कांग्रेसको वैधता संकटमा : डेढ वर्षदेखि क्रियाशील सदस्यताकै उल्झन

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

वेलैमा क्रियाशील सदस्यताको टुंगो लगाएको भए अहिलेसम्म कांग्रेसका ६ हजार सात सय ४३ वडासमिति, सात सय ५३ पालिका कार्यसमिति र ७७ वटै जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाइसकेका हुन्थे । देशभरबाट चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको चयन भइसकेको हुन्थ्यो । 

तर, तेस्रोपटक तोकिएको मितिमा समेत महाधिवेशन गर्न नसकेको कांग्रेसले सदस्यताको विवादकै कारण अधिवेशनको अर्को मितिसमेत तोक्न सकेको छैन । जब कि अबको २६ दिनपछि कांग्रेसको वैधता खारेज हुन सक्ने अवस्था छ । सदस्यताकै कारण वेलामा महाधिवेशन गर्न नसक्दा कांग्रेसको वैधता संकटमा छ ।
कांग्रेसको १३औँ महाधिवेशन २०–२३ फागुन ०७२ मा भएको थियो । त्यस आधारमा कांग्रेसको अधिवेशन चार वर्षभित्र अर्थात् २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले त्यसवेला सामान्य अवस्थामै विधानको विशेष व्यवस्था उपयोग गरे र एक वर्ष कार्यकाल लम्ब्याए ।

०७७ फागुन ७–१० का लागि महाधिवेशनको कार्यतालिका तोकियो । तर, त्यो मितिमा महाधिवेशन हुन सकेन, पहिलो कारण क्रियाशील सदस्यताको टुंगो नलाग्नु नै थियो । त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था उपभोग गर्दै ०७८ भदौ ७–१० का लागि महाधिवेशन तोकियो । तेस्रोपटक महाधिवेशन सारेर भदौ १६–१९ का लागि तोकिएको थियो, तर त्यो मितिमा पनि महाधिवेशन नहुने निश्चित भइसकेको छ ।

पहिलोपटक महाधिवेशनको कार्यतालिका तोकेलगत्तै अर्थात् ०७६ को पुसदेखि नै नेताहरूले क्रियाशील सदस्यताको काम थालेका हुन् । त्यो कार्यतालिकाअनुसार महाधिवेशन नहुनुको कारण सदस्यता नै थियो, त्यसको दुई वर्ष बित्दै छ र तेस्रोपटक तोकिएको कार्यतालिका प्रभावित हुँदा पनि महाधिवेशन नहुनुको कारण उही छ–क्रियाशील सदस्यता । 

वैधानिक कालभित्रै पार्टीको महाधिवेशन हुने  सम्भावना सकियो :  रमेश लेखक

हामीले १२ साउनमै सदस्यता बुझाएका हौँ, त्यही वेला निर्णय गरेर अघि बढेको भए महाधिवेशनको प्रक्रिया अघि बढिसक्थ्यो । यो नेताहरूले निर्णय गर्नुपर्ने कुरा हो । तर, अहिलेसम्म निर्णय भएको छैन । महाधिवेशन ढिला गर्नुपर्ने कुनै कारण थिएन । निर्णय नभएका कारण ढिला भएको हो । पार्टीको वैधानिक कालभित्रै महाधिवेशन हुने सम्भावना त सकियो । अब समय पनि कम छ । फेरि कोभिडले पनि असर गर्ने अवस्था छ । तैपनि कसरी प्रक्रिया अघि बढाउने र वैधता जोगाउने भन्ने विषय छलफलमा छ । जारी केन्द्रीय समिति बैठकले एउटा कार्यतालिका बनाउँछ ।

संविधानको धारा २६९ (४) को (ख) बमोजिम राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन साढे पाँच वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तो निर्वाचनको अद्यावधिक विवरण निर्वाचन आयोगमा नबुझाए कांग्रेसको दर्ता नै खारेज हुन सक्छ । त्यस आधारमा कांग्रेसको अब बाँकी वैधानिक उमेर २६ दिन मात्रै हो । जब कि निर्वाचन समितिले मतदाताको अन्तिम नामावली पाएपछि पनि महाधिवेशनका लागि ५३ दिन समय मागेको छ । 

