असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार आठ सय ५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कुल एक करोड ८३ लाख ८२ हजार आठ सय ५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । 

उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउनेछ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए । 

मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार आठ सय ५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुईपटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार आठ सय ५० मात्रा रहेका छन् । 

मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको  उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए । 

यस्तै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडियू) दुई हजार ७५ सरकारी र सात सय ७८ निजीमा थपिएको छ । यस्तै, एक हजार चार सय एचडियू थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर नाै सय चार रहेको र थप एक सय ८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि एक सय ८० भेन्टिलेटरसहित दुई सय ५० सघन उपचार कक्ष (आइसियू) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । 

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कुल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ । 

मन्त्रालयले कुल जनसंख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ । रासस

See More On

सुझावित समाचार