महिला स्वतन्त्रताको विषयान्तर

अग्रलेख

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

युवापुस्ता र सतहमा हुने बहसले महिला स्वतन्त्रतालाई यौनिक र व्यक्ति स्वतन्त्रतामा सीमित गर्न खोजिरहेको छ

चलचित्र अभिनेत्री प्रियंका कार्कीको गर्भावस्था र उनले गरेको फोटो ‘स्टन्ट’ले सामाजिक सञ्जाल हप्तौँ ततायो । ट्विटरको बहसमा डा. बाबुराम भट्टराई सहभागी भएपछि महिला स्वतन्त्रता के हो र के होइन भन्ने प्रश्नमा बहस थप केही दिन तन्कियो । प्रियंकाको अर्धनग्न पेटसहितको फोटो सुटलाई मातृत्वको उन्नत प्रस्तुति भन्दै भट्टराईले ‘यति गर्न आममान्छेले महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना होइनन्, आफ्नै सन्तानका सृष्टिका स्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना राख्न र युगौँदेखिका पितृसत्तात्मक/स्त्रीद्वेषी/रुढिवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस हुनुपर्छ,’ भनेर खुलेर प्रशंसा गर्न भ्याए । भट्टराईको ट्विटमाथि ‘तिम्रा छोरीले पनि यस्तै गर्न सक्छन् ?’ भन्ने कडा प्रश्न आएपछि भट्टराईपुत्री मानुषीले एक कदम अगाडि बढेर श्रीमान्सहित आफ्नो गर्भावस्थाकोे पुरानो फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखिन्– ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जुठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुसियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रुढिवादी । मेरो सुन्दर कार्य हेर्नु अब ।’ 

मानुषीको गर्भावस्थासहितको तस्बिर सामान्य छ । उनको नांगो पेटसहितको तस्बिर भद्दा देखिँदैन । किनकि उनलाई तस्बिर खिचाउँदा ग्ल्यामरस र विज्ञापनमुखी बनाउनु थिएन । वर्तमान समयका नेतापुत्रीमध्ये राजनीतिक क्षेत्रमा अध्ययनशील युवानेताको व्यक्तित्व बनाएकी मानुषीले प्रियंकाको गर्भावस्थालाई विज्ञापनको माध्यम बनाउनुलाई सतही रूपमा विश्लेषण गरेर महिलाको स्वतन्त्रता जस्तो गम्भीर विषयान्तर गर्न सहयोग पु¥याइन् । सामाजिक र राजनीतिक विषयमा सशक्त कलम चलाउँदै आएका राजेन्द्र महर्जनले प्रियंकाको अर्धनग्न तस्बिरले सिर्जना गरेको नकारात्मक बहसलाई आफ्नो स्तम्भको विषय बनाउन भ्याए । ‘नायिकाको पेट र राष्ट्रपतिको हाँसो’ शीर्षकको लेखमार्फत दिन खोजिएको सन्देश मेल नखाएझैँ लाग्छ । 

वर्तमान राजनीतिमा एक कठपुतली पात्र राष्ट्रपति विद्यादेवी भण्डारी र सिनेक्षेत्रकी व्यावसायिक कलाकार प्रियंका कार्कीको गर्भावस्थाको ‘ग्ल्यामर’ प्रदर्शनको विषयले छेउटुप्पो मेल खाँदैन । हामी विकृत पुँजीवादी व्यवस्थाद्वारा शासित समाजमा छौँ । राम्री बन्ने अनुहार र नांगिने शरीर महिलाकै हुनुपर्ने ‘स्टेरियोटाइप’ बुझाइ र व्यवहार स्थापित छ । ‘मेरो शरीर मेरो अधिकार’को नाउँमा फेरि पनि सस्तो बजारीकरणमा महिलाकै शरीर बिकाउ हुन्छन् र प्रदर्शन गरिन्छन् । महिलाले त्यसो गरेबापत करोडौँ मुनाफा कमाउने फेरि पनि बढीमा पुरुष र बहुराष्ट्रिय कम्पनी नै बन्न पुग्छन् । आफैँले आफ्नो स्वतन्त्रताको उपभोग गर्नु र अवधारणा नै बनाएर महिलालाई सुन्दर र कुरूप भनेर घोषणा गरिदिने विषय आफैँमा विरोधाभासपूर्ण छ । 

