सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नहेप्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत साबित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने बताएका हुन्।
प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने उनले दाबी गरे। ‘संसदमा बहुमत साबित गरेर भएका प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन्। अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन। आगामी निर्वाचनपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ। यो हाम्रो दाबा हो,’ सांसद यादवले भने।
निवर्तमान प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको उनले बताए ।
फरक प्रसंगमा उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्धार गर्न पनि सरकारलाई सचेत गराएका छन्।