विश्वभर प्राज्ञिक एवं औद्योगिक क्षेत्रहरूमध्ये भौतिकशास्त्रमा लैंगिक असमानता अत्यधिक छ । उदाहरण पेस गर्न गाह्रो छैन । बुर्किनाफासोको सबैभन्दा ठूलो विश्वविद्यालय युनिभर्सिटी अफ वागडुगुमा भौतिकशास्त्रका ९९ प्रतिशत विद्यार्थी पुरुष छन् । जर्मनीमा भौतिकशास्त्रमा २४ प्रतिशत महिलाले विद्यावारिधी गरेका छन् जुन २०१७ मा भन्दा तीन प्रतिशतले बढी हो । एल साल्भाडोरमा २०१७ देखि २०२० सम्म एक महिलाले पनि स्नातकोत्तर पूरा गरेनन् ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्राध्यापक लिसा केवलीका अनुसार व्यावसायिक खगोलशास्त्री महिला एकतिहाइ पुग्न ६० वर्ष लाग्ने अनुमान गर्छिन् । बेलायतको रोयल एस्ट्रोनोमिकल सोसाइटीले अघिल्लो साता प्रकाशित एक सर्वेक्षणको नतिजाअनुसार भौतिकशास्त्र विधाका महिला र यौनिक एवं लैंगिक अल्पसंख्यकहरू पुरुषभन्दा ५० प्रतिशतभन्दा बढी हिंसा र दुव्र्यवहारको जोखिममा छन् । पछिल्ला १२ महिनामा ५० प्रतिशत यौनिक एवं लैंगिक अल्पसंख्यक खगोलशास्त्रीहरू हिंसाको चपेटामा परेका छन् ।
यही महिना इन्टरनेसनल युनियन अफ प्योर एन्ड एप्लाइड फिजिक्सले (आइयुपिएपी) भौतिकशास्त्र विधामा महिलाको भूमिका र भविष्यमा केन्द्रित सातौँ सम्मेलन ग¥यो । अनलाइन माध्यममै भए पनि मेलबर्नबाट सञ्चालित पाँच दिवसीय कार्यक्रममा ५० भन्दा बढी मुलुकका तीन सयभन्दा बढी वैज्ञानिकले सहभागिता जनाएका थिए । हामीले आफ्नो मुलुकको प्रतिकुल अवस्थामा पनि भौतिकशास्त्रमा नेतृत्व लिने र विधाको विकासमा प्रतिबद्धताका साथ लाग्न तयार थुप्रै महिलालाई भेट्यौँ । सम्मेलन हुँदै गर्दा हामीले महिला सहभागिताका लागि गर्नुपर्ने केही प्राथमिकता ठम्यायौँ ।
व्यवधानको अन्त्य : महिलालाई भौतिकशास्त्र अध्ययनको उच्च तहमा प्रवेश गर्नुअघि आउने बाधा–व्यवधानलाई पराजित गर्नु अहिलेको मुख्य प्राथमिकता हो । विधाको उच्च तहमा बाधा–व्यवधान मूलतः दीर्घकालीन रोजगारीको प्रत्याभूति नहुनु र अनुसन्धानमा वरिष्ठ पदमा नपुग्ने आशंकाले सिर्जना गर्छ भन्ने मानिन्छ । यद्यपि, वरिष्ठ पदमा नपुग्ने आशंका एक अनुसन्धानअनुसार सबै महिलामा समान देखिन्न । केवलीको विश्लेषणअनुसार अस्ट्रेलियन खगोलशास्त्रमा १७ प्रतिशत पुरुषका तुलनामा ६२ प्रतिशत महिला उत्तर–विद्यावारिधी र उपप्राध्यापक तहका बीचमा विधा छोड्छन् । त्यसमा पनि २८ प्रतिशत पुरुषका तुलनामा ४८ प्रतिशत महिला उपप्राध्यापक तह नपुगी विधा छोड्छन् । यस्तै, नतिजा बेलायतको रोयल एस्ट्रोनोमिकल सोसाइटीको अध्ययनअनुसार खगोलशास्त्रमा २९ प्रतिशत महिला अध्यापक छन् भने महिला प्राध्यापक निकै कम अर्थात् १२ प्रतिशत मात्रै छन् ।
केही मुलुकमा सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक मूल्य–मान्यताका कारण महिला भौतिकशास्त्रीले थोरै मात्र प्रोत्साहन पाउँछन् । यो विभेद शिक्षाको प्राथमिक तहदेखि नै जरो गाडेर बसेको हुन्छ ।
