दक्षिण अफ्रिकामा उत्पादित एक करोड डोज खोप युरोप निर्यात हुँदै गर्दा सिंगो अफ्रिका ‘भ्याक्सिन अपर्थाइड’ अर्थात् खोप नश्लभेदको सिकार भइरहेको छ
पश्चिमा मुलुक आफैँले प्रतिज्ञा गरेको समतामूलक कोभिड–१९ खोप वितरणको असफलता झल्काउने गरी अफ्रिकामा उत्पादित खोप धमाधम युरोपमा ओसार्दै छन् । अफ्रिकी नेताहरूका अनुसार यो र अर्को महिना दक्षिण अफ्रिकाको एस्पेन फ्याक्ट्रीमा उत्पादित जोन्सन एन्ड जोन्सन कम्पनीको एक करोड खोप युरोपमा निर्यात हुँदै छ । अफ्रिका कोभिड–१९ संक्रमणको प्राणघातक लहरको चपेटामा पर्दै गर्दा यसरी खोप निर्यात भइरहेको छ ।
कोभिड खोपको तीव्र विकास र उत्पादन हेर्दा संसारका सबै पाखुरामा खोप लाग्नु असहज थिएन । तथापि, खोप राष्ट्रवाद एवं युरोपको वैश्विक स्वास्थ्यमा नवऔपनिवेशिक रबैयाले विश्वलाई धनी र गरिब मानिसमा विभाजित गरेको छ । संसारमा वितरित भएका चार अर्ब ७० करोड खोपमा ८० प्रतिशत जी २० मुलुकमा खपत भएका छन् । धनी र गरिबबीचको खाडल अत्यधिक बढेको छ । अर्थात् उच्च–आय भएका मुलुकले हरेक सय नागरिकमा करिब सय मात्राकै खोप उपलब्ध गराएका छन् भने न्यून–आय भएका मुलुकमा सय नागरिकमा केवल एक दशमलव पाँच मात्रा खोप उपलब्ध हुन सकेको छ । युरोपेली मुलुक र अमेरिकाले आफ्ना ५० प्रतिशत वयस्क नागरिकलाई खोप लगाइसकेका छन् भने पूरा अफ्रिकामा केवल एक दशमलव आठ प्रतिशत वयस्क नागरिकले खोप लगाएका छन् जुन भारतको आठ प्रतिशत आँकडाभन्दा पनि कम हो ।
खोप वितरणको सुस्तताका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकाका ५४ मध्ये ४७ मुलुकले सेप्टेम्बरसम्ममा १० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने सामान्य लक्ष्य पनि पूरा हुनेछैन । हालको गति हेर्दा अफ्रिकामा पश्चिमबराबरको खोपस्तर अर्को वर्षसम्म पनि हासिल नहुने देखिन्छ । यस सन्दर्भमा अफ्रिकी नेताहरूले ‘भ्याक्सिन अपर्थाइड’ अर्थात् खोप नश्लभेदको आरोप लगाउनु अस्वाभाविक होइन । पश्चिमा मुलुकका सरकार अतिरिक्त खोप –बुस्टर डोज) लगाउन तयार भएका वेला आफूलाई जोखिममा राखेर अरूको उपचार गर्ने दसौँ लाख अफ्रिकी नर्स एवं स्वास्थ्य श्रमिक असुरक्षित रहनेछन् ।

सबैभन्दा बढी खोप भएका मुलुक न्यून खोप भएका मुलुकलाई खोप उपलब्ध गराउन अक्षम हुँदै गइरहेका छन् । अहिले रोजगारी एवं जीविकामा आर्थिक असर पर्दा धनी एवं गरिब मुलुकबीच फाटो बढ्दै गइरहेको छ । न्यून खोप दरका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार अफ्रिकी महादेशको आर्थिक सम्भावनामा गिरावट हुन थालेको छ भने खोप लगाएका पश्चिमाको सो सम्भावना बढ्दो छ ।
पश्चिमा मुलुकले वाचा गरेको ७० करोड खोप आउन नसकेका कारण अफ्रिकी खोप संकलन कोष (अभ्याट) निराश छ र त्यसमाथि बहुराष्ट्रिय कोभ्याक्स सुविधामा ६ करोड खोप मात्र उपलब्ध भएको छ । सहयोगको वाचा पूरा नहुँदा अभ्याटले आफैँले खोप खरिद गर्ने निर्णय गरेको छ । अभ्याटले जोन्सन एन्ड जोन्सन कम्पनीबाट ४० करोड खोप खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता गर्न पनि अभ्याटले युरोपियन युनियनको बाधा झेल्नुपरेको थियो । हाल ३० प्रतिशत अफ्रिकी वयस्क जनसंख्यालाई ढिलै भए पनि अर्को वर्षको सेप्टेम्बरसम्म खोप लगाउने प्रत्याभूत गरिएको छ ।
तत्कालका लागि खोपको सहज उपलब्धता नभएका कारण अफ्रिकी युनियन चीनसँग २० करोड चिनियाँ खोप खरिद गर्न बाध्य भएको छ । खोप उपलब्धताको ढिलाइका कारण खोप नियमन, समन्वय र स्थिति बुझ्न सहयोग होस् भनेर आइएमएफ, विश्व बैंक, डब्लुएचओ र विश्व व्यापार संगठन (डब्लुटिओ) ले संयुक्त रूपमा ‘भ्याक्सिन वार रुम’ निर्माण गरेका छन् । यति हुँदाहुँदै पनि जी ७ मुलकका नेतृत्व जसले आफ्ना नागरिकको संख्याभन्दा बढी खोपमा पहुँच बनाएका छन्, तिनले अफ्रिकालाई खोप आपूर्तिको प्रत्याभूति गराउनुपर्छ ।
आउँदो महिना हुने जी २० को विशेष खोप सम्मेलनमा दुई नीतिमा परिवर्तन अपरिहार्य छ । पहिलो परोपकारी वृत्तको निर्माण गर्नु जरुरी छ, जसले धनाढ्य मुलुकबाट अन्तर्राष्ट्रिय सहयोग कोष निर्माणको प्रत्याभूति गरोस् । यसले गरिब मुलुकमा खोपको वैश्विक उत्पादन क्षमताको विकास गर्नेछ । यसमा प्रविधि हस्तान्तरणका लागि खोप प्याटेन्टमा अस्थायी छुट पनि पर्छ । यद्यपि अफ्रिकालाई तुरुन्तै खोप आवश्यक छ । यसका लागि खोप भण्डारण अत्यधिक भएका मुलुकले तत्काल अफ्रिकाका लागि खोप वितरण गर्नुपर्छ । त्यति मात्रै होइन, खोप व्यवस्थापनका लागि चार अमेरिकी मन्त्री र आइएमएफले प्रस्ताव गरेको ५० करोड डलरको वित्तीय कोष निर्माण पनि गर्न आवश्यक छ ।
द गार्जियनबाट
(ब्राउन बेलायतका पूर्वप्रधानमन्त्री हुन्)