हामीलाई देशसेवा गर्ने प्रहरी चाहिएको कि दलको भरपर्दो प्रहरी ? आफ्ना मान्छेलाई जोगाउँदै अरूलाई कुन्दाले कुल्चने प्रहरी चाहिएको हो कि जनताको सेवा गर्ने ?
स्थिरता चाहँदाचाहँदै नेपालीको नियतिमा अस्थिरता मात्र आइलागेको छ । सरकार फेरिएर पुरानो हुँदै जान थालेको छ, भला पूर्णता भने अझै पाएको छैन । यहाँ पात्रहरू नयाँ छैनन्, क्यानडाका जस्टिन ट्रुडो, फ्रान्सका इमान्युअल म्याक्रोन, न्युजिल्यान्डकी जसिन्डा अर्डेन फिनल्यान्डकी साना मारिनजस्ता । सबै बारम्बार दोहोरिएका, जानिएका, परीक्षित हुन् । यहाँ यिनले यसै गर्छन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । किनकि, सत्ताको राप र तापमा निकै पटक सेकिइसकेका पात्रहरू हुन् । यद्यपि, केही हुन्छ कि भन्ने झिनो आशा भने पालिराख्नुपर्ने हुँदोरहेछ । राजेश्वर देवकोटाले एउटा किताबमा लेख्नुभएको थियो, ‘बृथा हो भन्ने जान्दाजान्दै त्यसैमा निरन्तर लागिरहनु नै जीवन हो ।’ सत्ताका पात्रहरू फेरिइरहेका छन्, आलोपालो घुमिरहेका छन् । मात्र जनताको मुहार फेरिएको छैन ।
नयाँ गृहमन्त्रीले भटाभट निरीक्षण भ्रमण सुरु गर्नुभएको छ, निर्देशन दिइरहनुभएको छ । पहिलेका गृहमन्त्रीले जस्तै प्रहरीको सुदृढीकरणका लागि सरकार गम्भीर छ भन्नुभएको छ । हामी कीर्तिपुर छिर्दा नवनियुक्त गृहमन्त्रीज्यू विद्यार्थीको ठूलै नेता हुनुहुन्थ्यो, विद्यार्थी युनियनको सभापति हुनुहुन्थ्यो, सायद । कति पछिका हामी देशसेवाको तीस वर्षे कालखण्ड पार गरेर अवकाश भइसक्दा उहाँ भने बल्ल गृहमन्त्रीमा डेब्यु गर्नुभएको छ । अझ युवा नेतामै पर्नुहुन्छ । ७५ कटेका नेता आफू सक्रिय छु भन्दै ५० नपुगेकोे प्रहरीलाई अवधि सकियो भन्ने नियम बनाउने देश हो, यो ।
गृह मन्त्रालयअन्तर्गतका प्रहरी निकायहरूलाई राजनीतिको चरम हस्तक्षेपकोे भुमरीमा पारिँदै आएको छ । यहाँ विवेचना यसकै सेरोफेरोमा गर्न खोजिएको छ । नागरिकको दायित्वले केही झकझक्याउनु, यही मेसोमा सुझाब दिए जस्तो गर्नु पनि छ ।
सिपाही अहिलेको युगको सडकमा उभिने सिपाही मात्र हैन, चेतनाको स्तर उठेको नागरिक पनि हो । एक हजार छान्दा करिब नौ सय एसएलसी÷एसइई, केही स्नातक उत्तीर्ण पनि आउँछन् । तल्लो दर्जामै पनि स्नातकोत्तरसम्म गर्नेहरू थुप्रै भइसकेका छन् । तर, राजनीति यस्तो पेसा हो, जहाँ योग्यता भने गौण हुन्छ । कुर्सीमा बस्नासाथ घरको, वनको, धनको, खानीको, पानीको, हुँदाहुँदा विज्ञानको, जे भेट्यो त्यसैको धुरन्धर ज्ञाता भइहालिन्छ, अनि किन चाहियो योग्यता ? बैदाम या ठमेलमा खटिने प्रहरी जवानले अंग्रेजी बोलेर पर्यटकलाई आश्वस्त तुल्याउनुपर्ने तर राजदूतै बन्न ‘राम्रो रचना मीठो नेपाली’ बुझे मात्र पनि हुने, बनाउने प्रयास हुन्छ, यहाँ ।
