सुदूरपश्चिमको यो पीडा

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री हुँदा केपी ओलीले तीन वर्षअघि विस्थापित गर्ने घोषणा गरेका तुइनकै कारण अझै नदीमा बेपत्ता हुन बाध्य छन् सुदूरपश्चिमेली निर्दोष जनता


केही वर्षअघिसम्म बैतडीबाट महेन्द्रनगर जान नेपालको भन्दा पनि भारतको बाटो छोटो र सजिलो थियो । झुलाघाट नाका पार गरेर पिथौरागढ, चम्पावत, वनवासा हुँदै गाडीमा नौ–दश घन्टामा महेन्द्रनगर पुगिन्थ्यो । डडेलधुरा, भाँसीको भिर हुँदै महेन्द्रनगर पुग्ने कच्ची सडक साह्रै डरलाग्दो थियो । वेलावेलामा सवारी दुर्घटना भइरहन्थे । अचेल पनि त्यस बाटोमा डरलाग्दा दुर्घटना भइरहन्छन् ।

सानो झोलामा घिउ र भटमास कोसेली बोकेर आफन्तलाई भेट्न जाने वेला झुलाघाटको पुल पार गर्दा भारतर्फका प्रहरीले लठ्ठी तेस्र्याएर ‘ए रुक’ भन्दा मुटु नै हल्लिन्थ्यो । सबैलाई आफ्नो देशको माया किन यति धेरै लाग्दो रहेछ भन्ने नेपालबाट भारत पस्नासाथ थाहा हुन्थ्यो । पुलले छुट्याएको आफ्नो देशको सिमानाभित्र हुँदा जति स्वतन्त्र भई हिँडिन्थ्यो, पुल पार गरेपछि त्यो स्वतन्त्रता एकाएक हराउँथ्यो । स्वर सानो हुने, मनमा एकखाले डर लाग्ने गथ्र्यो । एउटा त उनीहरूले हिन्दी बोलेको राम्रोसँग नबुझिने, त्यसमै लठ्ठीले झोला तानेर खोतल्दा साह्रै डर लाग्थ्यो ।

गत वर्षको लकडाउनमा नेपाल प्रवेश गर्ने नाका नखुल्दा सुदूरपश्चिमका कैयौँ युवा भारतमा भोकले मर्नुभन्दा बरु आफ्नै माटोमा मर्ने भन्दै महाकालीमा पौडेर नेपाल पसे उर्लंदो नदी पौडेर पार गर्नु सामान्य थिएन ।

यो वर्ष पनि महाकाली तर्दातर्दै भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि दार्चुला व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भए । कहिले पौडेर त कहिले ट्युबको सहायताले महाकाली पार गर्नुपर्ने बाध्यता अझै छ । सीमा पार गर्दा कुनै पनि भारतीयलाई नेपाली पक्षले सताएको भने देखिन्न ।

तीन वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशभरिका तुइन विस्थापित गरेर पुल निर्माण गर्ने घोषणा गरे । देशका कतिपय स्थानका तुइन विस्थापित पनि भए । तर, तुइनकै कारण अझै पनि महाकालीमा बेपत्ता हुन बाध्य छन् सुदूर पश्चिमेली जनता । सरकारमा रहँदाका तीन वर्ष कुर्सीका लागि मरिमेट्नुभन्दा तुइन विस्थापित गर्न लागिपरेको भए सायद जयसिंह आज परिवारसँगै हुन्थे होला ।

परिवारको लालनपालनकै लागि सुदूरपश्चिमका कैयौँ युवा भारतलगायत अन्य देशमा पलायन हुन बाध्य छन् । जलवायु परिवर्तनका कारण कतिपय खोलानाला सुक्नु, मिहिनेतअनुसार उब्जनी नहुनु, कृषिमा आधुनिकीकरण हुन नसक्नु, किरा फट्याङ्ग्रा, चराचुरुंगी तथा जंगली जनावरले खेतमा लगाएको अन्नपात नष्ट गरिदिनु जस्ता कारणले गर्दा गाउँमै काम गरी खाने युवासमेत अचेल विदेश पलायन हुन बाध्य छन् । जंगली जनावरका कारण एक्लै खेतमा गएर काम गर्न सक्ने वातावरण छैन । अवैज्ञानिक रूपमा जथाभावी खनिँदै गएका सडकका कारण कृषियोग्य जमिन घट्दो छ । जसका कारण युवामा विदेशमोह बढ्दै छ ।

