साम्राज्यवादको अर्को कडी : प्रयोगशाला चुहावट सिद्धान्त

प्रयोगशाला चुहावट सिद्धान्त खासमा चीनबारे ल्याइएको खतरनाक झुट मात्रै होइन, यसले अमेरिकाबारे पनि थुप्रै प्रसंग सम्झाउँछ

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

विश्व स्वास्थ संगठनको कोभिड–१९ प्रयोगशाला चुहावटको दोस्रो चरणको परीक्षणको चीनले विरोध गरेको छ । चीनको अस्वीकारलाई अमेरिकाले कडा आलोचना गरेको छ । यस सन्दर्भमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बाइडेन प्रशासनले ‘गहिरो निराशा’ व्यक्त गरेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनको चुहावट अनुसन्धानले वैश्विक सहकार्यलाई अमेरिकी साम्राज्यवादले बिथोल्ने भएकाले चीन र विश्वका अरू कैयौँ मुलुक पनि निराश भएका छन् ।

बाइडेनको ‘बहुपक्षीयता’प्रतिको उत्साहले धेरै मानिस बाइडेन शान्तिका निम्ति लागिपरेका छन् भन्नेमा विश्वस्त छन् । 
यथार्थमा बाइडेन प्रशासनले दशकौँ पुरानो साम्राज्यवादी अमेरिकी परराष्ट्र नीति छोडेको छैन । दोस्रो विश्वयुद्धदेखि अमेरिकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंकजस्ता बहुपक्षीय संगठनमा असमान पहुँच बनाएर आर्थिक वर्चस्व स्थापित गरेको छ । यी संस्थाले अमेरिकी कर्पोरेट सेयरधनीलाई थप धनी बनाएका छन् भने शताब्दीयौँदेखि उपनिवेशी अल्पविकासको दुष्चक्रबाट मुक्त हुन् खोज्ने एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकलाई थप गरिब बनाएका छन् ।

विश्व स्वास्थ संगठन पनि अमेरिकी साम्राज्यवादको चपेटाबाट बाहिर निस्कन सकेको छैन । सञ्चालन खर्चको करिब २० प्रतिशत मात्रै सदस्य मुलुकले व्यहोरेका छन् । अर्थात् ८० प्रतिशत निजी स्रोतबाटै आउँछ, त्यसमा अमेरिका आधारित बिल र मेलिन्डा गेट्स फाउन्डेसन दोस्रो ठूलो दाता हो ।

विश्व स्वास्थ्य संगठनका आलोचकका अनुसार अमेरिकी निजी स्वास्थ्य क्षेत्रलाई फाइदा पु¥याउन संगठनले वैश्विक दक्षिण (ग्लोबल साउथ) का राष्ट्रहरूका स्वास्थ्य व्यवस्थालाई निजीकरण गराउन दबाब दिइरहेको हुन्छ । वैश्विक रूपमा कोभिड–१९ विरुद्ध भइरहेको लडाइँलाई कमजोर पार्ने गरी डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग पनि गरेका थिए । ट्रम्पले सो निर्णय गरे पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सफ्ट पावर (नरम शक्ति) का रूपमा प्रयोग गरेको छिपेको छैन ।

राष्ट्रपति बाइडेनले आफ्नै खुफिया निकायलाई अगस्ट अन्तिमसम्ममा विश्व स्वास्थ्य संगठनकै जस्तो कोभिड–१९ प्रयोगशाला चुहावटको अनुसन्धान गराउनु कुनै संयोग होइन । बाइडेन ह्वाइट हाउसमा आएको ९० दिनमा अमेरिका विश्व स्वास्थ्य संगठनमा पुनः प्रवेश गर्यो र ट्रम्प प्रशासनले रोक्का गरेको सञ्चालन खर्च भुक्तान गयो । बाइडेन प्रशासन विश्व स्वास्थ्य संगठनलाई चीनविरुद्ध भइरहेको नयाँ शीतयुद्धको महत्वपूर्ण हतियारका रूपमा हेर्छ । चीनसँग मिलेर यो वैश्विक महामारीसँग लडाइँ लड्न छोडेर, बाइडेनले विश्व स्वास्थ्य संगठनलाई साम्राज्यवादी उद्देश्य पूरा गर्न हतियार बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले यो दबाबको प्रतिरोध गर्न जरुरी छ ।

