खै युवाको सहभागिता ?

राज्यले प्राथमिकतामा राखेको भने पनि नतिजामुखी रूपमा युवाको परिचालन, सहभागिता र प्रतिनिधित्व हुन सकेको छैन

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

युवाहरू युग परिवर्तनका मेरुदण्ड हुन् । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा शासकीय पद्धति रूपान्तरणका प्रक्रियामा युवाको भूमिकालाई उच्च महत्व दिँदै आएको पाइन्छ । युगअनुसारको परिवर्तनका लागि व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै सम्पूर्ण विश्वकै सकारात्मक रूपान्तरणमा युवाको भूमिका महत्वपूर्ण छ । युगानुकूुल भविष्यको परिवर्तनका भरपर्दा आधार नै सक्षम युवा हुन् । 

संयुक्त राष्ट्र संघले सन् १९९९ मा अनुमोदन गरी सन् २००० देखि सुरुवात भएको अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष १२ अगस्टमा विश्वभर विविध क्षेत्रका विषयगत प्रभावकारी नारासहितका कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा भने सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो । विश्वव्यापी समाजको यस आधुनिक समयमा हरेक पक्षमा युवा सहभागिता र समुदायमा सकारात्मक योगदानसहितको भावी रूपान्तरणमा दिवसका कार्यक्रमले जोड दिएको पाइन्छ । 

अन्तर्राष्ट्रिय जगत्लाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय, सुनिश्चित र सफल गराउन नवप्रवर्तनात्मक उपाय तथा सम्भावित परिवर्तनलाई खोज गर्न दिवसले पहल गर्दै आएको छ । यस वर्ष पनि ‘खाद्य प्रणालीहरूको रूपान्तरण : मानव र भूमण्डलीकरणको स्वास्थ्यका लागि युवा आविष्कार’ भन्ने नारासाथ यो दिवस मनाइसकिएको छ । जसले युवालाई मानवअधिकारको नैसर्गिक अधिकार खाद्य प्रणालीलाई मानव र अन्य प्राणीको वासस्थान पृथ्वी र वैज्ञानिक समयको आविष्कारसँग जोड्न खोजेको छ । 

संयुक्त राष्ट्र संघका अनुसार विश्वको कुल जनसंख्यामा १५ देखि २४ वर्ष उमेरका युवाको संख्या १३ प्रतिशत छ । युवा उमेरबारे विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बंगलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचकालाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति ०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । नेपालमा कुल जनसंख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटेका छन् । त्यसैले त नेपाल युवाको देश हो । 

चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले भनेका छन्– युवाहरू हो, यो तिमीहरूको समय हो । उनले यसो भनेर युवाको महत्व र समयलाई परिवर्तनसँग जोडेका थिए । उनी सकारात्मक क्रान्तिका लागि युवालाई प्रोत्साहन गर्थे, जसको प्रभावले चीनको समृद्वि सम्भव देखियो । उनले युवालाई पौरख गर्न प्रेरित गर्थे । जसको जगमा अहिलेको समृद्ध मुलुकका रूपमा चीन उदाएको छ । उनले त्यसवेला पनि युग परिवर्तनमा युवाको नेतृत्वदायी महत्वलाई बुझाएका थिए ।

 माइमी युनिभर्सिटीका प्राध्यापक तथा अनुसन्धानकर्ता माइकल पी इवान्सको पुस्तक ‘इंगेजिङ युथ इन लिडरसिप फर सोसियल एन्ड पोलिटिकल चेन्ज’मा भनिएको छ– युवा नेतृत्वको पहलले युवालाई प्रजातान्त्रिक जीवन, सहभागितापूर्ण शासन र सामाजिक र राजनीतिक परिवर्तनमा संलग्न हुन मद्दत गर्छ । बहुसंख्यक युवाको समयानुकूल प्रतिनिधित्व र युग परिवर्तनका लागि युवा नेतृत्व अत्यावश्यक छ । 

युग सुहाउँदो परिवर्तनका लागि युवाले व्यक्तिगत नेतृत्वदायी विकासको परम्परागत रूपलाई चुनौती दिन्छ । आफ्नो शिक्षा, सीप र क्षमतालाई आधुनिक, वैज्ञानिक र व्यावहारिक उपयोगमा केन्द्रित गर्छ । इतिहासका परिवर्तित परिवेशलाई नै अध्ययन र मूल्याङ्कन गर्ने हो भने युवा नेतृत्व धेरै प्रतिफलमुखी छ । यसकारण त हरेक क्षेत्रमा युवा वर्गको सफलता चुलिँदो छ । विश्वभर यो समयको मागसमेत रहेको छ । 

