नक्कली कागजातका आधारमा नेपाली नागरिकता लिई करोडौँ रुपैयाँ ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला नोगलीका ३९ वर्षीय शेर सिंह भनिने रविकुमार सिंह हुन् ।
महानरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार ललितपुर महालक्ष्मी– ५ सेतीपाखाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले नक्कली कागजात बनाई दुई करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको साझेदार, अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङका डाइरेक्ट, रोयल हाइड्रो कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्ट भन्दै उनले विभिन्न व्यक्तिबाट दुई करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले नक्कली कागजातका आधारमा नेपाली ठगी गर्ने भारतीय नागरिक पक्राउ परेको बताए । उनले भने, ‘यो भारतीय नागरिक हो । यसको नेपाली नागरिकता पनि छ । त्यो नक्कली हो । सोही नागरिकताका आधारमा यसले लाइसेन्सदेखि बैंकमा खाता खोलेको छ । अनि आफूलाई विभिन्न कम्पनीको डाइरेक्टर भन्दै ठगी गरेको भेटियो । प्रारम्भिक जाहेरीमै दुई करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिन्छ । यसले अरूलाई पनि ठगी गरेको सूचना आएको छ । सबै पीडित आए यसले सबैबाट १० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको हाम्रो अनुमान छ ।’
प्रहरीका अनुसार रवि कुमारले लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सनको संस्थापक अध्यक्ष भन्दै विभिन्न व्यक्तिसँग एक करोड रुपैयाँ ठगी गरेका थिए । यसका लागि उनले कम्पनीको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरेका थिए । कन्स्ट्रक्सनका वास्तविक संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले प्रहरीमा उजुरी दिएपछि उनको यो कर्तुत खुलेको थियो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको साझेदार हुँ भन्दै उनले रुपन्देही बुटवल– ८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठसँग ४३ लाख ७३ हजार रुपैयाँ ठगी गरेका थिए । निर्माणाधीन बुटवल–नाराणघाट सडकखण्डस्थित दायाँबायाँको रूख कटान काट्ने ठेक्का परेको र आफूसँग साझेदारी बने ४० प्रतिशत नाफा हुने प्रलोभन दिँदै उनले मल्ल र श्रेष्ठलाई ठगेका थिए । यसका लागि उनले चाइना स्टेटको नक्कली कागजात तयार गरेका थियो । सोही कागजातका आधारमा उनले मल्ल र श्रेष्ठलाई विश्वास दिलाएका थिए ।
रुपन्देही लुम्बिनी सांस्कृतिक– ६ का अनिल गुरुङबाट बा.१२च ३८५९ नम्बरको स्विफ्ट कार मासिक ९० हजार रुपैयाँ भाडा दिने भन्दै लिएका थिए । एकाएक बेपत्ता बनेका उनले उक्त कार आठ लाख ३५ हजार रुपैयाँ लिई भक्तपुर– १५ का प्रदीप रायलाई दिएका थिए । यसका लागि पनि उनले कारको नक्कली धनीपुर्जा बनाएका थिए । त्यस्तै, धनुषा जनकपुरधामस्थित न्यु साह एन्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई मासिक डेढ लाख रुपैयाँ दिने प्रलोभनमा प्रदेश–३–०१– ०२३ च ००५० नम्बर को ब्रेज कार भाडामा लिएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका उनबाट कार बरामद गर्न साहले प्रहरी प्रयोग गर्नुपरेको थियो । साहलाई भने उनले रोयल हाइड्रो कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर भनी परिचय दिएका थिए ।
चुरियामाई इन्टरप्राइजेज जडीबुटीका सञ्चालक कृष्णहरि गौतमसँग बजाज कम्पनीको बा.९५प १६८ नम्बरको डोमिनर मोटरसाइकल नै ठगी गरेका थिए । तीन लाख ३० हजार रुपैयाँमा खरिद गरेका उनले गौतमलाई तीस हजार रुपैयाँ मात्रै दिएका थिए । पछि दिने वाचासहित हिँडेका उनी त्यसपछि कहिल्यै गौतमको सम्पर्कमा गएनन् ।
प्रहरीका अनुसार उनले कैलालीबाट नागरिकता लिएका थिए् । नागरिकतामा उनको बुबा कैलाली टीकापुर–९ का देवीप्रसाद सिंह रहेको भनी उल्लेख छ भने जन्मस्थान सुर्खेत लाटिकोइली– ७ भनी उल्लेख छ । उल्लेखित सबै विवरण नक्कली रहेको एसपी कोइरालाले बताए ।
उनले भने, ‘यसले नेपाली नागरिकता लिएको देखिन्छ । अनुसन्धान गर्दा त्यो नक्कली रहेको भेटियो । यसको श्रीमती पनि नेपाली नै रहेको खुलेको छ ।’