नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली बचाइराख्न एमालेबाट वैधानिक विद्रोह गरी नयाँ पार्टी गठन गरेको बताएका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गरेलगत्तै अपिल प्रकाशित गर्दै नेपालले भनेका छन्, ‘नेकपा (एमाले)ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपा (एमाले)लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोेह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ ।’
उनले कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्न र सहयोग पुर्याउन सबैमा अपिल गरेका छन् ।
नेपालले अनेक प्रयासका बाबजुत पनि एकता कायम राख्ने प्रयास अध्यक्ष ओलीकै कारण सफल नभएको अपिलमा प्रस्ट्याएका छन् । ‘हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गर्यौँ, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो । त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ,’ अपिलमा भनिएको छ, ‘उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नवीकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रूपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अलमल्याउने काम गरिरहनुभयो । यति मात्र होइन उहाँले कहिले स्पष्टीकरण, कहिले कारबाही, कहिले आममाफी, गद्दार, देशद्रोही घोषणा गर्दै फलानो–फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्वपंक्तिबीच विभाजन ल्याई अलमल्याउने र कतिपयलाई तान्ने काममा लागिरहनुभयो ।’
उनले मंगलबार एकतर्फी रूपमा आफूसहितका १४ सांसदलाई कारबाही गरेपछि कठोर कदम चाल्ने क्रममा नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता भएको पनि खुलाएका छन् । ‘हुँदाहुँदा ०७८/०५/०१ गतेका दिन त उहाँले पार्टी नेता र सांसदहरूलाई कारबाही गरी गैरकानुनी रूपमा निष्कासन गर्ने तहमा उभिसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ, पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ, नेकपा (एमाले)को पुनर्गठन एवं रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ,’ अपिलमा भनिएको छ ।