प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसससी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले एमसिसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेकोसमेत उनले प्रस्ट पारे ।
रावलले एमसिसीलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिए । उनले एमसिसीमा राखिएका कतिपय प्रावधान नेपालको संविधानविपरीत रहेको, त्यो नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको राष्ट्रको हितविपरीत रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन नमिल्ने बताए ।
‘एमसिसीसँग भएका सबै सम्झौता संसदमा पेस गर्नुपर्दछ । जनताले त्यस सम्झौतामा उल्लेख भएका सवै विषय थाहा पाउनुपर्दछ । प्रतिनिधिसभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ । त्यहाँ भएका नेपालको राष्ट्रिय हित, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधानहरू परिवर्तन नभई त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ,’ रावलले भने, ‘नेपाली जनताले विगतमा पनि असमान सन्धिका कारण व्यहोर्नुपरेको पीडाको फेरि पुनरावृत्त हुनेछ । त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्दछ ।’