रवीन्द्र प्रवृत्ति : आजको जोखिम

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

यो रवीन्द्र मिश्रको विचारको मात्रै आलोचना होइन, दलहरूमा विद्यमान रवीन्द्र प्रवृत्तिको विरोध पनि हो

एक वर्षपहिले सडकमा जातीय समानताबारे बोल्दै गगन थापाले यस्तो कुरा राखे, जसबारे धेरै नेता वा बौद्धिकले कि महसुस नै गरेका छैनन्, कि त उनीहरू सार्वजनिक रूपमा व्यक्त गर्ने हिम्मत नै गर्दैनन् । थापाले भनेका थिए– म आज जुन ठाउँमा छु, त्यो आफ्नै योग्यता र क्षमताको मात्रै प्रतिफल होइन । निश्चित संरचनाले मलाई यहाँ पुर्‍याएको हो । त्यस्तै, ‘जातको प्रश्न’ कार्यक्रममा अभिनेता राजेश हमालसँगको संवादमा डा. सञ्जीव उप्रेतीले सम्झाए– आफूले ‘स्ट्रक्चरल डिभिडेन्ट’ (संरचनागत लाभांश) प्राप्त गरेको कुरा सबै उच्च भनिएका जातका मानिसले बुझ्नुपर्छ ।

देशमा नयाँ ढंगको राजनीतिक परम्परा सुरु गर्छु भनेर लन्डनको सम्मानित जागिर र जीवन परित्याग गरी नेपाल फर्किएका रवीन्द्र मिश्रको बौद्धिकता, वाक्कला, इतिहास र समाजको अध्ययन अनि समग्र ‘करिस्मा’ले गर्दा उनी छोटो समयमा आफूलाई एक राजनेताका रूपमा स्थापित गर्न सफल भएका छन् । समानुपातिककै ढोकाबाट भए पनि ६ जनालाई संसद्मा छिराएका छन् । उनको बोली र लेखको चर्चा भइरहन्छ । मिडियामा त्यत्तिकै छाएका छन् । यो यति छोटो समयमा एउटा विशुद्ध पत्रकारको चानचुने उपलब्धि होइन । तर, सायद उनलाई ख्यालै छैन कि यो सब केवल उनको योग्यता, क्षमताको उपज होइन । विचार र भजनको आकर्षण मात्र पनि होइन । ‘हार्ड हिटिङ’ अन्तरवार्ता लिने मिश्र एकाएक आशलाग्दा नेता बन्नुमा संरचनाको पनि ठूलो हात छ ।

कोही रवीन्द्र नेपाली, रवीन्द्र विक, रवीन्द्र सदा, रवीन्द्र तामाङ या रवीन्द्र मगरले बिबिसी त के नासाको प्रमुख वैज्ञानिक पद छाडेर आए पनि र रवीन्द्र मिश्रभन्दा धेरै योग्य र क्षमतावान् भए पनि यस्तो चमत्कार सम्भव हुँदैन । उनले झैँ मिडियामा स्थान पाउँदै पाउँदैनन् । लन्डनको सुखसयल छाडेर आएको त्यागी भन्ने ‘हंगामा’ पनि हुँदैनथ्यो ।

यो आफ्नै अनुभवबाट पनि आकलन गर्न सक्छु म । म नासाको वैज्ञानिक त थिइनँ । तर, लन्डनस्थित किंग्सटन युनिभर्सिटीको रिसर्चर समाजवैज्ञानिक थिएँ । अक्सफोर्ड विश्वविद्यालयबाट एमफिल गरेको मानवशास्त्री हुँ । संसारकै ठूला प्राज्ञिक प्रकाशन गृहबाट छापिएका पुस्तक र अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित छन् । दलित मुक्ति अभियान सञ्चालन गर्ने लक्ष्य लिएर स्वदेश फर्किएको छु । खै त, यो समाज र यो देशले म फर्केर आएकोमा खुसी व्यक्त गरेको? टिभीका गन्यमान्य ‘फिगर’लाई लौन मेरो विचार राख्न देऊ भन्दा टेरपुच्छर लाउँदैनन् । यसको मतलब सबैले मेरो जयजयकार गर्नुपर्छ भन्न खोजेको चाहिँ होइन ।

