उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। डोटी जिल्ला, केआइसिंह गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने २६ वर्षीय कुशल भनिने केशवराज भट्टलाई प्रहरीले कलंकी स्युचाटारबाट मंगलबार पक्राउ गरेको हो।
उपराष्ट्रपति कार्यालयको नाम दुरुपयोग गरी भ्रम सिर्जना गरेर व्यक्तिगत फाइदा लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।
भट्टले आफू नेपालको निजामती कर्मचारी भएको र उपराष्ट्रपति कार्यालयमा काम गर्ने भन्दै निजामती कर्मचारीकै ड्रेस लगाएरसमेत हिँड्ने गरेको नेपाल प्रहरीले बताएको छ। भट्टले यसअघि पनि ०७५ चैत २६ गते साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परी एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरेका थिए। यसअघि पनि भट्टले सामाजिक सञ्जालमार्फत चिनजान गरी साथी बनाएर आफू परराष्ट्र मन्त्रालयको सहसचिव हुँ भन्दै ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।