सशक्तीकरणका लागि व्यावसायिक बनाउने : महिलालाई उद्यमी र व्यावसायिक नेता बनाउने गरी परामर्श गरेर र तालिम दिनु महिला भौतिकशास्त्रीको स्वतन्त्रता, कल्याण र सामाजिक सशक्तीकरणका लागि एक महत्वपूर्ण रणनीति हो । सम्मेलनमा फिलिपिन्सका मपुवा विश्वविद्यालयकी सहप्राध्यापक रिदा गमग भन्छिन्– उद्यमशीलता विकासशील मुलकमा खासै देखिँदैन र त्यहाँ सामाजिक एवं आर्थिक कारणले नवनिर्माण र औद्योगिक साझेदारी हुन पाउँदैन । यस सन्दर्भमा महिला भौतिकशास्त्रीहरूमा उद्यमशीलताको समस्या झन् टड्कारो छ । अर्का सहभागी प्रिटोरिया विश्वविद्यालयका वरिष्ठ भौतिकशास्त्री प्राध्यापक मान्त्से मोचे डायलका अनुसार अधिकांश भौतिकशास्त्रीहरू आफ्नो अनुसन्धान अवधारणालाई व्यवसायमा परिवर्तन गर्न असमर्थ छन् ।
केही मुलुकमा सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक मूल्यमान्यताका कारण महिला भौतिकशास्त्रीलाई थोरै मात्र प्रोत्साहन पाइन्छ । यो विभेद शिक्षाको प्राथमिक तहदेखि नै जरो गाडेर बसेको हुन्छ । नतिजा विश्वविद्यालय तहमा शिक्षित महिला शोधवृत्तिबाट वा नेतृत्वमा पुग्नबाट वञ्चित हुन्छन् । यस सन्दर्भमा आइयुपिएपीको भूमिका महत्वपूर्ण रहन्छ अर्थात् विकासशील मुलुकका भौतिकशास्त्रीलाई वैश्विक सहकर्मीहरूको सञ्जालसँग जोड्नु आवश्यक छ । यसो गर्न आइयुपिएपीले विभेद र आक्रामकतासँग जुध्न क्षेत्रीय शाखामार्फत आचारसंहिताको विकास गर्नुपर्छ ।
अबको बाटो : आन्तरिक रूपमा कैयौँ चुनौतीका बाबजुद प्रगतिका केही चिह्न बाहिर आएका छन् । इरान र भारत यस सन्दर्भमा असाधारण मुलुक हुन् । फिजिक्स सोसाइटी अफ इरानका आजम इराजी जादका अनुसार इरानमा भौतिकशास्त्रका विद्यावारिधीका विद्यार्थी र उच्च शिक्षामा ५५ प्रतिशत महिला छन् । सम्मेलनले बेलायत, अमेरिका, र फ्रान्सको तुलनामा भारतमा स्टेम शिक्षामा महिला अगाडि रहेको देखाएको छ । यद्यपि, विश्वभरि भौतिकशास्त्रमा रहेको लिंगभेद हटाउँदा प्रतिरोध मात्रै होइन, हिंसाकै सम्भावनासमेत देखियो ।
सम्मेलनमा सहभागी यस लेखका लेखकमध्ये (प्रज्वल शास्त्री)ले कोही पनि विधामा नछुटून् भनेर प्रभावशाली र व्यावहारिक सुझाब दिएकी छिन् । लिंगइतर नश्ल, वर्ग, जात र शारीरिक सक्षमताले असुविधा र विशेषाधिकारका जटिलता थपिदिएको छ । वास्तवमा भौतिकशास्त्रले लैंगिक खाडल मात्रै होइन, सबै वञ्चितका लागि लागिपर्नुपर्छ । यसो गर्दा भौतिकशास्त्र अझ गुणस्तरीय र समावेशी भएर उदाउनेछ । यो समावेशिता कक्षाकोठादेखि प्रयोगशाला, सम्मेलन, औद्योगिक सञ्जाल र सार्वजनिक सेवामा देखिनुपर्छ । ठूलो संख्याका प्रतिभाशाली दिमागलाई बहिष्कार, तिरष्कार र चुप लगाउँदा महिला मात्र होइन, सारा मानवताले मूल्य चुकाउनुपर्नेछ ।
(फोली अस्ट्रेलियाज चिफ साइन्टिस्टकी प्रमुख वैज्ञानिक, शास्त्री प्राध्यापक एवं मेडिसन खगोलशास्त्रकी प्राध्यापक हुन्) द कन्भर्सेसनबाट