मैले रवीन्द्रजीको आँखी गरेको पनि नठानियोस् । कुनै वेला मैले पनि यी ‘फ्रेस माइन्ड’बाट नेपाली राजनीतिले पक्कै केही नयाँ प्राप्त गर्नेछ भन्ने आशा लिएको थिएँ । लोकतन्त्रले नयाँ चोला फेर्न पाउँछ कि भन्ने आशा पलाएको थियो, धेरै युवाको मनमा जस्तै । आमाकै कसम खानेले घुस त पक्कै खान्नन् भन्ने लाग्थ्यो । सायद आजसम्म भ्रष्टाचार गरेको आरोप कसैले लगाउन सक्दैन उनलाई । धेरै राम्रो हो । तर, दुःखको कुरो, रवीन्द्र नैतिक र वैचारिक रूपमा अत्यन्तै भ्रष्ट रहेछन् । पश्चगामी रहेछन् । कमल थापाको अर्को रूप पो रहेछन् !

रवीन्द्रजी पटक–पटक भन्छन्– ‘भ्रष्टाचारीलाई किरा परोस् !’ यो त कुनै वैज्ञानिक तथ्य होइन, केवल धार्मिक भावना हो । पाप गर्नेहरू किरा परेर मर्छन्, नर्कमा तातो तेलमा फ्राई हुन्छन् भने जस्तै ! यसबाट उनी निकै धार्मिक मान्छे हुन् भन्ने सहजै बुझिन्थ्यो । तर, हामीलाई के थाहा कि उनी त पक्का हिन्दूवादी रहेछन्, मनुवादी रहेछन्, मोदीवादी रहेछन्, र सायद आरएसएसको विचार बोकेर हिँड्छन् ! रवीन्द्रजीको दस्ताबेज पढ्दा यस्तो लाग्यो, सायद उनी नेपाल फर्किएको यहाँका दलित, शिल्पी, जनजाति, मंगोलले बढी नै अधिकार र न्याय पाए भन्ने आक्रोशले पो रहेछ कि ?

राजतन्त्र र हिन्दूराष्ट्र फर्काउन चाहने रवीन्द्रले आफ्नो पश्चगामी विचार नबदलेसम्म उनको पछि लाग्ने जनजाति र दलित आत्मघाती हुन्

म माओवादी होइन, कहिल्यै थिइनँ । युद्धमा उनीहरूको तर्फबाट भएको ज्यादती र अनावश्यक रक्तपातको म सधैँ आलोचक रहेँ । परन्तु, तिनकै जोडबलमा राजतन्त्र समाप्त भयो । विष्णुको अवतार ठानेर तानाशाही ढंगले देश चलाउने राजतन्त्र फ्याँक्नु नेपाली राजनीति र सामाजिक संरचनामा ठूलो सुधार हो । पटक–पटक लोकतन्त्र तथा नागरिक स्वतन्त्रतामाथि धावा बोलिरहने राजसंस्था जानु उत्तम थियो, गयो । आमजनताले यो आमूल परिवर्तन नरुचाएको भए सडकमा विद्रोह हुन्थ्यो होला । राजावादी दलहरूलाई चुनावमा जिताउँथे होला । खोइ त ?

