नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार नेप्से करिब ३२ सयको बिन्दुनजिक पुगेको छ। नेप्से परिसूचक ३७.८७ अंकले बढेर तीन हजार एक सय ९८.१९ बिन्दुमा पुगेर बन्द भएको छ। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८३ अंकले बढेर पाँच सय ९८ बिन्दुमा पुगेको छ।
नेप्से उच्च बिन्दुमा पुगेसँगै कारोबारमा आउने १३ समूहको सूचकमध्ये दुई समूहको सूचकबाहेक सबै समूहको सूचकमा रौनकता छाएको छ। विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको सूचकमा आकर्षण देखिएको छ। पछिल्लो समय कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी हुँदा लगानीकर्ताहरूले कम्पनी फेरीफेरी लगानीको मात्र बढाएका छन्।
नेप्सेलाई कारोबार रकमले पनि साथ दिएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीका तीन करोड ६५ लाख कित्ता सेयर किनबेच हुँदा आज २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा पहिलो कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ।
यस दिन कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनी अपी पावर कम्पनीको ६३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ रुपैयाँको कारोबार हुँदा ज्योति विकास बैंकको ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
६ कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तीय संस्था, आँखुखोला जलविद्युत कम्पनी र महालक्ष्मी विकासको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ।
गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको उच्च आकर्षण बढेको छ। आज १०.५० प्रतिशत एसबिएल डिभेन्चर, एनआइविएल प्रगति फन्ड, आरडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता भने निराश बनेका छन्।