भारतका प्रसिद्ध सेनापति तथा फिल्ड मार्सल शाम मानेक्साले अवकाशलगत्तै एक कार्यक्रममा भनेका थिए, ‘म अचम्म मान्छु कि देशको रक्षा जिम्मेवारी सम्हाल्ने राजनीतिज्ञले गन र हाउइत्जर, गोरिल्ला र गुरिल्ला, मोटर र मोर्टार बारेमा बुझ्दैनन्, यसको भिन्नता छुट्याउन सक्दैनन् ।’
सुरक्षा निकाय खासगरी देशको कुनाकन्दरामा पुगेर राज्य अर्थात् सरकारको उपस्थितिको अनुभूति गराउने, परिआएको अवस्थामा जतिसुकै हन्डर खाएर पनि देश र जनताको सेवार्थ जुटिरहने दुई प्रहरीमा सरुवा, बढुवा, म्याद थप, दरबन्दी थप कहिल्यै विवादरहित बन्न सकेन । सत्ताधारी राजनीतिक दल या अरू शक्तिशाली नेताहरूको आड, दया र निगाहामा वृत्तिविकास हुने प्रथाकोे अन्त्य खोजिरहेको छ, मुलुकले, निकायहरूले, अझ निकायमा सेवारत राष्ट्रसेवकहरूले । आफ्नो क्षमताभन्दा पनि पहुँचको आधारमा मूल्यांकन हुने प्रथा अहिलेको उदार, पारदर्शी, कानुनी शासनको जमानामा सुहाउँदो हुँदैहोइन ।
राजनीति सधैँ बदलिइरहन्छ । सत्तामा कुनै वेला कसैको पालो आउँछ, कुनै वेला कसैको । करिब ७७ वर्षमा ७७ जिल्लाका जम्माजम्मी २० जना नेता प्रधानमन्त्री बनेको देशमा सबै नेता उच्च पदमा पुग्दैनन्, सबै मन्त्री, प्रधानमन्त्री पनि हुँदैनन् । सुरक्षा निकायका राष्ट्रसेवक, जो देशसेवामा लागिरहेका छन्, तिनीहरू सबै जो–जहाँको भए पनि समान हुन् भन्ने सोचका साथ हेरिदिएर त्यहीँ भित्रबाट न्यायोचित मूल्यांकन गरिदिने परिपाटीको विकास गर्दै पेसागत कर्म या धर्म निर्वाह गर्न निश्चिन्त भएर कर्तव्यपथमा लाग्ने वातावरण सिर्जन गरिदिन हामी किन चुकिरहन्छौँ ? आफ्नो दक्षता, क्षमताले दार्चुलाको होस् कि ताप्लेजुङको, सिरहाको होस् कि सल्यानको जो भए पनि नेपाली हो भन्ने बृहत्तर छाती बनाइदिन जरुरी छ । पक्षपात गरिएन भने मन भाँचिँदैन कसैको । यसले देशका लागि नै राम्रो हुन्छ ।

हामी एक्काइसौँ शताब्दीको पनि तीनचौथाइ पार भइसकेको युगमा छौँ । यातायात र सञ्चार प्रविधिको विकासले विश्वलाई निकै नजिकबाट जोडिदिएको छ । संसार घुमेका, देखे–बुझेका छौँ, पढेका छौँ । अन्यत्र कस्तो व्यवस्था छ, अध्ययन नै गर्न पनि गाह्रो केही छैन । हामी गएरै पनि अध्ययन गर्न सक्छौँ । तर जान्छौँ, अरूले लेखिदिएको दुईपाने अंग्रेजीको भाषण रोस्टममा उभिएर पढ्छौँ र यसो किनमेल गरेर या घुमघाम मात्र गरेर फर्किन्छौँ, होइन र ? त्यताका ज्ञान, व्यवस्था, परिपाटी भने त्रिभुवन विमानस्थलमा उत्रिनासाथ बिर्सन्छौँ । हामी उही भद्रगोलमा बाँच्न चाहन्छौँ, सत्तामा हुन्जेल लछारपाटो लगाउँदैनौँ झरेपछि फेरि सत्ताकै लडाइँमा होमिन्छौँ । देश बनाउँदैनौँ, अनि देश बनेन भनेर औँला ठड्याउन भने भुल्दैनौँ । आत्मा साक्षी राखेर भन्ने हो भने देश नबनाउने र यो हालत बनाउनेका दोषी अहिलेसम्म सत्तामा बसेर गएका र रहेकाहरू सबै–सबै नै हुन् । संकीर्ण दलगत दलदलमा जकडिएका जमातबाहेक आमजनता त्यही भनिरहेका छन् ।