महाधिवेशनबारे छलफल गर्न बिहीबारदेखि सभापति देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भए पनि महाधिवेशनको कार्यतालिकाबारे छलफल नै सुरु भएको छैन । नेताहरू क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै बुझाएको प्रतिवेदनमाथि विवाद गरेर अलमलिएका छन् । केन्द्रीय समितिमा नेताहरू शीर्ष नेताहरूकै कारण विवाद उत्पन्न भएको भन्दै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका विषयमा अनावश्यक विवाद सिर्जना गर्ने, तर दोष अर्कैलाई थोपर्ने काम गरेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले पार्टीमा संस्थापन पक्षले फर्जी क्रियाशील सदस्यता थप गरेको भन्दै समाधानका लागि आग्रह गरे । ‘रामचन्द्र दाइ, हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍यो । क्रियाशीलको समस्या समाधान नभई महाधिवेशन हुने अवस्था छैन,’ थानीले भनेका थिए । 

लगत्तै बोलेका बस्नेतले वरिष्ठ नेता पौडेलमाथि आक्रोश व्यक्त गर्दै पौडेलबाट त्यस्तो अपेक्षा नराख्न आग्रह गरे । ‘गोविन्दराज जोशीलाई तह लाउनका लागि पुष्कर ओझालाई उहाँले सहिद बनाउनुभयो । थानीजी उहाँबाट के आस गर्नुहुन्छ ?’ बस्नेतले भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरू आफूअनुकूल भए मिलेमतो गर्ने । नत्र कार्यकर्ताको भावना, विधि र विधानको कुनै मतलब छैन । नेताहरूको मिलेमतो देखिएकै छ ।’

बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकको नयाँ क्रियाशील सदस्यता र समायोजन भई आएका नेता–कार्यकर्ताको विषयमा चर्को विवाद छ । त्यही विषयमा बस्नेतले नेताहरूमाथि आक्रोश पोखेका हुन् । उनले अहिले अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई क्रियाशील सदस्यता दिन आनाकानी गरे अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरूमा उत्साह हराउने बताए । ‘अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई सहजै सदस्यता दिनुपर्ने हो । तर, यहाँ रोक्ने काम भइरहेको छ । यसरी अन्याय गर्ने हो भने भोलि पार्टीमा अरू को मान्छे आउँछ ?’ बस्नेतले प्रश्न गर्दै अघि भने, ‘त्यसैले यसमा विधि–विधानअनुसार नै सदस्यता दिएर अन्य पार्टीबाट आएका साथीहरूलाई सहज बनाइदिनुपर्छ ।’

अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पनि अन्य राजनीतिक दलबाट प्रवेश गर्नेलाई क्रियाशील सदस्यता दिन इन्कार गर्नु गलत हुने बताए । ‘हामीले पाउने सदस्यता अहिलेसम्म टुंगो भएको छैन । पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको क्रियाशील सदस्य के कारणले रोकियो, त्यसको जवाफ चाहियो । हामीले सदस्यता नपाउने कारण के हो ? पार्टीको विधि–विधानविपरीत हामीले कहाँ गल्ती गर्‍यौँ ?’ बुढाले प्रश्न गरेका थिए । उनी दुई वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता हुन् । कांग्रेसमा अन्य राजनीतिक दलबाट आएकाहरू अधिकांश सभापति देउवा टिममै छन् । त्यही कारण देउवा त्यस्ता सदस्यता थप्नुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता पौडेल विधानविपरीत गर्न नहुने अडानमा छन् । 

क्रियाशील सदस्य नै कांग्रेसको वडा तहका मतदाता हुन् । वडादेखि चुनिने क्षेत्रीय प्रतिनिधिले पालिकादेखि केन्द्रसम्मको नेतृत्व चयनमा भूमिका खेल्छन् । त्यसैले क्रियाशील सदस्यता नवीकरण र वितरणमा वडासम्मै गुटगत प्रतिस्पर्धा चलेको हो ।