‘सेलिब्रेटी’को निजी क्रियाकलापमाथि महिलामुक्तिको लेपन  
पश्चिमा मुलुकमा ‘सेलिब्रेटी’हरूले पूरै निर्वस्त्र भएर पनि गर्भावस्थाको प्रचार (विज्ञापन) गरेको भेटिन्छ । प्रियंका ‘ग्ल्यामर’ क्षेत्रकै भएकाले आफ्नो उद्देश्यअनुरूप नै ‘पब्लिसिटी’का लागि गर्भावस्थालाई प्रस्तुत गरेको प्रस्ट छ । तर, उनको अर्धनग्न फोटो प्रदर्शनलाई क्रान्तिकारी र महिला स्वतन्त्रताको अब्बल प्रयासको लेपन लगाउँदै धेरैले अनुमानका आधारमा पुरातनवादी समाजलाई दिएको चुनौती, महिलाको प्रजनन अधिकारको प्रत्याभूति भन्दै जायज भएको तर्क दिन तँछाडमछाड गरे । तर, स्वयं प्रियंकाले चाहिँ ‘आफ्नो खुसीका लागि त्यसो गरेको र यस प्रदर्शनीले आफूलाई फाइदै फाइदा भएको’ बताएकी छिन् । हाम्रामा गर्भावस्थासम्बन्धी हरकुराको जानकारी उपलब्ध हुन नसक्ने भएकाले पश्चिमा सूचना संग्रह गर्दै तदनुरूप चल्ने गरेको विचारसमेत उनले व्यक्त गरेकी छिन् । विडम्बना प्रियंकाको सोच, उनको कार्यक्षेत्र, उनको आर्थिक क्षमता अनि सबैभन्दा ठूलो कुरा भनेको उनको नितान्त व्यक्तिगत क्रियाकलापलाई नेपाली महिलामुक्तिको विषयसँग जोडेर हामी (समाजवादी महिलामुक्तिको कुरा गर्नेहरू) ले पनि ठूलै बहस गरिरहेका छौँ । 

महिला स्वतन्त्रताको अथक इतिहास : जब मानिस कृषि कर्म (सिकार गर्ने र जम्मा गर्ने) अघिको युगमा थिए, स्वाभाविक रूपमा मानिस पनि जनावरझैँ आफ्नो शरीर ढाक्दैनथे । महिलाहरू एउटै पुरुषका स्वामित्वमा बस्नुपर्ने बाध्यता पनि थिएन । मानिस आफ्नो विवेकबाट वर्तमान समयसम्म अनेक आविष्कार र प्रगति गर्दै अगाडि बढ्दै छ । आदिम मानव विकासलाई हेर्ने हो भने त हामीले कपडा लगाएका या नलगाएका मानिसहरू देखेर धारणा बनाउनु आवश्यक नै छैन । तर, मान्छेले आफ्नो विकास र सभ्यताको निर्माण आफैँले गरेको छ । हाम्रा आवाजहरू यिनै बेथितिसँग सम्बन्धित हुनुपर्नेमा हामी यही पितृसत्तावादी समाजले देखाएका कतिपय प्रदर्शनमुखी विषयलाई महिलामुक्ति भनेर त्यसैमा केन्द्रित हुँदै मच्ची–मच्ची बोलिरहेका छौँ ।  

विकृत पुँजीवादी व्यवस्थाद्वारा शासित समाजमा राम्री बन्ने अनुहार र नांगिने शरीर महिलाकै हुनुपर्ने ‘स्टेरियोटाइप’ बुझाइ र व्यवहार स्थापित छ । ‘मेरो शरीर मेरो अधिकार’को नाउँमा फेरि पनि सस्तो बजारीकरणमा महिलाकै शरीर बिकाउ हुन्छन् र प्रदर्शन गरिन्छन् ।

पछिल्लो समय नेपाली समाजमा महिलाका आर्थिक, सामाजिक र राजनीतिक समस्या झन्–झन् जटिल बन्दै गएका छन् । दैनिक सातभन्दा बढी महिला–किशोरी बलात्कारजन्य हिंसाबाट प्रताडित भइरहेका छन् । किशोरी र महिलामाथि यौनजन्य हिंसा र विभेद हुनुमा उच्छृङ्खल साहित्य र सिनेक्षेत्रमा महिलामाथि गरिने अश्लील र मनोरञ्जनात्मक प्रस्तुतिले पनि काम गरेको छ । मातृमृत्यु दर बढ्नु र दिनदिनै बलात्कारजन्य घटनाले समाजलाई शोकाकुल पार्नुमा राज्यको पितृसत्तात्मक अवधारणा र संरचना त मुख्य जिम्मेवार छँदै छ, साथमा सिनेमामा नायिकाहरूको अर्धनग्न र उच्छृङ्खल संवाद र प्रस्तुतिले पनि महिला हिंसा तथा बलात्कारजन्य अपराधमा परोक्ष भूमिका खेलेकै छ । त्यस्ता भद्दा र अश्लील प्रस्तुति गरेबापत लगानीकर्ताले मोटो रकम कुम्ल्याउँछन् र अभिनेत्रीले पनि राम्रै पारिश्रमिक पाउँछन् । तर, समाजमा महिलालाई वस्तुकरण गर्ने अवधारणाले निम्त्याउने विसंगतिको मारमा सबैभन्दा गरिब, दलित महिला र किशोरी पर्न बाध्य हुन्छन् । 

