नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताएका छन्।
शुक्रबार साँझ १४औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गर्दै बालुवाटार पुगेका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन्। ‘म सबै साथीहरूसँग सल्लाह गरेर मात्रै निर्णय लिन्छु। केन्द्रीय समितिको बैठक पनि बोलाएको छु। त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु,’ देउवाले भनेको उदृत गर्दै एक नेताले भने। देउवाले कोभिड–१९ को महामारीसमेत झन् झन् बढिरहेको अवस्था रहेकाले सबै कुरालाई ध्यान राख्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए।
भेटमा नेताहरूले पार्टी महाधिवेशन टार्ने उद्देश्यले विभिन्न अफवाहहरू फैलिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन्। ‘मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले वेलामा महाधिवेशन नगर्ने कुरा उपयुक्त होइन। पार्टीको विधान र संविधानले दिएको सुविधासमेत उपयोग भइसकेको छ, अब महाधिवेशनलाई सुनिश्चित गर्नुहोला,’ युवा नेताहरूले देउवालाई आग्रह गरेका थिए।
देउवालाई भेटेर औपचारिक बधाईसहित महाधिवेशनबारे ध्यानाकर्षण गराउन केन्द्रीय सदस्यहरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त र सरिता प्रसाईं बालुवाटार पुगेका थिए। नेताहरूबीच करिब डेढ घन्टा छलफल भएको थियो।
भेटमा युवा नेताहरूले चारपटक प्रधानमन्त्री हुँदाको अनुभवलाई आधार मानेर सच्चिएर अघि बढ्ने मौकाको सदुपयोग गर्न सुझाब दिएका छन्। ‘तपाईं चारपटक प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति हो। सबै कुरा थाहै छ। त्यसैले यो अवसरलाई उपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,’ देउवालाई भनेको सुनाउँदै एक केन्द्रीय सदस्यले भने।
नेताहरूले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको भन्दै यो सरकारले गरेका राम्रा–नराम्रा कामको जसकै आधारमा पार्टीको साख र आगामी निर्वाचनको परिणाम जोडिएको आउने बताएका थिए।
‘तीन वर्षसम्म ओली नेतृत्वको सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन। जनतामाझ व्यापक निराशा छाएको छ। यस्तो वेला हामीले संवेदनशील भएर काम गर्न र ओलीभन्दा फरक हौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ,’ ती नेताले सुझाब दिएको भन्दै सुनाए।