नारीवादी दृष्टिकोणबाट मिथ्या समाचार केलाउँदा

मिथ्या समाचार वा गलत सूचनाले पुरुष र महिलालाई भिन्न–भिन्न तरिकाले आक्रमण गर्छ

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

अनलाइन संसारले भौतिक संसारका सामाजिक मूल्य–मान्यतालाई अतिरञ्जित गरेर फैलाउँछ । इन्टरनेटमा महिलालाई व्यावसायिक रूपमा कमसल देखाउन र साख गिराउन एवं चुप लगाउन आक्रामक र अपमानजनक ट्रोलिङ गरिन्छ । हालै मुसलमान महिलालाई लिलाम गर्न बनाइएको ‘सुल्ली डिल्स’ एप यस्तो ट्रोलिङको एक उदाहरण हो । महिला, विशेषतः अल्पसंख्यक समुदायका मुखर महिलाको सहभागितालाई सामाजिक यथास्थिति निबिग्रियोस् भन्नेहरूबाट अवरोध गरिन्छ ।

पुरुषहरू पनि अनलाइन ट्रोलिङको सिकार हुन्छन्, यद्यपि ट्रोलिङ पुरुष र महिलाबीच निकै फरक हुन्छ । मिथ्या समाचार वा गलत सूचनाले पुरुष र महिलालाई भिन्न–भिन्न तरिकाले आक्रमण गर्छ । तर, इन्टरनेट प्रयोगकर्तामा लैंगिक असमानता अत्यधिक रहेको भारतजस्तो मुलुकमा यस्तो भिन्नता अस्वाभाविक भने होइन ।    
उदाहरण– कांग्रेस नेताद्वय सोनिया गान्धी र राहुल गान्धीको सामाजिक–आर्थिक एवं राजनीतिक हैसियत मोटामोटी एउटै छ । दुवै नेता मिथ्या समाचारका सिकार छन् । राहुल गान्धीको बौद्धिकतालाई परिहास गर्ने उद्देश्यले उनलाई ‘पप्पु’ भनेर ट्रोलिङ गरिन्छ । तिनै राहुलकी आमालाई भने राहुललाई झैँ निसाना बनाइँदैन ।

सोनियाको तस्बिरलाई बिकिनी लगाएकी कुनै हलिउड अभिनेत्रीको तस्बिरमा अनुहार टाँसिन्छ वा कुनै पुरुषको काखमा बसेको तस्बिर बनाएर ‘चरित्रहीन’ देखाउने प्रयास गरिन्छ । श्रीमती गान्धीको शक्ति र सामाजिक हैसियतका बाबजुद पनि उनी भद्दा मिथ्या सूचनाबाट जोगिन सकेकी छैनन् । एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनअनुसार अघिल्लो वर्ष मार्चदेखि मेसम्म ट्विटरमा सात सय २४ नेतामध्ये पन्चानब्बे महिला नेताले करिब दश लाख घृणायुक्त मेन्सन भोगे, जहाँ पाँचमध्ये एक मेन्सन लिंगभेदी वा स्त्रीद्वेषी थियो ।  

यी मिथ्या समाचारमा अन्य किसिमका दुव्र्यवहारझैँ अन्तरसम्बद्ध चुनौती धेरै छन् । अभिनेता स्वरा भाष्कर सम्भवतः सबैभन्दा घटिया लिंगभेदी ट्रोलको सिकार हुन्छिन् भने अभियन्ता सफुरा जरगर मुसलमान भएका कारण थप प्रताडित हुन्छिन् । नागरिकता कानुनविरुद्ध प्रदर्शन गरेका कारण गिरफ्तार भएकी जरगरका नाममा सामाजिक सञ्जालमा यौनजन्य मिथ्या पोर्नोग्राफिक भिडियोको प्रचार गरियो ।  

अघिल्लो वर्ष मार्चदेखि मेसम्म ट्विटरमा सात सय २४ नेतामध्ये ९५ महिला नेताले करिब दश लाख घृणायुक्त मेन्सन भोगे, जहाँ पाँचमध्ये एक मेन्सन लिंगभेदी वा स्त्रीद्वेषी थियो 

