सिराहा र महोत्तरीका तीन बालक भारतीय बालगृहमा उद्धारको पखाईमा छन् । मानव तस्करले जालमा पारेर महोत्तरीको जलेश्वर नगरपालिका– ४ सुगाका १३ वर्षीय सत्यम झालाई मुम्बई लैजाँदै गर्दा भारतको दरभंगा रेल्वे स्टेसनबाट उद्धार गरिएको छ। भारतको सीतामढीका एक मानव तस्करको जालोमा फसेका उनलाई एक महिनाअघि असार २८ मा रेल्वे स्टेसनबाट उद्धार गरी दरभंगामा रहेको बालगृहमा राखिएको छ। अहिले दरभंगाको बालगृहमा झा आफन्तको पर्खाइमा रहेका छन्।
नयाँ पत्रिकाले टेलिफोन सम्पर्क गर्दा उनले रुँदै आफ्नो घर पुर्याइदिन आग्रह गरे। आफूलाई नाम थाहा नभएको भारत सीतामढीका एक व्यक्तिले मुम्बई सहर हेर्न जाने भन्दै ललाइफकाई लगेको उनले बताए।
झासँगै बालगृहमा सिराहाका अन्य दुई बालक पनि उद्धारको पर्खाइमा छन्। सिराहाको लहान नगरपालिका– ५ बलुवाका १० वर्षीय महादेव पासवान र लक्ष्मीपुर पतारी गाउँपालिका– ३ का १३ वर्षीय अमरलाल दास रहेका छन्। पासवान दुई महिनाभन्दा बढी (जेठ ३० देखि) र दास गत साउन २४ देखि बालगृहमा छन् । अहिलेसम्म उनीहरूको परिवारसँग सम्पर्क स्थापित गर्न सकिएको छैन।
दरभंगा बालगृहका सुपरिटेन्डेन्ट दीपककुमार सिंहले तीनै बालकालाई उद्धार गरी सकुशल बालगृहमा राखिएको बताए। महिनौँदेखि उनीहरूलाई बालगृहमा राख्दा अप्ठ्यारो महसुस गरेको भन्दै सिंहले घर फिर्ताको निम्ति पहल गरिदिन आग्रह गरेका छन्। अभिभावकविहीन रेल्वे स्टेसनमा देखेपछि बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले उनीहरूलाई बालगृहमा पठाएको हो।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भारतीय बालगृहमा रहेको बालकहरूलाई नेपाल ल्याउन आफूले पहल गर्ने बताएका छन्। कागजी प्रक्रिया पूरा गरी बालकहरूलाई नेपाल ल्याउन जनशक्ति परिचालन गरिने प्रजिअ कँडेलले बताए । खुला सीमाका कारण मानव तस्करहरूले सजिलै बालबालिकालाई भारत पुर्याउने गरेका छन्।