अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका, तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका दुई सय ३८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । ०६६ सालदेखि अदालतबाट सजाय फैसला भएको मुद्दाका अभियुक्तहरूलाई एक महिनाको अवधिमा प्रहरीले दुई सय ३८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार प्रहरी टोलीले साउन १ गतेदेखि फरार अभियुक्त पक्राउको अभियान चलाएको थियो । आपराधिक घटनामा संलग्न भई समाजमा निष्फिक्री हिँड्ने प्रवृत्तिविरुद्ध यो अभियान चलाइएको एसपी थापाले बताए । ‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानुनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ एसपी थापाले भने, ‘हामी पुराना फाइलहरू हेर्दै छौँ । दोषी ठहर भएका, तर सजाय नभोगेका अभियुक्तहरूलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौँ ।’
पक्राउ परेका फरार प्रतिवादीहरू कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकिएकाहरू छन् । एसपी थापाले यस्ता अपराधीहरू आफ्नो गाउँटोलमा लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेका छन् ।