बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीको समस्या समाधानका पहल गरिदिन नेप्लिज स्टुडेन्ट एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ । कोरोना महामारीको समयमा अध्ययनका लागि फर्किंदा होस्टेलमै क्वारेन्टिन बस्ने व्यवस्था मिलाइदिन, विद्यार्थीलाई भ्याक्सिनको व्यवस्था गरिदिन, भिसा एक्सटेन्सनजस्ता विषयमा शनिबार प्रधानमन्त्री देउवालाई सातबुँदे ध्यानाकर्षणपत्र बुझाएको एसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।
महामारीको समयमा पनि विदेशी कलेजले नेपाली विद्यार्थीलाई परीक्षा तथा इन्टर्नसिपका लागि बोलाइरहेको र भ्याक्सिन लगाएर २४ घन्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट लिएर गएका पनि अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने अवस्था रहेकाले सम्बन्धित कलेजकै होस्टेलमा क्वारेन्टिनको व्यवस्थापनका लागि पहल गरिदिन उनीहरूले नेपाल सरकारसँग माग गरेका छन् । भ्याक्सिन लगाउन नपाएका तथा बंगलादेशमै रहेका नेपाली विद्यार्थीलाई यथाशीघ्र भ्याक्सिनको व्यवस्थापनका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका छन् ।