पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गुल्मी जिल्लाको सर्सिनी गाउँपालिका– ८ निवासी ३० वर्षीय प्रेमबहादुर भुसाल र रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका– १० निवासी २९ वर्षीय सोमबहादुर भण्डारी पक्राउ परेका हुन् ।
बुधबार दिउँसो नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ होङ्सी जाने गेटअगाडि पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा चेकजाँचको क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको लु.१ज ३९४८ नम्बरको ट्याक्सीसमेत नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लागुऔषध डाइजेपाम चार सय ९० एम्पुल, फेनारगन चार सय ९९ एम्पुल र बुर्फिनुर्फिन चार सय ८२ एम्पुल बरामद गरेको हो ।
जाँचको क्रममा कारभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका भुसाल र भण्डारीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही अगाडि बढाइने सिंहले बताए ।