ।
२ जेठ ०७५ अघि फर्किने भन्नुको मतलब व्यक्तिको जिम्मेवारी फर्किने हो कि केन्द्रभन्दा तलका सबै कमिटीका संरचना र जिम्मेवारी ब्युँताउने समझदारी हो ?
सबै कमिटीका संरचना र जिम्मेवारी ब्युँताउने भन्ने नै सहमति हो, जुन १०बुँदे सहमतिमा पनि प्रस्टसँगै लेखिएको छ । अहिले विभाजनका वेला को कता लाग्यो भन्ने ठ्याक्कै यकिन भइसकेको अवस्था त होइन । त्यसैले कमिटीको संरचना त फर्काउने नै हो, तर उता (माधव नेपालतिर) लाग्नेबाहेकमा सबै तहका संरचनामा पुरानै संरचनाअनुसारको जिम्मेवारी दिने भन्ने सहमति भएको छ । जुन तहका नेता–कार्यकर्ता अर्कातिर लाग्छन्, त्यो खाली भएको स्थानमा चाहिँ के गर्ने भन्नेबारे सिफारिसका लागि एउटा बेग्लै कार्यदल बन्नेछ ।
१०बुँदे कार्यान्वयनको प्रस्ताव कसरी बन्दै छ ?
सहमति कार्यान्वयनका लागि प्रस्ट प्रस्ताव ल्याउने जिम्मेवारी भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई दिइएको छ । उहाँहरूले स्थायी कमिटीबाट के–के पास गर्ने हो ती सबै गृहकार्य गरेर बैठकमा ल्याउनुहुनेछ । स्थायी कमिटीबाट पास भएपछि केन्द्रीय कमिटीबाट पास हुन्छ र तत्काल लागू हुन्छ ।
माधव नेपालसहित १४ जना सांसदमाथि भएको कारबाही फिर्ता गर्नुपर्ने तपाईंहरूको सर्त थियो, के एमालेमा रहनकै लागि तपाईंहरू त्यसबाट ब्याक हुनुभएको हो?
– हामी ब्याक भएका छैनौँ । जो–जो साथी पार्टी एकतामा आउनुहुन्छ, उहाँहरू सबैको कारबाही फिर्ता हुने सहमति भइसकेको छ ।
भनेपछि माधव नेपाललाई चाहिँ एकताको ढोका बन्द गरिसकेको हो ?
त्यस्तो होइन, स्थायी कमिटी बैठकबाट सबैलाई पार्टी एकतामा आउन आह्वानसहित प्रस्ताव नै पास गरिनेछ । तर, गतिविधि हेर्दा माधव कमरेड आउने सम्भावना कम छ । यद्यपि, कतिपय साथी सनाखतमा नजाने पनि स्थिति होला । सनाखतमा नजाने जति सबै साथीको स्वतः कारबाही फिर्ता हुनेछ । अध्यक्षले पनि माधव नेपाल फर्किनुहुन्छ भने कारबाही हुँदैन, उहाँका लागि पनि एकताको ढोका सधैँ खुला रहन्छ भन्नुभएको छ ।
माधव नेपालको सम्मानजनक व्यवस्थापनको पक्षमा पनि तपाईंहरू देखिनुभएन, होइन त ?
उहाँ फर्किने सम्भावना नै छैन । उहाँको मन पनि देखिएन । त्यसकारण नहुने लफडामा किन लागिरहने भन्ने भयो ।
केपी ओलीप्रति विश्वासको संकट छ भन्ने गर्नुहुन्थ्यो, १०बुँदे लागू हुन्छ भन्नेमा चाहिँ तपाईंहरू कसरी विश्वस्त बन्नुभो ?
पार्टी अध्यक्षजस्तो व्यक्तिले स्पष्ट खाकासहित स्थायी कमिटी, केन्द्रीय कमिटीबाट पास गरेर अगाडि बढ्ने हो, लागू हुन्छ भनिसकेपछि हामीले अहिले विश्वास गरेर अगाडि बढौँ भन्ने निष्कर्ष निकालेका छौँ । एउटै पार्टीभित्र सधैँ अविश्वास गरेर पनि त हुँदैन । लागू भएन भने त भोलि पनि पार्टीभित्रै छलफल गर्ने ठाउँ त छँदै छ ।