दोस्रो विश्वयुद्धयताको शीतयुद्व तथा वाक्युद्धपछाडि विश्वको राजनीतिक, आर्थिक र सामाजिक संरचनामा व्यापक परिवर्तन आएको छ । इतिहासमा सन् ६० को दशकमा विश्वमै युवाको तरंग देखियो । अमेरिका, युरोप, चीन, दक्षिण एसिया सबैतिर त्यो लहर अनेकौँ रूपले उदायो । युवाको त्यस तरंगले ती देशको युगै परिवर्तन भयो । युवामा आन्दोलनको अभीष्ट राजनीतिक नेतृत्व हात पार्नु अवश्य थियो, तर त्यो गम्भीर, सिर्जनशील र दूरगामी चिन्तनको उद्गमबिन्दु साबित भयो । यद्यपि, ९० को दशकबाट विश्वव्यापीकरणको प्रभावसँगै आएको परिवर्तनस्वरूप नेपालमा पनि युवामा राजनीति, कला, संगीत, साहित्य सिर्जनात्मक विद्रोहका रूपमा उदाएको पाइन्छ ।

समयक्रमसँगै मुलुकको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा युवाको सक्रिय सहभागिता बढ्दो छ । नेपालको संविधान (२०७२) ले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा युवा जनशक्तिलाई देश विकासमा परिचालन गर्ने नीति अवलम्बन गर्ने व्यवस्थासमेत गरेको छ । संविधानकै परिकल्पनाअनुसार राष्ट्रिय युवा नीति ०७२ लागू पनि गरिएको छ । युथ भिजन २०२५ मा पनि राज्यले युवा नीति अवलम्बन गरे पनि युवामैत्री नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन । 

संवैधानिक र नीतिगत परिवर्तन तथा युथ भिजनको परिकल्पनाले नीति निर्माण तहमा युवाको उपस्थिति बढ्न थालेको सकारात्मक संकेत भने देखिन्छ । प्रतिनिधिसभामा १३.०९ प्रतिशत, प्रदेश सभामा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र स्थानीय तहमा ३९.६४ प्रतिशत युवाको प्रतिनिधित्व भएको छ । स्थानीय तहका सरकारमा ३९.६४ प्रतिशत मेयर, १७.७४ प्रतिशत उपमेयर, ३७.८८ प्रतिशत गाउँपालिका अध्यक्ष, २४.३४ प्रतिशत उपाध्यक्ष, ५१.५२ प्रतिशतले स्थानीय सरकारको नेतृत्व गरेका छन् । तैपनि, युवालाई नेतृत्वमा स्थापित हुन, निर्णय लिन र कार्यान्वयनमा कठिन भएको उनीहरूकै गुनासो सुनिन्छ  ।

नेपालमा वार्षिक पाँच लाख व्यक्ति श्रमबजारमा आउँछन् भने त्यसको १० प्रतिशत अर्थात् ५० हजारले पनि रोजगारी पाउन मुस्किल छ । यीमध्ये पनि अधिकांशले आफ्नो क्षमता, योग्यता र दक्षताअनुसार अवसर पाउँदैनन् ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा पनि सरकारको युवा नीति ०७२ ले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहक’ भनेर व्याख्या गरेको छ । चौतर्फी रूपमा भइरहेको युवासम्बन्धी बहसलाई ध्यानमा राखी अहिलेका युवाले समाजको राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा आधुनिक परिवर्तनकारी युगअनुसार कस्तो भूमिका खेल्न सक्छन् भन्ने बहस आजको महत्वपूर्ण विषय हुन सक्छ । उमेरले मात्र युवा भएर हुँदैन, चेतना, चिन्तन र चरित्रमा आजका युवा कस्ता छन् भन्ने महत्वपूर्ण हुन्छ । 

नेपाल युवाहरूको देश भए पनि उनीहरूको प्रतिनिधित्व र सशक्तीकरणका विषयमा ज्यादै गम्भीर भएर सोचेको पाइँदैन । राज्यले प्राथमिकतामा राखेको उद्घोष गरे पनि नतिजामुखी रूपमा युवाको परिचालन, सहभागिता र प्रतिनिधित्व हुन सकेको छैन । राष्ट्र निर्माणमा युवाको ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गरी आर्थिक, सामाजिक लाभ लिन सकिएको छैन ।

राज्यको प्रभावकारी नीति र त्यसको कार्यान्वयनको अभावका कारण आज पनि अधिकांश युवा बेरोजगार छन् । युवा विकास सूचकांकमा नेपाल विश्वमा ७७औँ स्थानमा छ । एक सर्वेक्षणअनुसार नेपालमा वार्षिक पाँच लाख व्यक्ति श्रमबजारमा आउँछन् भने त्यसको १० प्रतिशत अर्थात् ५० हजारले पनि रोजगारी पाउन मुस्किल छ । यीमध्ये पनि अधिकांशले आफ्नो क्षमता, योग्यता र दक्षताअनुसार अवसर पाउँदैनन् । तथ्यांक विभागको सीप र दक्षताका आधारमा हेर्दा ७४ प्रतिशत युवा अदक्ष छन् । २४ प्रतिशत अर्धदक्ष छन् भने दक्ष युवाको संख्या दुई प्रतिशत मात्र छ । स्नातक गरिसकेका २६.१ प्रतिशत युवा बेरोजगार छन् । 

