१२ कक्षाको परीक्षादेखि दार्चुला घटनासम्म

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाको शून्य समय


राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका छन्। राष्ट्रिय सभा बुधबारको बैठकमा बोल्दै सांसदहरूले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

शून्य समयमा बोल्दै सांसद विमला राई पौड्यालले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौँ विद्यार्थीको भविष्य चौपट परेको भन्दै शिक्षा र स्वास्थ्यका विज्ञहरू बसेर कक्षा १२ को परीक्षालाई सुचारु गर्ने सम्बन्धमा गृहकार्य गरी परीक्षा सुचारु गराउन सरकारसँग माग गरिन् । उनले भनिन्, ‘१२ कक्षाका विद्यार्थीहरूको परीक्षा स्थगन भएको सूचना गरेको छ नेपाल सरकारले । पोहोर साल नै हुनुपर्ने परीक्षा अहिले पनि स्थगत भएको छ र लाखौँ विद्यार्थीको भविष्य चौपट भइराखेको छ । एकदमै अन्याेलमा छ । कति विद्यार्थीहरू बाहिर पढ्न जाने विद्यार्थीहरू पनि थला परिराखेका छन् । यो विषयमा सरकारले प्रस्ट होमवर्क गरेर विद्यार्थीहरूको भविष्यलाई अन्याेलमा पार्ने काम नगरीकन परीक्षा सुचारु गरोस् भनेर म सरकारसँग अनुरोध गर्न चाहन्छु ।’

त्यस्तै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरूलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। उनले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि जानकारी माग गरिन्।

सांसद शान्तिकुमारी अधिकारी जिसीले बाग्लुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक खण्ड पिच नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै ०७८ सालभित्रै काम सक्ने गरी सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग माग गरिन्।

सांसद शेरबहादुर कुँवरले महाकाली नदीको तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई ड्रोनमार्फत खोज्ने भनिएको भए पनि भारतीय सीमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको भन्दै सरकारले भारत सरकारसँग गरेको पहल सदनलाई जानकारी गराउन माग गरे।

‘सरकारले गठन गरेको छानबिन समिति घटनास्थलबाट फिर्ता भएको, भारतीय सीमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको छ । के यो सत्य हो ? यदि यो सत्य हो भने सरकारले भारत सरकारसँग यो विषयमा के पहल गरेको छ, सदनलाई जानकारी चाहियो,’ उनले भने।

त्यस्तै सांसद सिंहबहादुर विश्वकर्माले रत्नपार्कमा रहेको अस्थायी बसपार्क हटाउँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लाबाट आउने सर्वसाधारणहरू गन्तव्यमा पुग्न नपाई अलपत्र परेका भन्दै यातायात व्यवस्थालाई सरल र शुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद सुमित्राकुमारी बिसीले रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा मनकुमारी खड्काको हत्या भएको दुई हप्ता पुगिसकेको उल्लेख गर्दै यस घटनाको यथार्थ पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिन्। यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले सदनमा जानकारी गराउनुपर्ने पनि उनको माग छ। 

सुझावित समाचार