अफगानिस्तानमा २५ वर्षमुनिको जनसंख्या ७० प्रतिशतभन्दा बढी छ । आजका युवालाई शिक्षित बनाउनुको अर्थ सीपयुक्त श्रमिक र सम्भावित नेता र सचेत नागरिकको एक पुस्ता निर्माण गर्नु हो । यही नै हो, राजनीतिक स्थिरता र दिगो विकासको सूत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी फौज फिर्ता गर्ने निर्णय गरेका छन् । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकाले फौज पठाएको पहिलो मुलुक हो, अफगानिस्तान । बाइडेनले सोही आक्रमणको २०औँ वर्षगाँठलाई अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने समयसीमा तोकेका छन् । तर, अमेरिकी फौज अनुमान गरेभन्दा तीव्रताका साथ अफगानिस्तान छाडिरहेका छन् । जुलाईको अन्तिमसम्म जम्मा ६०० फौज मात्र अफगानिस्तानमा बाँकी थिए । त्यसबाहेक नेटोका केही सैनिक र हजारौँ निजी कन्ट्र्याक्टर अफगानिस्तानबाट फिर्ती पर्खिरहेका छन् ।
‘अन्त्यहीन युद्ध’को संख्या पाएको अफगानिस्तान युद्धको अन्त्यको पर्खाइमा रहेकाहरूले बाइडेनको निर्णयको स्वागत गरेका छन् । तर, वैदेशिक फौज फर्केपछि तालिबानले अफगान सरकारलाई पराजित गर्ने अनुमान गर्नेहरूले निर्णयको विरोध गरेका छन् । हुन पनि सबै वैदेशिक फौजले देश नछाड्दै हिंसामा उल्लेख्य बढोत्तरी भएको छ । भविष्यमा महिला अधिकार, सरसफाइ र स्वास्थ्य क्षेत्रमा भएको प्रगति उल्टिने जोखिम बढेको छ । यद्यपि, सेनासँग लिनुदिनु नभएको क्षेत्रमा क्षति कम गर्न नसकिने होइन । ‘अमेरिकाको संलग्नता अन्त्य हुँदैमा ‘अन्त्यहीन युद्ध’ अन्त्य हुँदैन,’ अमेरिकी सेनाका भूतपूर्व कमान्डर जनरल डेभिड पेट्रायसको ठम्याइ छ । ‘यसले अमेरिकाको संलग्नता मात्र अन्त्य गर्छ । यो युद्ध झन् भड्किने जोखिम छ,’ पेट्रायसले बताए । क्षेत्रीय प्रतिआतंकवादी अभियान सञ्चालन गर्ने महŒवपूर्ण प्ल्याटफर्म गुमाएको पेट्रायसको पछुतो छ । एक दिन अमेरिकाले यस निर्णयमा पछुतो मान्नुपर्ने अवस्था आउने उनले बताए । बाइडेन प्रशासनका केही मानिस पनि यस्तो डर व्यक्त गर्छन् । तर, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभ्यान भने अफगानिस्तानभित्र भविष्यमा के हुनेछ भनेर बाइडेन प्रशासनले मात्र होइन, कसैले ग्यारेन्टी गर्न नसक्ने बताउँछन् ।
फौज फिर्ता गरिसकेपछि पनि गुप्तचर सूचना संकलन र आक्रमणका लागि ड्रोन, क्रुज मिसाइल तथा जासुसी सफ्टवेयरको प्रयोगलाई निरन्तरता दिने अमेरिकी अधिकारीले बताए । तर, यतिले मात्र अफगानिस्तानमा स्थिरता ल्याउँदैन । झन् दिगो शान्ति तथा समृद्धिको प्रक्रियामा हिँडाउन त निकै कठिन हुन्छ । ‘सफ्ट पावर’ को प्रयोग वृद्धि गर्नु महत्वपूर्ण हुन्छ । अमेरिका र नेटो फौज फर्किए पनि संयुक्त राष्ट्रसंघ अनुदान वितरणका लागि अफगानिस्तानमा रहनेछ । त्यसबाहेक पनि १६० भन्दा बढी मानवीय एजेन्सीहरू पनि अफगानिस्तानमा रहनेछन् ।
अघिल्लो साता अमेरिकी विदेशी मन्त्रालयले अफगानिस्तानभित्र रहेको मानवीय सहयोग क्षेत्रमा संलग्न संस्थाका लागि २२.६ करोड डलर छुट्याएको छ । यीमध्ये धेरैले आन्तरिक रूपमा विस्थापित नागरिकको सहयोग गरिरहेका छन् । सिआइएका अर्का पूर्वनिर्देशक रोबर्ट गेट्स अन्तर्राष्ट्रिय अफगान सहयोग कोषजस्तो निकायले अफगानिस्तानलाई महत्वपूर्ण सहयोग गर्ने मान्छन् । कोषको रकम हासिल गर्न राजनीतिक तथा आर्थिक सुधार गर्नुपर्ने अथवा ‘आधारभूत महिला अधिकारको रक्षा तथा आतंकवाद विरोध’ गर्नुपर्ने सर्त राख्नुपर्ने उनको अर्को सुझाब छ ।
अफगानिस्तानमा २५ वर्षमुनिको जनसंख्या ७० प्रतिशतभन्दा बढी छ । आजका युवालाई शिक्षित बनाउनुको अर्थ सीपयुक्त श्रमिक र सम्भावित नेता र सचेत नागरिकको एक पुस्ता निर्माण गर्नु हो । यही नै हो, राजनीतिक स्थिरता र दिगो विकासको सूत्र ।
