खोपको मिति सकिएर काम नलाग्ने हुन आँटेपछि पश्चिमा मुलुकले गरिब मुलुकलाई दान दिनुको पछाडि असल नियत पक्कै छैन
गत वर्ष माइक्रोसफ्टका संस्थापक एवं अमेरिकी धनाढ्य परोपकारी बिल गेट्सले कोभिड–१९ का कारण अफ्रिकाको स्वास्थ्य व्यवस्था धराशयी हुने र एक करोड अफ्रिकी मारिने टिप्पणी गरेका थिए । उनको अफ्रिकी लाचारी झल्काउने नश्लीय स्टेरियोटाइप (रुढिबद्ध धारणा) को चर्को आलोचना भयो । यसै सन्दर्भमा महामारीले अफ्रिका कम प्रभावित भएको देखिँदा पश्चिमा मिडिया अफ्रिकी जनता अमेरिकी वा युरोपेलीझैँ कोभिड–१९ ले किन मारिएनन् भनेर चकित भएको स्पष्टै देखिन्थ्यो । यद्यपि, हालका दिनमा भने कोभिड–१९ का कारण अफ्रिकीको मृत्यु बढिरहेको देखिन्छ र धेरै अफ्रिकीका लागि खोप मृगतृष्णा बनिरहेको छ । अफ्रिका कमजोर र लाचार मुलुक हो भन्ने रुढिबद्ध धारणा फेरि सतहमा आइरहेको छ । यसपटक केही अफ्रिकी आफैँ लाचारीको कथा बेचिरहेका छन् । ‘अफ्रिकामा धेरै मानिसको कोभिड–१९ का कारण मृत्यु भइसक्यो’ र ‘धनी विश्वले सहयोग गर्नैपर्छ नभए अफ्रिकी मुलुक ध्वस्त हुनेछन्’ भनेर साता दिनअगाडि नेसनल पब्लिक हेल्थ इन्स्टिच्युट अफ लाइबेरियाका प्राविधिक सेवाका उपनिर्देशक डा. मोसोका फल्लाहले नेचरमा लेख नै लेखे ।
निश्चय नै अफ्रिकाले कठिन समय व्यहोर्नुपर्ने देखिन्छ र त्यसको सामना गर्न पूरै महादेश तयार देखिँदैन । अफ्रिकामा एक प्रतिशतभन्दा थोरै बढीले खोप लगाएको अवस्था छ । आइसियू बेड तथा अक्सिजन प्लान्टको कमी छ । गम्भीर बिमारीका कारण हुने मृत्युमा वैश्विक औसतभन्दा बढी मृत्युदर भएकाले सिंगो महादेश नै एक जटिल समस्याको भुमरीमा पर्ने देखिन्छ । यद्यपि चरम नैराश्यको अवस्था आइसकेको भने छैन । गम्भीर रोग, अस्पताल भर्ना र मृत्यु रोक्न खोप निःसन्देह सबैभन्दा उपयुक्त उपाय हो । तथापि, धनी पश्चिमाको अनुभव हेर्ने हो भने खोप पनि रामवाण होइन । यदि यिनै खोप पनि वैश्विकस्तरमा सबैले लाउन पाउँदैनन् भने रोगसँग लड्नलाई लागू हुने मास्क वा सामाजिक दूरीका उपायलाई खोपले विस्थापन गर्न सक्नेछैन ।
अफ्रिकी महादेशका मुलुकसँग खोप नभए पनि आफ्ना जनताको रक्षा गर्ने सामथ्र्य छ । उनीहरू लाचार वा गोराहरूले रक्षा गरिदिनुपर्ने दयाका पात्र पक्कै छैनन् ।
युनिभर्सिटी अफ मेनचेस्टरका डा. जेम्स रिजनले १९९० मा कुनै पनि दुर्घटनाको कारणका लागि ‘स्विस चिज मोडल’ ल्याएका थिए । यो मोडलमा सुरक्षा उपायलाई किल्लाको श्रेणीका रूपमा लिइएको छ । यद्यपि यी किल्ला कमजोरीरहित हुँदैनन् वा स्विस चिजका पत्रहरूमाझै ‘छिद्र’हरू हुन्छन् । यी छिद्रका माध्यमबाट हानि हुन सक्छ अर्थात् अफ्रिकामा कोभिड–१९ का सन्दर्भमा भाइरस पस्नुलाई लिन सकिन्छ । यद्यपि, विभिन्न किल्लाका