ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको साउदको स्पष्टीकरण

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

सेयर बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टीकरण दिएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा साउदले यस्तो स्पष्टीकरण दिएका हुन्।

बैठकमा समितिका सदस्यहरूले नियामक निकायका प्रमुख आफैँले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनी प्रश्न गरेका थिए। त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिएका हुन्।

‘हाम्रो सञ्चालक समितिको आचारसंहिताले के भन्छ भने रेगुलेटरले सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्नेछैन। यही व्यवस्था हाम्रो ऐनमा पनि छ । त्यही प्रावधानअन्तर्गत यो सेयर कारोबार गरिएको हो। नियम मिचेर यो काम गरिएको होइन। म पनि त नागरिक हुँ नि। मैले पनि त आफ्नो लगानी गर्न पाउनुपर्याे नि,’ उनले भने।

प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचारमाध्यमहरूले सेयर कारोबारसम्बन्धी विद्यमान ऐन, कानुनको व्यवस्था नबुझी सर्वोत्तम सिमेन्टको ओटिसी सेयर नियामक निकाय आफैँले खरिद–बिक्री गरेको भनी झुटा समाचार सम्प्रेषण गरेको दाबीसमेत गरेका छन्।

बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदागराउँदै नेप्सेजस्ता नियामक निकाय आफैँले नैतिक प्रश्न खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए।

समितिकी सदस्य रामकुमारी झाँक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटकपटक दिएको सुझाबप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेका पदाधिकारीमाथि आक्रोश व्यक्त गरिन्। उनले आफैँमाथि प्रश्न उठ्ने गरी नेप्सेले गैरजिम्मेवार काम गरेको भन्दै त्यसको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरिन्।

समितिकी अर्की सदस्य निरादेवी जैरूले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियामक निकायलाई सचेत गराइन्। उनले नेप्सेजस्ता संस्थाहरूलाई नीति र विधिअनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गरिन्।

सुझावित समाचार