दार्चुला तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न सांसद बडूकाे माग

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले  तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गरेका हुन् ।

दार्चुला–तिंकर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका निम्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिंकरखण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजना कार्यान्वयन गर्नका लागि सरकारसँग माग गरे ।

उनले भने, ‘दार्चुला तुइन घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र रोजगारी तथा बच्चाहरूको उचित शिक्षाको प्रबन्ध गर्न, शिलान्यास गर्न अलपत्र पारिएका चारवटै झोलुंगेपुलहरूको तत्काल निर्माण सुरु गर्न तथा लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न र भविष्यमा त्यस क्षेत्रका जनताले यसरी अवैधानिक र असुरक्षित तुइन तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागि र जनताको जिउधनको रक्षाका साथै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि समेत निकै मन्द गतिमा निर्माणाधीन भइरहेको दार्चुला–तिंकर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिंकरखण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजना कार्यान्वयन गर्नका निमित्त म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सुझावित समाचार