सरकारले घोषणा गरेका पर्यटकीय क्षेत्रमा सुदूरपश्चिमको रमणीय त्रिपुरासुन्दरी मन्दिर पनि पर्छ । त्यो मन्दिरभन्दा पन्ध्र मिनेटको दूरीको मेरो गाउँमा घरभित्रै बाँदर पस्छन् । घरबाहिर आँगनमा अनाज सुकाउन पाइन्न । जंगली जनावरबाट जोगाएर भित्र्याएको अन्नपात घाममा सुकाउन नपाउँदा त्यसै कुहिन्छ । घाममा सुकाएको खण्डमा दिनभरि एकजनाले बाँदर रुँघ्नुपर्छ । फलफुल कोपिलामै चुँडेर बाँदरले खाइसक्छन् । मकै, भटमास छरेपछि एकछिनमै आएर माटो खोतलेर खान्छन् । घरमा खेलिरहेका बाख्राका साना पाठालाई स्यालले टिपेर लग्छ । साना बालबालिकाका लागि छोपेर राखेको रोटी बाँदरले लगिदिन्छ । यो सिंगो सुदूरपश्चिमकै कथा हो भन्दा फरक पर्दैन । गाउँलेहरूले पालो बाँधेर रातभरि खेतमै जाग्राम बसेर आगो बाल्दै, ढ्यांग्रो ठटाउँदै जंगली जनावर धपाउनुपर्छ ।

गाउँका कैयौँ दाजुभाइ भारतको दिल्ली, मुम्बई, आदि सहरबाट गतवर्षको लकडाउनमा घर फर्किए । त्यसपछि तीनचोटि उनीहरू भारत गएर फर्किसके । लकडाउन खुलेपछि भारततिर दौडिन्छन् । लकडाउन सुरु हुँदा वा काम नपाउँदा फर्किन्छन् । उनीहरूसँग न त खेतीपाती गर्न प्रशस्त जमिन नै छ, न त भएको जमिनमा उब्जिनी नै हुन्छ । विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा छुट्याइएको साढे ११ अर्बले सुदूरपश्चिमका युवालाई छुन सकेन । त्यसले उनीहरूका लागि रोजगारीका कुनै कार्यक्रम ल्याएन ।

सरकारले प्रत्येक वर्ष कृषि क्षेत्रका लागि बजेट छुट्याएको सुनिन्छ । तर, त्यसको सही ठाउँमा उपयोग भएको देखिन्न । किसान जहिल्यै मर्कामा परेका छन् । गाउँघरतिर पाटीपौवा हराउँदै गएका छन् । पानीका मूल सुक्दै छन् । उखु लगाएर घरघरमै गँुड बनाउने, ठेकीमा मही पार्ने, पर्ममा रोपाइँ गर्ने चलन हराइसकेका छन् । तर, महँगा पक्की मन्दिर थपिँदै गएका छन् । भट्टी पसल खुलिरहेका छन् । सहरमा जस्तो गाउँघरमा पनि चोरी, बलात्कारका घटना बढ्दै गएका छन् । सुदूरपश्चिमका अर्थमन्त्रीले यसपालि आफ्ना कुलदेवता खुसी पार्न मन्दिर बनाउन एक करोडभन्दा बढी बजेट छुट्याएका छन् । भगवान्मा विश्वास गर्नेहरूका लागि मन्दिर पनि बन्नुपर्छ । तर, स्वास्थ्य चौकी बनाउन छाडेर मन्दिर निर्माण गर्दा स्थानीय जनताले स्वास्थ्य कहाँबाट कसरी पाउने ?
(भट्ट शिक्षिका हुन्)

सुझावित समाचार