श्रेणी (चिजका काटिएका पत्र) का छिद्रहरू एकअर्कामा खप्टिने सम्भावना कम रहन्छ अर्थात् व्यक्ति भाइरसका चपेटामा नपर्न पनि सक्छ । कोभिड–१९ का मामिलामा खोप चिजको सबैभन्दा अन्त्यको पत्र हो । अन्तिम पत्रबाहेक जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन, हात धुनु, सामाजिक दूरी र मास्क लगाउने पत्रहरू पनि रहेका छन् भनेर बुझ्नुपर्ने हुन्छ । अफ्रिकी महादेशका मुलुकसँग खोप पो छैन तर आफ्ना जनताको रक्षा गर्न समस्याका बाँकी पत्रहरूको व्यवस्थापन गर्ने क्षमता पक्कै छ । अफ्रिकीहरू लाचार वा गोराहरूले रक्षा गरिदिनुपर्ने दयाका पात्र पक्कै छैनन् ।
खोप उपलब्ध गराउने मामिलामा पश्चिमले निकै तल्लो स्तरको व्यवहार देखायो । पश्चिमले खोप लगाउन नखोज्नेका लागि खोपको अनावश्यक भण्डारण ग¥यो भने खोप लगाउन खोज्नेहरूलाई नियतवश दिएन । अघिल्लो साता बेलायतले दिएझैँ खोप दान दिनुको पछाडि असल नियत देखिँदैन । खोपको मिति सकिन आँट्यो र काम नलाग्ने भयो । अनि गरिबलाई दान दिइयो । खोप दानका सन्दर्भमा अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक जोन ङेगासङले ‘खोप दानका रूपमा दिइयो तर प्रयोग भएन’ भन्ने भाष्य सिर्जना गराउन खोजिएको टिप्पणी गरेका छन् । यस सन्दर्भमा वरिष्ठ पत्रकार हवार्ड फ्रेन्चले खोपसम्बन्धीको पश्चिमी उदासीनता निकै भयानक रहेको भनेर टिप्पणी गरे । उनले जी–७ ले करिब सात अर्ब जनसंख्या भएको ‘विकासशील मुलुक’लाई दिने भनिएको एक अर्ब खोपलाई हात्तीको मुखमा जिराजस्तो भनेर आलोचना गरेका छन् ।
केन्याका लेखक, राजनीतिक विश्लेषक एवं अभियन्ता नन्जला न्याबोलाले पश्चिमाले निर्माण गरेको ‘गतिशील परनिर्भरता’ले अफ्रिकी मुलुकलाई न्यायपूर्ण मूल्यमा खोप खरिद गर्नबाट वञ्चित गराइरहेको बताएका छन् । त्यति मात्रै होइन, परनिर्भरता प्रवर्धन नीतिले व्यापारसँग जोडिने बौद्धिक सम्पत्तिको अधिकारमा छुट दिइरहेको छैन अर्थात् विकसित भनिएका मुलुकले मात्रै खोप उत्पादन गर्न सकून् भन्ने नियत प्रस्टै देखिन्छ । हामीले कोभिड–१९ विरुद्धको लडाइँमा अफ्रिकी सरकारलाई नै जवाफदेही बनाउनुपर्छ । सारा महादेशभरिका मुलुकले कोभिड–१९ नियन्त्रणका लागि माथिदेखि तलका जनतालाई अलग्याउने पुलिस राज्यको रणनीति त्याग्नुपर्छ र स्वास्थ्यकर्मीलाई युद्धस्तरमा परिचालन गर्नुपर्छ । माथि भनिएझैँ खोपबाहेकका ‘चिजका पत्रहरूको’ व्यवस्थापन गर्न सके पनि कोभिड–१९ सँग लड्न सकिन्छ । खोप नश्लभेदका बाबजुद अफ्रिका पश्चिमाको ‘नैराश्यको महादेश’ काल्पनिकी होइन । दानको सट्टा अफ्रिकी जनता र सरकार अन्य उपायका माध्यमबाट ठूलो जनधनको क्षति कम गर्न सक्षम छन् ।
(गथारा नैरोबीका लेखक एवं राजनीतिक कार्टुनिस्ट हुन्)
अलजजिराबाट