महिलावादकी अगुवा कमला भासिन आफ्नो पुस्तक ‘आखिर यो महिलावाद के हो’ मा भन्छिन्, ‘महिला कुनै छुट्टै प्रजाति होइनन्, त्यसैले प्रत्येक महिलाका लागि न्याय सधैँ एउटै हुन्छ भन्ने छैन । एक मजदुर महिलाका लागि आवश्यक न्याय, एक जमिनदार पुरुषकी श्रीमतीको भन्दा अलग हुन्छ । पुँजीपति वर्गका महिलाका लागि यो पुँजीवादी ढाँचा फाइदाजनक हुन्छ । एक महिला हुनुको नाताले केही अनुभव, केही दुःख एक जस्तै हुन सक्छ । भिन्न–भिन्न र विपरीत वर्गको सदस्य भएका कारण उनीहरूको माग, आवाज र न्यायमा फरक हुन्छ ।’ 

तथ्यांकले देखाएअनुसार नेपालमा कोरोना अवधिको लकडाउनमा मातृमृत्यु दर एक लाखमा २३९ देखिएको छ । दूरदराज र दुर्गम जिल्लामा आफ्नो गर्भावस्थामा एकपटक पनि स्वास्थ्य केन्द्र नपुगीकन प्रसूति हुने महिला लाखौँ छन् । महिलाको गर्भावस्था सामाजिक र मनोवैज्ञानिक रूपमा रोमाञ्चकता, जिज्ञासा र तनावको स्थिति नै हो । सकेसम्म यो अवस्थालाई सहज र खुसियाली बनाउने कुरा स्वाभाविक छ । र, यो विशेष अवस्थामा प्रत्येक नेपाली महिला र अझ त्यसमध्ये गरिब महिलाले पर्याप्त पोषण हेरचाह गर्न पाउनु उसको आधारभूत मानवअधिकारभित्रको कुरा हो । यसलाई परिवार, समाज र राज्यको अभिवाज्य दायित्वभित्र राख्नुपर्छ ।

अन्त्यमा
शिशुको गर्भधारण गर्नु, नौ महिनासम्म गर्भमै पालित, पोषित गर्नु र अन्त्यमा शिशुको जन्म दिनु महिलाको जन्मसिद्ध र प्राकृतिक अधिकार हो । यो प्राकृतिक कार्य मात्र होइन, यो त मानिसको अस्तित्वको बोधसँगै सृष्टिको निरन्तरता पनि हो । त्यसैले हरेक गर्भवती महिलाले आफ््ना गर्भावस्थाबारे जान्नैपर्ने हुन्छ र उनका लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्था सम्बन्धित पक्षले जुटाउनुपर्ने हुन्छ । हरेक पल उनका खुसी व्यक्त हुन पनि पाउनुपर्छ । यसमा कसैको दुईमत नै छैन । यो न कुनै लज्जाबोधको विषय हो, न बढाइचढाइ प्रदर्शन गर्ने विषय नै हो । विडम्बना भन्नुपर्छ, हाम्रो सन्दर्भमा कतिपय वेला महिलाका मूल मुद्दालाई विभिन्न नाममा विषयान्तर गरिन्छन् । कहिले महिला मुद्दा सामाजिक र सांस्कृतिक मात्र हो जस्तो गरेर चित्रित गरिन्छ, कहिले सीमित कोटामा आरक्षण दिनु–लिनुजस्तो मात्र गरेर प्रस्तुत गरिन्छ भने कहिलेकाहीँ महिला मुद्दालाई नितान्त व्यक्तिवादी र सनकको विषयजस्तो गरेर हौवा बनाइन्छ । 

नेपालका मात्र हैनन्, विश्वभरिकै महिलाले स्वतन्त्र र मर्यादित जीवन बाँच्न पाउनु उनीहरूको पहिलो आवश्यकता हो । तसर्थ, आजको दिनमा महिला मुक्तिका प्रश्नहरू के–के हुन् ? विशेषगरी युवापुस्ता र सतहमा हुने बहसले महिला स्वतन्त्रतालाई यौनिक स्वतन्त्रता र व्यक्ति स्वतन्त्रतामा सीमित गर्न खोजिरहेको छ । यौन स्वतन्त्रता पनि महिलाको जीवनको एक महत्वपूर्ण पक्ष त हुँदै हो, तर यसबाहेक देशको राजनीति, आर्थिक र सामाजिक व्यवस्था असल र जिम्मेवार हुँदा मात्र महिलाको गरिमामय जीवन सुनिश्चित हुन सक्छ । 

सुझावित समाचार