राजतन्त्र र हिन्दूराष्ट्र फर्काउन चाहने रवीन्द्रले आफ्नो पश्चगामी विचार नबदलेसम्म उनको पछि लाग्ने जनजाति र दलित आत्मघाती हुन् । किनकि राष्ट्र एकीकरणका नाममा देशलाई घोषित रूपमा असली हिन्दूस्तान बनाउने शाहवंशीय राजा नै हुन् ।

रवीन्द्रजीलाई हिन्दू शासन किन चाहिएको हो ? नाममा धर्मनिरपेक्ष मुलुक भनिए पनि व्यवहारमा हिन्दू नियम लागू छ यहाँ । ०७२ सालको संविधानभन्दा दुई हजार वर्ष पुरानो मनुस्मृति धेरै प्रभावशाली छ समाजमा । मनुस्मृतिमा जे छ, १९१० को मुलुकी ऐनमा त्यही थियो । र, खासगरी दलितको जीवनमा आज पनि जंगेकै कानुन लागू छ । अहिले पनि उपल्लो जातको घरमा पस्ने, मन्दिर छिर्ने, धारा छुने, अन्तर्जातीय बिहे गर्ने दलितमाथि कुटपिटदेखि हत्यासम्मका घटना भइराखेकै छन् ।

रवीन्द्रजीलाई यसमा विश्वास लाग्दैन भने एउटा प्रयोग गर्ने सल्लाह दिन्छु । रवीन्द्र दमै नाम राखेर राजधानीमा डेरा खोज्नुस् । सदरमुकाममा घर भाडामा लिनुस् । बागलुङ वा अन्य कुनै जिल्लाका ग्रामीण मठमन्दिरमा प्रवेश गर्नुस् । रवीन्द्र सार्की बनेर गोरखाको मेरै गाउँमा एक साता बस्नुस् ! अनि थाहा हुन्छ, हाम्रो धर्मसंस्कार कति फासिवादी रहेछ !

बल्ल बुझ्नु हुनेछ, दमै, कामी, सार्की, गाइने, बादी, चमार, डोम, मुसहर र एक हदसम्म तामाङ, मगर, गुरुङ, कुमाले आदिसमेत धार्मिक विश्वास र परम्पराका कारण कसरी चरम अपमान र घृणाको सिकार बन्दै आएका रहेछन् । अनि बुझ्नुहुनेछ, जनैको शक्ति, जनै नपाउने बहुमत जनताको शूद्रपीडा !

नयाँ संविधान र कानुन लागू गरी दलितको जीवनमा लोकतन्त्र र धर्मनिरपेक्षताको घाम झुल्किने परिस्थिति निर्माण गर्नेतर्फ कत्ति पनि ध्यान नदिएकामा म पनि पार्टीहरूप्रति आक्रोशित छु । राजसंस्थाकै सिको गरेर श्रीपेचहीन राजा बनी देश लुटेकामा नेताहरूप्रति रुष्ट छु । यस अर्थमा रवीन्द्रजी र मेरो विचार मिल्छ । तर, यो सत्य बिर्सिनु भएन कि यस्तो सामन्ती समाज निर्माण गरेको कसले हो ? यो संरचनाको जग हाल्ने पार्टीहरू हुन् कि राजा र राणा ?

रवीन्द्रले जिकिर गरेझै गणतन्त्र र संघीयताले देशको अवनति गरेको मान्ने हो भने काउन्टर प्रश्न तेर्सिन्छन्– विष्णुको अवतारले २५० वर्ष शासन गरेको मुलुक किन स्वर्ग बनेन ? अनि अस्तिसम्म सम्पूर्ण शक्ति सिंहदरबारको हातमा थियो, किन विकासले फड्को मारेन ?

यो आलोचना फगत रवीन्द्र मिश्रको विचारको मात्रै होइन । धेरै दलमा विद्यमान रवीन्द्र प्रवृत्तिको विरोध हो । जो केवल २९ प्रतिशत बाहुनक्षेत्रीको मात्रै हितलाई ध्यानमा राखेर राजनीति गर्छन्, आफ्नै कुल र जातीय धर्मको बचाउका निमित्त लड्छन् । अब उत्पीडितहरू आफैँ यस विषयमा सचेत र सतर्क रहनुपर्छ । प्राप्त अधिकार उपभोग गर्न संघर्ष चर्काउनुपर्छ । पुरातनपन्थी विचारलाई परास्त गर्नुपर्छ ।

सुझावित समाचार