कांग्रेसको विधानले वडा, पालिका र प्रदेश सभा क्षेत्रीय समितिको सिफारिसमा प्रतिनिधिसभा क्षेत्रीय समितिले रुजु गरेर क्रियाशील सदस्यता प्रदान गर्न केन्द्रीय सभापतिलाई सिफारिस गर्नुपर्ने उल्लेख छ । तर, अन्य राजनीतिक दलबाट आएकाहरूको समायोजनको हकमा त्यस्तो नभएको पौडेल समूहको आरोप छ ।

छानबिनका सदस्यले सोधे– महाधिवेशन ढिला हुनुको कारण के ?
देउवाले बिहीबारको बैठक केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएका थिए । तर, क्रियाशीलकै विषयमा नेता–कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएपछि बैठक बुढानीलकण्ठ सारिएको थियो । केन्द्रीय समितिकै बैठक देउवाको निवासमा बसेको यो पहिलोपटक हो । 

बिहीबारको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल बोलेनन् । सुरुमै महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरे । 

त्यसपछि उपसभापति विमलेन्द्र निधिले अन्य राजनीतिक दल समायोजन समितिले गरेका निर्णय र ती विषयमा क्रियाशील सदस्यता प्रदान गर्ने क्रममा उब्जिएको विवादका विषयमा धारणा राखे । त्यही विषयमा सहमहामन्त्री डा. प्रकाशशरण महतले बोलेका थिए । क्रियाशील सदस्यताकै विषयमा छानबिन समितिका संयोजक रमेश लेखकले समितिले १२ साउनमै बुझाएको प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए । 

त्यसपछि क्रमैसँग बोलेका छानबिन समितिका सदस्यहरूले आफूहरूले पार्टीले दिएको मापदण्डबमोजिम नै क्रियाशील सदस्यताको छानबिन टुंगो लगाएको भन्दै महाधिवेशन किन रोकिएको भनेर प्रश्न गरे ।

छानबिन समितिको सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीले छानबिनका क्रममा भएका समस्या, समाधान र आगामी दिनमा सुधार्नुपर्ने विषयमा धारणा राखे । अर्का सदस्य कल्याणकुमार गुरुङले भने विगतदेखि राख्दै आएको फरक मत पेस गरे । 

समितिको संयोजकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यताका कारण महाधिवेशन रोकिनुपर्ने कारण नभएको दाबी गरे । ‘हामीले १२ साउनमै सदस्यता बुझाएका हौँ, त्यही वेला निर्णय गरेर अघि बढेको भए महाधिवेशनको प्रक्रिया अघि बढिसक्थ्यो । यो नेताहरूले निर्णय गर्नुपर्ने कुरा हो । तर, अहिलेसम्म निर्णय भएको छैन,’ लेखकले भने, ‘महाधिवेशन ढिला गर्नुपर्ने कुनै कारण थिएन । निर्णय नभएका कारण ढिला भएको हो ।’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि अहिले देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवादमा धेरै अल्झिनु बेकार भएको बताए । उनले क्रियाशील सदस्यता छानबिनका लागि बनाइएको मापदण्डअनुसार सदस्यताको टुंगो लगाउनुपर्ने बताए । ‘विधानको धारा ४ ले हरेक क्रियाशील सदस्यता वितरण गाउँ वा वडाबाटै हुनुपर्ने भनेको छ । त्योभन्दा फरक बाटोबाट आएका सदस्यता स्वीकार गर्न सकिँदैन,’ केसीले भने, ‘यसमा अब विवाद गर्नुपर्ने कुरै छैन । फेरि पहिल्यै निर्णय भइसकेको छ कि जहाँ विवाद हुन्छ, त्यस्तो विषयलाई आगामी महाधिवेशनसम्म स्थगित गर्ने भनेर । त्यसैले त्यहीअनुसार अघि बढ्न कसले रोकेको हो ? जे मापदण्ड छ, त्यो मापदण्डका आधार भइहाल्ने हो ।’ 

महाधिवेशनको कार्यतालिकाबारे छलफल नै भएन
बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिकाबारे कुनै छलफल भएन । बैठकमा बोल्ने नेताहरूले क्रियाशील सदस्यताको विवादलाई विधान र केन्द्रीय समितिले विगतमा गरेको निर्णयका आधारमा टुंगो लगाएपछि परिस्थिति हेरेर महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने सुझाब दिए । 

