नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट पाठ सिक्नुपर्ने बताएका छन् । जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन, मैले जे गरे पनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको उनको भनाइ थियो। संविधान र कानुनभन्दा माथि कोही नहुने उनले प्रस्ट पारे।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीभित्र बढेको अहंताले राष्ट्रिय राजनीतिको रूप नै फेरेको उनले बताए। ओलीमा भनाइ र गराइ फरक रहेको सिंहको भनाइ थियो। समयको माग र जनताको चाहनाअनुसार अगाडि बढ्न नसेके सबैको अवस्था ओली सरकारकै जस्तो हुने सिंहले बताए। उनले जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने धारणा राखे । नागरिकमा देखिएको निराशालाई चिर्ने गरी काम गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।