प्रहरी दलको चाहिएको हो कि देशको ? प्रहरी जनता सबैको बनाउनुपर्ने हो कि मौका आउँदा आफ्नै खल्तीको, भेगको, नजिकको ? ढोका–ढोकामा पुगेर फुली भिर्नुपर्ने भएपछि, मन पर्ने स्थानको सरुवाको निस्सा बुझ्नुपर्ने भएपछि त्यो प्रहरी नै भइराख्छ कि दलविशेषको कार्यकर्ता ?
कस्तो बनायौँ त हामीले ०४६ सालपछि प्रहरी र ०५८ सालदेखि सशस्त्र प्रहरी ? सन्तुष्ट छन् त तिनीहरू, अहिले जे चलिरहेको छ त्यो चलनसँग ? भेट गर्न हजुर भन्दै आउने सीमित स्वार्थीहरूबाहेकसँग हामीले कहिल्यै संस्थागत छलफल गर्यौँ यसबारेमा ? कसैलाई के गर्ने, कसरी गर्ने, के कमीकमजोरी छन्, अब कसरी हटाउने भनेर सोच्यौँ, सोध्यौँ ? पदमा रहनेबित्तिकै या भेट्नेबित्तिकै सबै जानेका हुन्छौँ कि जान्न–बुझ्न केही मिहिनेत पनि गर्नुपर्छ ? जुनसुकै मन्त्रालयमा विज्ञता हासिल गरेका पदाधिकारीहरू हुनुपर्छ कि पर्दैन ? सेवा विशिष्टीकरण आवश्यक भयो कि भएन ? कति छन् आन्तरिक सुरक्षाका आयामहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, अपराध अनुसन्धान, सीमा सुरक्षा, लडाइँ, प्रतिविद्रोह, भीड, दंगा मनोविज्ञान, व्यवस्थापन, इन्टेलिजेन्सलगायत सुरक्षाका विविध पाटा बुझेका । दरबन्दी पारेर कुर्सीमा बस्नासाथ रातारात प्रशासन, सुरक्षाविज्ञ हुने भए किन अहिलेसम्म यस्तो भइरहन्थ्यो अवस्था ? अब मन्त्रीज्यूले त्यसलाई केलाइदिनुहोला ।
दुवै प्रहरी तीव्र राजनीतीकरणको चपेटाबाट गुज्रिँदै आइरहेका छन्, सबै गृहमन्त्रीको पालामा । यस्तो भइदिए हुन्थ्यो भन्ने केही पनि भएको छैन र नभइदिए हुन्थ्यो भन्ने सबै भइरहेको छ, तर पनि चुपचाप सहिरहेका छन् प्रहरीले, प्रहरी संगठनले । हस्तक्षेपको निमन्त्रणा गर्ने सम्बन्धित अधिकारीहरू झन् बढी दोषी छन्, संगठन तिनको कारणले पनि कमजोर बन्न पुगेको हो । देशलाई दैनिक रूपमा स्थिर राख्न, समाजमा घट्ने विभिन्न अपराधहरूको सटिक अनुसन्धान गर्न, हुने नहुने यावत् विसंगतिविरुद्ध जुध्न, सत्ताधारीलगायत ठूला नेता हुँ भन्नेको बाँचुन्जेल देखभाल गर्न, राजनीतिकै कारणले निस्कने हुल या जुलुससँगको रक्ताम्मे बनुन्जेल ढुंगा खान, देश र जनता जोगाउने नाममा सत्ता जोगाइदिन रोल्पा, रुकुम, सतबरिया, गाम, साँफेबगर, चैनपुर, कपुरकोट, भिमान, कोटवाडा या भालुवाङका किल्लाहरूमा लड्न तयार नेपाल आमाका, कहाँ हो कहाँ कुनाकन्दराबाट देशसेवामा होमिएका निर्दोष छोराछोरीहरूलाई गुजारा चलाउनै धौधौ पर्नेे सुविधामा दल्न पाइएको छ भन्दैमा जे गरे पनि हुने कस्तो देश हो यो ? हद हुन्छ नि !
