मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले नयाँ बजेट नकुर्ने

अर्थमन्त्रीको ग्रिन सिग्नलपछि आगामी शुक्रबारसम्म मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नयाँ बजेट नकुर्ने भएको छ । तत्काल नयाँ बजेट आउने सम्भावना नदेखिएकाले चालू आवको मौद्रिक नीति नरोक्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । यही शुक्रबारसम्म मौद्रिक नीति ल्याउने अन्तिम तयारी भइरहेको राष्ट्र बैंक उच्च स्रोतको भनाइ छ । 

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीति असार पहिलो साता नै ल्याउने तयारी गरेको थियो । तर, सरकार परिवर्तन भएपछि मौद्रिक नीति केही पर धकेलियो । नयाँ सरकारले नयाँ बजेट ल्याउने तयारी गरेपछि राष्ट्र बैंकले मौद्रिक नीति रोकेर राखेको थियो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएसँगै नयाँ बजेट तत्काल आइहाल्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशलाई संशोधन गरेर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले बजेटपछि मात्रै मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले ३० असारमा पदभार सम्हालेलगत्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीति पछि सार्न आग्रह गरेका थिए । अर्थमन्त्रीको आग्रहपछि राष्ट्र बैंकले मौद्रिक नीतिका लागि नयाँ बजेट कुरेर बसेको थियो । 

‘मन्त्रिपरिषद् विस्तार नभई बजेट अध्यादेशमाथिको प्रतिस्थापन विधेयक आउने सम्भावना देखिएको छैन र मन्त्रिपरिषद् विस्तार हुनै अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘त्यसैले राष्ट्र बैंकले अब मौद्रिक नीतिका लागि नयाँ बजेट नकुर्ने भएको हो, गभर्नरसाहेबले अर्थमन्त्रीलाई यस विषयमा जानकारी गराइसक्नुभएको छ ।’ 

यअसघि पूर्वगभर्नर, बैंकर, निजी क्षेत्रका प्रतिनिधिलगायतले नयाँ बजेटका लागि मौद्रिक नीति रोक्न नहुने, अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्न नहुने भन्दै चालू आवको मौद्रिक नीति छिटो ल्याउनुपर्ने बताउँदै आएका छन् । अर्थमन्त्रीको दबाबमा मौद्रिक नीति रोकिएको भन्दै अर्थमन्त्री र गभर्नरको समेत आलोचना भएपछि गभर्नरले छिटो मौद्रिक नीति ल्याउनुपर्ने अडान राखेका हुन् ।

 अर्थमन्त्रीको ग्रिन सिग्नल
अर्थमन्त्री र गभर्नरबीच आइतबार भेट भएको थियो । उक्त भेटमा गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउन ढिलाइ गर्न नहुने अर्थमन्त्रीलाई जानकारी गराएका थिए । गभर्नर अधिकारीले नयाँ बजेटमा आएका विषयलाई हरेक तीन महिनामा गरिने मौद्रिक नीतिको समीक्षामार्फत समेट्न सकिनेसमेत जानकारी गराएका थिए । त्यसपछि अर्थमन्त्रीकोे ग्रिन सिग्नल पाएर गभर्नरले आगामी शुक्रबारभित्रै मौद्रिक नीति ल्याउने तयारी थालेका हुन् । अहिले अर्थमन्त्रीको सल्लाहकारका रूपमा काम गरिरहेका डा. सुरेन्द्र उप्रेतीले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले उसले आफूअनुकूल समयमा मौद्रिक नीति ल्याउने बताए । ‘मौद्रिक नीतिमा सरकारको हस्तक्षेप हुन्छजस्तो लाग्दैन, अर्थमन्त्रीले पनि मौद्रिक नीति रोक्नुभएको थिएन र अहिले अब ल्याउनुस् भन्नुभएको पनि होइन,’ उनले भने, ‘अर्थमन्त्री र गभर्नरबीच स्वाभाविक रूपमा भेट र छलफल भइरहन्छ, हिजो पनि भएको थियो, सोही भेटपछि मौद्रिक नीति आउन लाग्यो भन्नेचाहिँ होइन ।’

यस्तो छ मौद्रिक नीति ल्याउने कार्ययोजना
राष्ट्र बैंकले असार अन्तिम सातामै मौद्रिक नीतिलाई अन्तिम रूप दिइसकेको थियो । तर, सरकार परिवर्तन भएर मौद्रिक नीति पछि धकेलियो । अहिलेको सरकारको चाहनाअनुसार अहिले मौद्रिक नीतिमा केही हेरफेर गरिएको छ । त्यसलाई अन्तिम रूप दिने काम मंगलबार–बुधबारसम्ममा सकिनेछ । त्यसपछि सञ्चालक समितिमा लगेर मौद्रिक नीतिलाई अन्तिम रूप दिइने स्रोतले बतायो । 

अर्थ मन्त्रालयले सोमबार नयाँ अर्थसचिवका रूपमा मधुकुमार मरासिनीलाई पाएको छ । अर्थसचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्यसमेत हुन्छन् । राष्ट्र बैंकको सञ्चालकले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । सोहीअनुसार सर्वोच्चमा शपथका लागि समय माग गरेर सोमबार नै पत्राचार गरिएको छ । ‘अब अर्थसचिवले सञ्चालकका रूपमा शपथ लिनुहुनेछ, त्यसपछि सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई अन्तिम रूप दिइनेछ,’ ती अधिकारीले भने, ‘अहिलेसम्मको कार्ययोजनाअनुसार आउँदो शुक्रबार मौद्रिक नीति ल्याउनेछौँ ।’

 शुक्रबारसम्म मौद्रिक नीति  ल्याउने तयारी छ : प्रवक्ता
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालले चालू आवको मौद्रिक नीति आगामी शुक्रबारसम्म ल्याउने तयारी रहेको बताए । तर, नयाँ बजेट कुर्ने–नकुर्ने, अर्थमन्त्रीले के भन्नुभयो भन्नेलगायत विषयमा आफू जानकार नरहेको उनले बताए । ‘राष्ट्र बैंक स्वायत्त निकाय हो, उसले अनुकूल समयमा मौद्रिक नीति ल्याउँछ,’ उनले भने, ‘अहिले हामीले आगामी शुक्रबारसम्म मौद्रिक नीति ल्याउने तयारी गरिरहेका छौँ ।’

मौद्रिक नीति लचिलो बनाइँदै  
 नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिलाई केही कसिलो बनाउने तयारी गरेको थियो । नयाँ सरकार आउनुअघि राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिको मस्यौदा तयार गरेको थियो । वित्तीय स्थायित्वका लागि भन्दै राष्ट्र बैंकले अघिल्ला वर्ष लिएको नीतिमा हेरफेर गर्दै निजी क्षेत्रलाई दिएको सुविधामा कैँची लगाउने तयारी गरेको थियो । तर, नयाँ सरकार आएपछि राष्ट्र बैंकले मौद्रिक नीतिलाई पुनः लचिलो बनाउने भएको छ । ‘हामीले पहिला कसिलो मौद्रिक नीतिको मस्यौदा तयार गरेका थियौँ,’ एक अधिकारीले भने, ‘तर, अहिले मौद्रिक नीतिको स्पिरिटमा केही परिवर्तन गरिएको छ, समयसापेक्ष केही खुला नीति लिने तयारी भइरहेको छ ।’

सुझावित समाचार