युवाहरू विगतका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम निकै बढेको छ । विश्वमै युवाको महत्व बढ्दै जाँदासमेत नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रमा अझै पनि परिचालन गर्न सकिरहेको छैन । दैनिकजसो गाउँहरू युवाविहीन हुँदै पलायन हुँदासमेत मुलुक तिनै युवाले पठाएको विप्रेषणका भरमा चलिरहेको छ । आत्मनिर्भरताभन्दा पनि परनिर्भरता बढ्दै गएको छ । कतिपय युवा मृत्यु भई बन्द बाकसभित्र फर्किनुपरेको वेदना सुन्ने जनमुखी सरकार अझै बन्न सकेको छैन ।

यसको मुख्य कारण नै राज्यका नीति निर्माण र विकास प्रक्रियामा युवाको प्राथमिकता, परिचालन र सहभागिताको प्रभावकारी अभ्यास नहुनु हो । यद्यपि पछिल्लो समय युवाकै सक्रियतामा राजनीतिक सहभागिताको सकारात्मक लहर देखिए पनि नतिजा भने हासिल भइसकेको छैन । नेपालका सबै राजनीतिक दलको नेतृत्वमा अहिले पनि रिटायर्ड पुस्ताकै हालिमुहाली छ । युग सुहाउँदो नेतृत्वका लागि युवाले ती दलमा नेतृत्व लिन ‘सभ्य युद्ध’ गर्नैपर्छ । समग्र रूपान्तरणका लागि समाजका अन्य पक्षमा पनि दरिलो भएर उभिने प्रयत्न गर्नैपर्छ । 

संयुक्त राष्ट्र संघको ‘युवा राजनीतिक सहभागिता र निर्णय प्रक्रियामा’ भन्ने प्रतिवेदनले ४० वर्षभन्दा कम उमेरका मानिसले औपचारिक राजनीतिक नेतृत्वको पदमा कम स्थान पाउँछन् । नेतृत्वमा मात्र होइन, सरकार, संसद् र राजनीतिक दलका केन्द्रीय कमिटी, सार्वजनिक प्रशासनमा प्रतिनिधित्व कस्तो छ भन्नेले पनि युवाको अवस्थालाई चित्रित गर्छ । नेपालकै सन्दर्भलाई अध्ययन गर्दा पनि त्यस्ता राजनीतिक दल, सरकार, संसद् र प्रशासनिक तहमा नेतृत्व वहन गर्न सक्ने युवा हुँदाहुँदै पनि विविध कारणले उनीहरू अवसरबाट वञ्चित हुनुपरेको छ । 

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुनले ‘नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोच राख्दा युवा सहभागिता अन्य समयमा भन्दा थप महत्वपूर्ण रहन्छ भनेका छन् । मुनको सान्दर्भिक सम्बोधनले उल्लेख गरेजस्तै युवा नेतृत्व र सहभागितामा जोड दिनुपर्ने सबैभन्दा उपयुक्त समय यही हो । यसर्थ, युगान्तकारी परिवर्तन र विकासको अभिभारा अब नेपाली युवाका कुशल काँधमा छ ।

वास्तवमा यो युवाका लागि एउटा सिर्जनात्मक विद्रोही चेतनाको युद्धको युग हो । जनआन्दोलन, सशस्त्र जनयुद्ध विद्रोही युवाविना सम्भव नै थिएन । परिवर्तनका संवाहक नै युवा हुन् । नेपालको इतिहासमा पनि सयौँ युवा सहिद भएका छन् । युगानुकूल युवा दिगो विकासका लागि जलवायु परिवर्तनका लागि चेतनामूलक लडाइँ लड्नु छ । विधि र कानुनी शासनसहितको सुशासनका लागि खबरदारी गर्नु छ । भ्रष्टाचार न्यूनीकरणका लागि विधि र व्यवस्था स्थापित गर्न–गराउन लड्नु छ । जातीय र भेदभावमूलक सामाजिक संरचना भत्काउनु छ, सचेतना फैलाउनु छ । आधुनिक युग सुहाउँदो युग परिवर्तनका लागि अबका युवाले लोकतन्त्र, कानुनी शासन, दिगो विकास र समाज रूपान्तरणमा सक्रिय रूपमा संघर्ष गर्नुपर्छ ।

विगतका दशकमा अधिकार प्राप्तिका लागि लडेका युवा अबको आधुनिक समयअनुसारको समतामूलक सभ्य समाज निर्माण, सुशासन र समृद्ध राष्ट्रको परिकल्पना पूरा गर्ने अहम् जिम्मेवारीसाथ नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ । राष्ट्रको अमूल्य जनशक्ति गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई नीति–निर्माण र राष्ट्रिय विकासको मूलधारमा ल्याउनु नै युग परिवर्तनको परिकल्पनातर्फ उन्मुख हुनु हो भन्ने विषयमा अहिले नै गम्भीर भएर सोच्नु जरुरी छ । 

सुझावित समाचार