तुलसीपुर बसपार्कका पीडित भन्छन्, ‘घर त फालियो–फालियो, व्यवसाय गर्न राखेका ढेब्लीमा पनि डोजर लगाइयो’

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

बजार अव्यवस्थित भएको भन्दै ०७६ जेठमा तुलसीपुर बसपार्कमा १७ घर भत्काइयो । सडक विस्तारका लागि भन्दै दाङ–सुर्खेत सडकखण्डको घोराही रोडदेखि बसपार्क आसपासमा सडक मापदण्डभन्दा बाहिर रहेका सबै घर भत्काउने  सहमतिअनुसार ती घर भत्काइएको भए पनि अहिलेसम्म अन्य घर नभत्काइएको पीडितहरूले गुनासो छ । ‘सडक साँघुरो भएकाले व्यवस्थित र फराकिलो सडक बनाउने भन्दै हाम्रो दुई–तीन तलाका घर हटाइयो, तर हाम्रोभन्दा अरूका घर फालिएन,’ पीडित धनबहादुर बुढाले भने । 

सडकका घर भत्काउने सन्दर्भमा कुरा नमिलेपछि अहिले हात्तीखौवादेखि वीरेन्द्रचोकसम्म विस्तार गर्ने भनेको चार लेन घोराही रोडमै सीमित गरिएको भन्दै कसैलाई काखा र कसैलाई पाखा गरेको उनको गुनासो छ । दाङ–सुर्खेत सडकखण्डअन्तर्गत घोराही रोडचोकदेखि बसपार्कसम्म धेरै घरहरू सडक मिचेर बनाएको भए पनि कसैका घर पनि भत्काउन आँट नगरेको अर्का पीडित  तेजबहादुर विकले बताए ।

त्यतिवेला बसपार्क पिपलबोटा ओरालोका १७ जनाको घर भत्काएको भए पनि १० जनाले घर भत्काएर बाँकी रहेको जग्गामा अर्को नयाँ घर निर्माण गरे । उनीहरू त्यहीमा ‘सेटल्ड’ भइसकेका छन् । बाँकी सातजनामध्ये अन्य दुईजना त्यहाँबाट विस्थापित भइसकेका छन् भने पाँचजना अलपत्र अवस्थामा छन् । धनबहादुर बुढा क्षेत्री, पथबहादुर बुढाथोकी, कमल साहु, तेजबहादुर विक र कर्णबहादुर डाँगी त्यहाँका पीडित व्यवसायी हुन् । उनीहरूले पहिले आफ्नै घरमा व्यवसाय गरेका थिए । अहिले घर फालेपछि व्यवसाय गर्ने ठाउँ पनि नभएको बताउँछन्  । उनीहरूको व्यवसाय चौपट छ । सामानहरू घरभित्र थन्क्याउनुपर्ने अवस्था रहेको छ । 

घर भत्काउने क्रममा घरबारविहीन भएकाहरूलाई बसोवासका लागि व्यवस्था मिलाउने तथा व्यसायीहरूका लागि उचित स्थानमा व्यवसाय गर्न दिने सम्झौता भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नभएको भन्दै पीडितहरू आक्रोशित भएका छन् । ‘हामी पाँचैजना व्यवसायी हौँ, हामीलाई उचित व्यवसाय गर्ने व्यवस्था मिलाउने सहमति भएको हो,’ पीडित व्यवसायी पथबहादुर बुढाथोकीले भने, ‘तर, हाम्रा घर भत्काएको २६ महिना बित्यो, हामीलाई उद्धार गर्ने विषयमा कुनै चासो दिइएको छैन ।’  

व्यवसाय ठप्प भएपछि केही दिनअघि आफूहरूले तुलसीपुर बसपार्कको खाली ठाउँमा ठेब्ली राखेर व्यवसाय गर्न सुरु गरेको भए पनि उपमहानगरपालिकाको डोजर आएर फालिदिएको गुनासो पनि उनीहरूको छ । ‘हामी पाँचजनाले पाँचवटा ढेब्ली राखेका थियौँ, एउटा ढेब्ली बनाउन डेढ लाख लगानी भएको छ, तर त्यो पनि फालिदियो,’ पीडित कमल साहुले भने, ‘नजिकै उपमहानगरपालिकाले कोसेली घर बनाएको छ । त्यो कोसेली घरले सडकलाई कुनै अवरोध नहुने, त्योभन्दा पछाडि राखेका हाम्रा ठेलाहरूले सडकलाई असर गर्ने पनि हुन्छ र ?’ त्यो कोसेली घरमा राख्न पनि उनीहरूले माग गरेका थिए, तर आफूहरूलाई थाहै नदिएर कोसेली घरमा अरू व्यवसायी राखेकोसमेत उनीहरूको गुनासो थियो । 

सुझावित समाचार