इन्टरनेट दुव्र्यवहारका व्यापकताका कारण महिलालाई गालीगलोज एवं दुव्र्यवहार गर्नेहरूलाई वास्ता नगर्न वा ब्लक गर्न सुझाइन्छ । सधैँझैँ पुरुषलाई मर्यादित हुनुभन्दा महिलालाई सावधान भएको हेर्न खोजिन्छ । घृणा जनाउने शीर्षकमा साझा गरिएका नग्न तस्बिरलाई ट्विटरजस्ता ठूला सामाजिक सञ्जालले पत्ता लगाएर हटाउन नसक्ने होइन, तर ट्विटरको उदासीनता हेर्न नसकिने खालको छ । हामी पनि घृणा र पोर्नोग्राफिक सामग्रीको फैलावट रोक्न असफल ट्विटरलाई कहिल्यै प्रश्न गर्दैनौँ । 

मिथ्या समाचारको लैंगिकीकरणले पनि नारीवादको बहसमा ठाउँ पाउनुपर्छ । इन्टरनेट र डिजिटल माध्यमले लोकतन्त्रलाई प्रभाव पार्न थालेदेखि विश्वमा व्यापक परिवर्तन देख्न सकिन्छ । तर, महिलाले ती माध्यममा आफ्ना विचार खुलेर राख्न पाइराखेका छैनन् । महिलालाई लिंगभेद वा भनौँ लैंगिक हिंसाका धम्कीबाट चुप लगाउने काम भइरहेको छ । अन्तरधार्मिक विवाहको पैरवी गर्दा बलात्कारको धम्की भोगेकी जवाहरलाल नेहरू विश्वविद्यालयकी विद्यार्थी नेता सेहला रसिदले फेसबुक बन्दै गर्नुप¥यो ।

पत्रकार राणा आयुबलाई पनि थुप्रैपटक ट्विटरमा बलात्कारका धम्की आइरहेका हुन्छन् । ‘सेयरिङ इज केयरिङ’ फेसबुक पेज चलाइरहेकी म आफैँ लिंगभेदी हमलाको सिकार हुन पुगेकी छु । एकातर्फ महिला भएकै कारण महिला यौन हिंसाको तारो बनिरहेका छन् भने केही पुरुष महिलाको छद्मनाम र छद्म तस्बिर प्रयोग गरेर धेरैको ध्यान आफूतिर खिच्न उद्यत रहेका देखिन्छन् । भारतको मिथ्या समाचार प्रणालीको केन्द्रमा पुरुष छन् ।

पुरुषका लागि पुरुषले बनाएको मिथ्या समाचार प्रणाली छ । उसो त महिलाले पनि झुटा समाचार साझा नगर्ने होइनन्, तर यस्ता समाचार फैलाउनमा पुरुषहरू नै अगाडि हुन्छन्, कारण स्वाभाविक छ, इन्टरनेटमा महिला प्रयोगकर्ताको तुलनामा पुरुषको संख्या करिब दुई गुणा बढी छ । यो तथ्य हेर्दा ‘महिला कुरा काट्छन् भन्ने भाष्य रुढिबद्ध धारणा (स्टेरियोटाइप) हो भन्ने प्रमाणित हुन्छ । ठूलो परिदृश्यमा हेर्ने हो भने यी मिथ्या समाचारले मुख्यतः पुरुषलाई राजनीतिमा लाभ पुर्याएको देखिन्छ किनभने उनीहरू आफ्नो राजनीति प्रोपगान्डामै सुरक्षित देख्छन् । मिथ्या समाचार र लिंगभेद एकअर्कासँग परस्पर रूपमा निर्भर छन् । मिथ्या समाचार मुखर महिलाको साख गिराउन लिंगभेदमा आश्रित हुन्छ भने लिंगभेद मिथ्या समाचारलाई पितृसत्तात्मक मूल्य–मान्यतालाई जीवित राख्न प्रयोग गर्छ । 

(चौधरी मिथ्या समाचार खण्डन गर्ने अल्ट न्युजकी वरिष्ठ सम्पादक हुन्) द हिन्दूबाट

सुझावित समाचार