नेप्सेमा ४ अंकको झिनो वृद्धि
सोमबार नेप्से ४ अंकले बढेको छ । नेप्से ४ दशमलव ०६ अंकले बढेर ३ हजार ८५ दशमलव ०७ बिन्दुमा पुुगेको छ । झिनो अंकले बढेको नेप्सेमा माइक्रो फाइनान्समा भने लगानीकर्ताले आकर्षण बढाएका छन् । दिनभरजसो नेप्सेमा घटबढ भए पनि अन्तिम समयमा नेप्से हरियो भएर बन्द भएको हो । माइक्रो फाइनान्स समूहको सूचक २ दशमलव २२ प्रतिशतले बढ्दा यस समूहका लगानीकर्ता आशावादी बनेका छन् । त्यसैगरी, वाणिज्य बैंक, फाइनान्स, लगानीगत समूहमा लगानीकर्ताको आकर्षण बढेको छ ।
सो दिन ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि सामान्य बढेको छ । पछिल्लो समय मौद्रिक नीतिसँगै विधेयक प्रतिस्थापन गरी नयाँ बजेट ल्याउने हल्ला चलेको हुँदा पनि त्यसको प्रभाव नेप्सेमा परेको लगानीकर्ता बताउँछन् । जसका कारण लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।
सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा घलेम्दी हाइड्रोपावर रहेको छ । त्यस्तै, गुराँस लघुुवित्त वित्तीय संस्थाको पनि उल्लेख्य बढेको छ । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, फस्र्ट माइक्रो फाइनान्स ९ प्रतिशतले बढ्दा युनिभर्सल पावर, आँखु खोला जलविद्युत्, समृद्धि फाइनान्स, सबैको लघुुवित्तलगायतका संस्थाका लगानीकर्ताले पनि नाफा कमाएका छन् । नेप्सेमा सूचीकृत भएर दोस्रो बजार कारोबारमा आएको युनियन लाइफ इस्योरेन्सको सेयर ६ प्रतिशतले बढेर प्रतिसेयर मूल्य ३ सय ६२ रुपैयाँ पुुगेको छ । सो दिन सबैभन्दा धेरै घट्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड इदी मर्दी, आरबी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, वरुण हाइड्रोपावरलगायत छन् ।
सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २६ कम्पनीको २ करोड १८ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सेयर खरिद–बिक्री हुने कम्पनीमा अरुण काबेली पावर कम्पनी रहेको छ । कम्पनीको ३७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँ, फस्र्ट माइक्रो फाइनान्सको ३४ करोड रुपैयाँ, नागरिक लगानी कोषको ३२ करोड १९ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।