प्रहरी दलको चाहिएको हो कि देशको ? प्रहरी जनता सबैको बनाउनुपर्ने हो कि मौका आउँदा आफ्नै खल्तीको, भेगको, नजिकको ? ढोका–ढोकामा पुगेर फुली भिर्नुपर्ने भएपछि, मन पर्ने स्थानको सरुवाको निस्सा बुझ्नुपर्ने भएपछि त्यो प्रहरी नै भइराख्छ कि दलविशेषको कार्यकर्ता ? माहोल मिलाउँदै भेट गर्न, भेट गर्दै खातिरदारी गर्न, धाउँदाधाउँदै चिनेर वृत्तिविकासको लालपुर्जा प्राप्त गर्नुपर्ने बनाएपछि भेट गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको हो ।
सबैभन्दा निष्पक्ष, तटस्थ र विवेकी हुनुपर्ने अधिकारी सरुवा भएर जानुभन्दा अघि हामीले पठाएको, ल्याएको भन्ने बिम्ब सम्बन्धित स्थानमा पुगिसकेपछि कसरी हेर्ला, आममान्छेले ? अनि कसरी पत्याउला जनताले यसले हाम्रो सुरक्षा गर्छ, अन्याय हुन दिँदैन भनेर ? यही भइरहेको छ, मन्त्रीज्यू यहाँ ।
हामीलाई देशसेवा गर्ने प्रहरी चाहिएको कि दलको भरपर्दो प्रहरी ? आफ्ना मान्छेलाई जोगाउँदै अरूलाई कुन्दाले कुल्चने प्रहरी चाहिएको हो, हामीलाई ? या निर्वाचनमा मेसो मिलाउन ? यस्तै हो भने हामीले कस्तो समाज बनाऔँला ? कता जाला देशको भविष्य । असन्तुष्ट जमात बढेपछि त्यसले कसरी काम गर्ला हामी कहिल्यै चिन्तन गर्दैनौँ । विधि पद्धति केही छैन, अनि अरूले त्यसैलाई मानिदिनुपर्ने, टुलुटुलु हेरेर सबै ठीक भनिदिनुपर्ने ? तीव्र अन्यायमा परेर ढोकाबाट बाहिरिँदा पनि जयनेपाल हजुर भनेर बाहिरिदिनुपर्ने ?
अब गृहमन्त्रीले साँच्चिकै बुझ्नुपर्ने वेला आएको छ । हिजोसम्म जे भयो भयो, जसरी चल्यो चल्यो, अब हुन दिन्नँ भन्न सक्नुपरेको छ । सीमितको मात्र नभइ सबैको गृहमन्त्री बन्दा कसको के जान्छ ? आखिर त्यो पद आजीवन पनि रहने हैन । भोलि आफूले गरिदिएको कामले शान्ति सुरक्षा दिने अंगलाई सघाउन पुग्यो भने समाजलाई नै सकारात्मक प्रभाव पर्ने न हो ।
(सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एआइजी)