अफगानिस्तानमा तालिवान आएसँगै भारतमा प्रतिबन्धित आतंककारी संगठन लस्कर–ए–तोइबा (एलइटी), जैस–ए–मोहम्मद (जेइएम) भारतमा घुसपैठ गर्न सक्ने आकलन सुरक्षा अधिकारीहरूले गरेका छन्। यी संगठनका गतिविधि हाल अमेरिकी सेनाविरुद्ध अफगानिस्तानमा केन्द्रित छन्। अब उनीहरूको घुसपैठ बढ्ने र भारतलाई अशान्त पार्न सक्ने खतराको आकलन भइरहेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ।
‘जम्मु–कस्मिरमा आतंकवादी हमलाका लागि सहयोग गर्नु र भूमिका निर्वाह गर्नु यी संगठनको प्राथमिक लक्ष्य रहँदै आएको छ,’ द हिन्दुले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘उनीहरूले वर्षौँदेखि तालिवानलाई सक्रिय समर्थन गर्दै आएका छन्। तालिवानको सञ्चालन, उसका कमान्डरहरूलाई प्रशिक्षणलगायतमा एलइटी र जेइएमले सहयोग गरेका छन्, अब त्यो सहयोग फर्किन सक्छ। अफगानिस्तानमा परिस्थिति शान्त हुनासाथ अफगानिस्तानको जेलमा रहेका आतंकवादी समूहका मानिस छुट्छन् र उनीहरू जम्मु–कस्मिरमा घुसपैठ गर्न सक्छन्।’ पछिल्लोपटक तालिवानले जेलबाट छुटाएकाहरूमध्ये जेइएम र एलइटीका कमान्डरहरूसमेत रहेका छन्।
भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार जम्मु–रजौरी सेक्टरमा आतंकवादी घुसपुैठको प्रयास पहिलाभन्दा बढेको छ। शनिबार दक्षिण कस्मिरमा सुरक्षा बलको कारबाहीमा जेइएमका तीनजना सन्दिग्ध कार्यकर्ता मारिएका थिए। ‘सुरक्षा अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ कि अब भारतलाई सुरक्षा खतरा बढ्दै जाने छ,’ द हिन्दुले लेखेको छ, ‘जेइएम र एलइटीमा कैयौँ पाकिस्तानका मानिसको पनि घुसपैठ भएको छ, कतिपय ठाउँमा पाकिस्तानी मारिएका पनि छन्।’
आजभन्दा २२ वर्षअघि डिसेम्बर २४, १९९९ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंबाट अपहरण गरेर कान्दाहार पु¥याइएको थियो, त्यहाँ सवार एक सय ७६ यात्रुलाई छुटाउन भारतले जेलमा रहेका जैस ए मोहम्मदका नेता मसुद अजहरलाई छाडिदिएको थियो। त्यसवेला अफगानिस्तानमा तालिवानको शासन थियो। तालिवानको सहयोगमा उक्त विमान अपहरण भएको थियो भने आतंकवादी समूहका नेताहरू रिहा भएपछि उतै सेल्टर पाएका थिए। अजहरले जेइएम स्थापना गर्नुभन्दा अघि पाकिस्तानस्थित हरकल उल अन्सारको महासचिवका रूपमा काम गरेका थिए, जसको सम्बन्ध अल कायदासँग थियो।
सन् १९८७ मा अफगानिस्तानको कुतार प्रान्तमा हाफिज सइद र अन्य पनि थिए। वर्तमानमा एलएटीका कार्यकर्ता अफगानिस्तानको कुनार, नंगरहार र नुरिस्तानमा सक्रिय छन्। जेइएमका कार्यकर्ता गजनी, कान्दाहार, हेलमन्ड प्रान्तमा सक्रिय रहेको भारतीय सुरक्षा अधिकारीहरूको दाबी छ। दुवै समूहको अफगानिस्तानको हक्कानी नेटवर्कसँग सम्बन्ध छ। हक्कानी नेटवर्कमार्फत उनीहरूले तालिवान पदाधिकारीहरूसँग सम्बन्ध कायम गरेका छन्। हक्कानी नेटवर्क संयुक्त राष्ट्रसंघको प्रतिबन्धित सूचीमा छ।
तालिवानले नियन्त्रणमा लिएपछि सिराजुद्दिनका भाइ अनस तथा खलिलले काबुल सुरक्षाको जिम्मेवारी लिएका छन्। यो घटनाका आधारमा भारतीय सुरक्षा निकायले आकलन गरेका छन् कि एलइटी र जेइएमलाई तालिवानको समर्थन अहिले प्राप्त भइरहेको छ। गत जुनमा सार्वजनिक भएको अर्को रिपोर्टअनुसार तालिवान र अल कायदाबीच पनि राम्रो सम्बन्ध छ। अल कायदाका पहिला प्रमुख भारत उत्तर प्रदेशको सम्भलस्थित दीपा सरायका असिम उमर अर्थात् शान उल हक थिए। उनी कान्दाहार, निमरुज, हेलमन्डलगायत अफगानिस्तानका क्षेत्रमा काम गर्थे। जेइएम र एलइटीमा अफगानिस्तान र पाकिस्तानी, म्यानमार, बंगलादेश र भारतका नागरिक पनि सामेल भएको सुरक्षा अधिकारीहरूको भनाइ छ।