ज्योति आत्महत्या प्रकरण, केटापक्षविरुद्ध मुद्दा दायर

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी सप्तरीको सुरुंगा नगरपालिका–७ पोखरियाकी १९ वर्षीया ज्योति पासवानका आफन्तले केटापक्षविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ज्योतिका बाबु प्रमोद पासवानले कृष्ण मिश्रविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कडोरबोनामा आत्महत्या दुरुत्साहन, जातीय छुवाछूत र जबर्जस्तीकरणी मुद्दा दर्ता गराएका हुन् ।

दलित अगुुवा दीपेन्द्र पासवानले केटापक्षविरुद्ध आत्महत्या दुरुत्साहन, जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ र जबर्जस्तीकरणी मुद्दामा कारबाही गर्न उजुरी दिइएको बताए । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाइसकेका छौँ ।’

घरपरिवारलाई थाहै नदिई ज्योतिले कृष्ण झासँग प्रेम विवाह गरेकी थिइन् । गत ९ जेठमा ज्योतिलाई पति झाले गेस्ट हाउसमा छाडेर भागेका थिए । दुुई महिनासम्म पनि पति फर्केर नआएपछि गत शनिबार उनले घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । सँगै मर्ने र बाँच्ने कसम खाएर विवाह गरेको पतिले धोका दिएपछि उनी विक्षिप्त बनेकी थिइन् । 

सुझावित समाचार