करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

एक करोड माग, १३ लाख १० हजार ठगी

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेका एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १८ सराङकोट बस्ने  ४९ वर्षीय भोजराज त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

१९ फागुन ०७७ मा जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ एक करोड रकम दिए मिलाइदिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी झुटो आश्वासन दिलाई त्रिपाठीले ठगी गरेको हमालको भनाइ छ ।

त्रिपाठीलाई पीडकबाट १२ लाखको चेक र एक लाख १० हजार नगद लिई ठगी गरेको कसुरमा पक्राउ गरिएको हो । प्रहरी टोलीले सोही मुद्दामा पोखरा– १७ राष्ट्र बैंक चोकस्थित एक खाजाघरबाट सूर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा सो घटनामा संलग्न रहेका त्रिपाठी भने हालसम्म फरार रहेका थिए । फरार रहेका त्रिपाठीलाई बुधबार प्रहरीले पोखरा १८ सराङकाेटबाट पक्राउ गरेको हो ।

त्रिपाठीलाई बुधबारै कास्की जिल्ला अदालतमा बुझाइएको हमालले जानकारी दिए । त्रिपाठीका  विरुद्ध ठगी र जबर्जस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्दाको अभियोगसमेत रहेको हमालले जानकारी दिए ।
 

See More On

सुझावित समाचार