एस्ले ज्याक्सन र रह्मतुल्ला अमिन पनि अन्तर्राष्ट्रिय अनुदानलाई महिला तथा युवतीहरूको अधिकार कायम राख्न प्रयोग गर्न सकिने तर्क प्रस्तुत गर्छन् । अन्तर्राष्ट्रिय अनुदानमा सर्त जोडेर भविष्यमा तालिबानले सत्ता हातमा लियो भने पनि विगत दुई दशकमा महिला अधिकार क्षेत्रमा भएका प्रगतिलाई टिकाउन सकिने उनीहरूको विचार छ । अफगानिस्तानको केन्द्र सरकारमा जो आए पनि राष्ट्रिय बजेटको ७५ प्रतिशत रकम विदेशी दाताले सहयोग गर्नुपर्ने स्थिति छ ।
ज्याक्सन र अमिरी शिक्षाको भूमिकालाई पनि जोड दिन्छन् । झन्डै ७० प्रतिशत अफगान जनसंख्या २५ वर्षमुनिका रहेको अवस्थामा आजका युवालाई शिक्षा दिनु भनेको सीपमूलक श्रमिक सिर्जना गर्नु र भावी नेतृत्वमा लगानी गर्नु हो । शिक्षाले सचेत नागरिक तयार गर्न पनि भूमिका खेल्छ, जुन राजनीतिक स्थिरता र टिकाउ आर्थिक विकासको सूत्र हो । विगत २० वर्षको अवधिमा अफगानिस्तानभित्र शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । सन् २००१ पछि विद्यालय शिक्षामाथिको पहुँच दश गुणाले वृद्धि भइसक्यो । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएड)ले अफगान उच्च शिक्षा मन्त्रालयको रिपोर्ट उद्धृत गर्दै भनेको छ, ‘सन् २००१ मा नौ लाख छात्र मात्र विद्यालय भर्ना भएका थिए, जुन संख्या अहिले बढेर ९५ लाख पुगेको छ । यसमा छात्र मात्र नभएर छात्रा पनि छन् । सन् २०२० मा कुल विद्यार्थीमध्ये ३९ प्रतिशत हिस्सा महिलाको थियो ।’ यो प्रगतिमा अन्तर्राष्ट्रिय दाताको उल्लेख्य भूमिका रहेको छ ।
युनिसेफसँग मिलेर काम गर्ने एनजिओहरूले अफगानिस्तानको आधारभूत शिक्षा बलियो बनाउन महत्वपूर्ण योगदान गरेका छन् । युएसएडले केही यस्ता कार्यक्रम ल्याएको छ, जसअन्तर्गत अमेरिकी विश्वविद्यालय र विद्यालयले अफगनिस्तानका शैक्षिक संस्थानको विकासमा सहभागिता जनाउँछन् । दाताको सहयोग रहेको उच्च शिक्षा कार्यक्रम, शैक्षिक तालिम, शैक्षिक प्रमाणीकरण कार्यक्रम र शैक्षिक गुणस्तरसम्बन्धी निर्देशिकाले व्यावसायिक शिक्षणलाई मात्र सहयोग गरेको छैन, अनुसन्धान क्षेत्रलाई पनि प्रोत्साहित गरेको छ ।
तर, अफगानिस्तानमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय सजिलो भने छैन । युनिसेफका अनुसार झन्डै ३७ लाख अफगान बालबालिका अझै विद्यालयबाहिर छन्, जसमध्ये आधा बालिका छन् । कोभिड–१९ महामारी र हिंसाको बढोत्तरीले यसमा थप क्षति पुगेको छ । अमेरिका र नेटो फौज फिर्तीको समयसीमा नजिकिँदै गर्दा हिंसामा भएको बढोत्तरीले शिक्षा क्षेत्रमा विस्तार झन् अत्यावश्यक देखाएको छ । सुरक्षा तथा स्वास्थ्य सन्दर्भलाई ख्याल गर्दा सुदूर साझेदारी शिक्षा अभिवृद्धिले महŒवपूर्ण भूमिका खेल्छ । सौभाग्यवश, यस्तो संयन्त्र भर्चुअल शिक्षण प्ल्याटफर्मको तीव्र विकासमार्फत निर्माण गर्न सकिन्छ ।
दूरसञ्चार हार्डवेयरमाथिको विस्तारित पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अफगानिस्तानको स्थिरता र समृद्धिका लागि शिक्षा महत्वपूर्ण भए पनि शिक्षाले मात्र सबै समस्या समधान गर्दैन । तर, युएसएडकी प्रमुख सामान्था पावरले उनको संस्मरणमा भनेझैँ शिक्षाले असम्भव लक्ष्यलाई पनि यथार्थपरक लक्ष्यमा बदलिदिन्छ । विगत २० वर्षको प्रयासले अफगानिस्तानका बालिका तथा महिलाले यो कुरा आफ्नै जीवनमा भोग्न पाएका छन् । यसको निरन्तरता अन्तर्राष्ट्रिय फौजबाट मात्र सम्भव हुँदैन, त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको साथ महत्वपूर्ण हुन्छ ।