बहुपक्षीयता र साम्राज्यवाद सँग–सँगै जान सक्दैनन् । अमेरिका र युरोपको राजनीति दिनानुदिन दक्षिणपन्थी हुँदै गइरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको असंगतिले ट्रम्प प्रशासनको वेलामा संगठनमाथि हमला गर्ने तत्वहरूलाई नै फाइदा हुने देखिन्छ । अहिले कोभिड–१९ को डेल्टा भेरियन्टले खतराको तह झन् बढाइदिएको छ । वास्तवमा वैश्विक सहकार्य अहिलेको सबैभन्दा आवश्यक विषय हो, जसलाई साम्राज्यवादी वर्चस्वका स्वार्थले प्रस्टै कमजोर तुल्याउन खोजेको देखिन्छ । 

विश्व स्वास्थ्य संगठनको चुहावट अनुसन्धानमार्फत वैश्विक सहकार्यलाई अमेरिकी साम्राज्यवादले बिथोल्ने भएकाले चीन र विश्वका अरू कैयौँ मुलुक निराश भएका छन्
 

महामारीविरुद्ध लड्न चीनले अथक प्रयास गरिरहेको सन्दर्भमा वैश्विक सहकार्य कमजोर तुल्याउने प्रयासको थप पुष्टि हुन्छ । वुहानमा देखिएको प्रकोपबारेमा चीनले दिएको महत्वपूर्ण सूचनाका कारण विश्व स्वास्थ्य संगठनले अहिले कोभिड–१९ भनेर चिनिने रोगको तीव्रता र खतरा औँल्याउन पाएको थियो ।

कोभिड–१९ मा चीनको सफलताबारे संसारभर सायदै कोही अनभिज्ञ होला । यसबाहेक चीनले आफ्नो प्रभावशाली औद्योगिक क्षमताकै कारण भेन्टिलेटर, मास्क, परीक्षण किट्स र अन्य महत्वपूर्ण उपकरण विश्वका १२० भन्दा बढी मुलुकमा पठायो, जसमा अमेरिका पनि पर्छ । चीनले वैश्विक ऐक्यबद्धतामा हातेमालो गरेर स्वदेशमा उत्पादित खोपको करोडौँ मात्रा अल्पविकसित मुलुकमा वितरण पनि गर्यो । 

प्रयोगशाला चुहावट सिद्धान्त खासमा चीनबारे ल्याइएको खतरनाक झुट मात्रै होइन, बरु यसले अमेरिकाबारे पनि थुप्रै प्रसंग सम्झाउँछ । अमेरिकाले कैयौँपटक आफ्नो इतिहासमा जैविक हतियारको प्रयोग गरेको छ । यसमा सिआइएले फिडेल क्यास्ट्रोको ६ सयपटकभन्दा बढी पटक हत्या प्रयास गरेको छ । साथै, प्रोजेक्ट ११२ का माध्यमबाट हत्या गर्न खोजिएका अन्य विदेशी नेता पनि पर्छन् । जैविक युद्धका लागि १९६२ मा सुरु गरिएको प्रोजेक्ट ११२ मा समय–समयमा बजेट बढाउने गरिएको छ र सार्वजनिक स्थानमा जैविक हतियारको प्रयोगात्मक परीक्षण पनि गरिएको छ ।  

  यसबाहेक चीनलाई तारो बनाउने सनकमा मानिसहरूले अमेरिका आधारित मेरिल्यान्डको फोर्ट डेट्रिक प्रयोगशालाका कामबारेका वैधानिक चासोहरूलाई पनि बेवास्ता गरेको देखिन्छ । फोर्ट डेट्रिकसँग गैरकानुनी जैविक परीक्षणको लामो इतिहास रहेको छ । इबोला, एन्थ्य्राक्स र अन्य अत्यधिक संक्रामक रोगका कारक सो ल्याबमा भेटिएको थियो ।

सो क्षेत्रका बासिन्दाले विभिन्न समय र मौकामा स्वास्थ्य समस्याहरू विशेषतः क्यान्सर र प्रयोगशालाका गतिविधिबीच जाँच र अनुसन्धानको माग गरेका थिए । पाखण्ड कमजोरीको चिह्न हो । चीनलाई तल पारेर आफू माथि आउने शून्य नतिजाको खेलले वैश्विक चुनौतीको समाधान गर्न चीनको सहकार्य र ऐक्यबद्धतासँग अमेरिकाले प्रतिस्पर्धा गर्न सक्दैन । चीनको दानवीकरण गर्ने अमेरिकाको प्रयास अवश्यै असफल हुनेछ ।    

  (हाइफोङ अमेरिकन एक्ससेप्सनालिज्म एन्ड अमेरिकन इन्नोसेन्सका लेखक र समाजवादी अभियन्ता हुन्)  ग्लोबल टाइम्सबाट 

सुझावित समाचार