देउवानिकट केन्द्रीय सदस्य लेखकले कोभिड– १९ को संक्रमण र समय अपुग हुने भएका कारण अब भदौमै महाधिवेशन सम्भव नदेखिएको बताए । ‘पार्टीको वैधानिक कालभित्रै महाधिवेशन हुने सम्भावना त सकियो । अब समय पनि कम छ । फेरि कोभिडले पनि असर गर्ने अवस्था छ । तैपनि कसरी प्रक्रिया अघि बढाउने र वैधता जोगाउने भन्ने विषय छलफलमा छ,’ लेखकले भने, ‘जारी केन्द्रीय समिति बैठकले एउटा कार्यतालिका बनाउँछ ।’
उनका अनुसार शुक्रबार महामन्त्री खड्काले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्तावका रूपमा पेस गर्नेछन् । पार्टीको वैधानिकता बचाउने विषयमा विकल्पमाथि छलफल गरेर बैठकले निर्णय गर्नेछ । 

अधिकांश केन्द्रीय सदस्यले भने बढ्दो महामारीका वेला नियमित महाधिवेशन असम्भव रहेको भन्दै विकल्प खोज्नुपर्ने बताइरहेका छन् । ‘महाधिवेशन समयमै हुनुपर्ने हो, तर अब सम्भव देखिँदैन । त्यसैले परिस्थितिअनुकूल छिटो गरौँ भन्ने धेरै साथीहरूको छ,’ केन्द्रीय सदस्य कर्णबहादुर बुढाले भने, ‘सबैभन्दा ठूलो कुरा ज्यान नै हो । ज्यान जोगाएर परिस्थितिअनुकूल हुने गरी छिटोभन्दा छिटो महाधिवेशन गर्ने वातावरण सुनिश्चित गरौँ भन्ने कुरा धेरै साथीहरूको छ ।’

यसरी समय बितायो कांग्रेसले

- कांग्रेसको १३औँ महाधिवेशन २०–२३ फागुन ०७२ मा भएको थियो । त्यस आधारमा कांग्रेसको अधिवेशन चार वर्षभित्र अर्थात् २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले त्यसवेला सामान्य अवस्थामै विधानको विशेष व्यवस्था उपयोग गरे र एक वर्ष कार्यकाल लम्ब्याए ।

- ०७७ फागुन ७–१० का लागि महाधिवेशनको कार्यतालिका तोकियो । तर, त्यो मितिमा महाधिवेशन हुन सकेन, पहिलो कारण क्रियाशील सदस्यताको टुंगो नलाग्नु नै थियो । त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था उपभोग गर्दै ०७८ भदौ ७–१० का लागि महाधिवेशन तोकियो । तेस्रोपटक महाधिवेशन सारेर भदौ १६–१९ का लागि तोकिएको थियो, तर त्यो मितिमा पनि महाधिवेशन नहुने निश्चित भइसकेको छ ।

- पहिलोपटक महाधिवेशनको कार्यतालिका तोकेलगत्तै अर्थात् ०७६ को पुसदेखि नै नेताहरूले क्रियाशील सदस्यताको काम थालेका हुन् । त्यो कार्यतालिकाअनुसार महाधिवेशन नहुनुको कारण सदस्यता नै थियो, त्यसको दुई वर्ष बित्दै छ र तेस्रोपटक तोकिएको कार्यतालिका प्रभावित हुँदा पनि महाधिवेशन नहुनुको कारण उही छ–क्रियाशील सदस्यता । 

- संविधानको धारा २६९ (४) को (ख) बमोजिम राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन साढे पाँच वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तो निर्वाचनको अद्यावधिक विवरण निर्वाचन आयोगमा नबुझाए कांग्रेसको दर्ता नै खारेज हुन सक्छ । त्यस आधारमा कांग्रेसको अब बाँकी वैधानिक उमेर २६ दिन मात्रै हो । जब कि निर्वाचन समितिले मतदाताको अन्तिम नामावली पाएपछि पनि महाधिवेशनका लागि ५३ दिन समय मागेको छ । 

सुझावित समाचार