५० वर्षअगाडि राष्ट्रपति रिचर्ड निक्सनले सुरु गरेको लागुऔषधविरुद्धको युद्धको मुख्य सिकार काला एवं ल्याटिनी अमेरिकी समुदाय देखिएका छन् । अमेरिकाले लागुऔषधविरुद्ध युद्ध छेडेको सन् १९७५ यता २०१९ सम्मको कैदीबन्दीसम्बन्धी तथ्यांक केलाउँदा कारावास पुग्ने अश्वेतको संख्यामा आश्चर्यजनक वृद्धि भएको पाएको हो । सन् १९७५ मा अमेरिकी कारागारहरूमा कैदीको संख्या २ लाख ४० हजार रहेकोमा सन् २०१९ मा १४ लाख ३० हजार नाघेको देखिन्छ ।
एसोसिएट्स प्रेसले अमेरिकी कारागारमा रहेका कैदीहरूसम्बन्धी तथ्यांक केलाउँदा हरेक पाँच कैदीमध्ये एकजनाले लागुऔषधसम्बन्धी गम्भीर मुद्दामा जेल सजाय भोगिरहेको पायो । जनसंख्याको अनुपातमा लागुऔषधसम्बन्धी अपराधमा अश्वेत कैदीहरूको संख्या उल्लेख्य धेरै देखिन्छ । सन् १९७० मा प्रतिएक लाख अश्वेत जनसंख्यामा ६ सयजनाले लागुऔषधका कारण कारावास भोगिरहेकोमा तीनगुणा बढीले वृद्धि भएर सन् २००० मा यो संख्या प्रतिलाख १,८०८ पुगेको देखिन्छ । त्यसैगरी, प्रतिलाख ल्याटिनी समुदायको जनसंख्याबाट सन् १९७० मा लागुऔषधमा कारावास भोगिरहेका कैदीको संख्या २०८ रहेकोमा सन् २००० मा ६५० पुगेको देखिन्छ । जबकि, श्वेत अमेरिकी समुदायबाट यस्तै मुद्दामा कारावासमा कैद रहेकाहरूको संख्या सन् १९७० मा प्रतिलाख १०३ र सन् २००० मा २४२ जना मात्रै देखिन्छ ।
कहिल्यै हट्दैन लागुऔषध दुर्व्यसनीको ट्याग : अमेरिकामा एकपटक लागुऔषध अपराधको बिल्ला लागेकाहरूलाई रोजगार मात्रै होइन, व्यापार, अध्ययन ऋण, घर सुविधा, बालबालिकाको संरक्षण, मतदानजस्ता अधिकारहरूबाट वञ्चित गरिन्छ । लागुऔषध प्रयोग नियन्त्रण गर्न आपराधिक दण्डसजायकेन्द्रित रणनीतिले लागुऔषध प्रयोग तथा बिक्री धेरै पहिले छाडेका मानिसहरूलाई पनि अझै असर गर्ने गरेको छ । अमेरिकी राज्य नर्थ क्यारोलिनाका एल्टोन लुकास बास्केटबल खेल र संगीत क्षेत्रमा सफलता हासिल गरेर विश्व घुम्न चाहन्थे । तर, लागुऔषधको कुलतमा फसेपछि उनको विश्व भ्रमणको सपना तुहियो । पाँच वर्षको जेलजीवनपछि उनी रिहा भए ।
लुकास लागुऔषध अपराधमा आफ्नो नाम नजोडिएको भए आफू र परिवारका सदस्यको अवस्था कस्तो हुन्थ्यो होला भनेर अझै पनि कल्पना गर्ने गर्छन् । सजाय काटेको करिब ३० वर्ष भइसक्दा र त्यसयता सादा जीवन व्यतित गरिरहेका ५४ वर्षीय लुकास अहिले पनि थुप्रै आपराधिक पृष्ठभूमि जाँच्ने परीक्षाहरूमा असफल हुन्छन् । त्यही एउटा अँध्यारो विगतका कारण लुकासलाई विद्यालयका कार्यक्रममा आफ्नै सन्तानहरूसँग जान बन्देज छ । लुकास दुःखी हुँदै भन्छन्, ‘लागुऔषधमा नाम जोडिएकाले म जेलबाहिर पनि आजीवन कारावास भोगिरहेको छु ।’
लागुऔषधविरुद्धको युद्धको नश्लीय सम्बन्ध : निक्सनले १९७१ मा लागुऔषधविरुद्ध युद्ध सुरु गरेपछि अमेरिकामा लागुऔषधविरुद्ध थुप्रै अभियान चल्यो । तर, अधिकांशमा नश्लीय विभेदको गन्ध आउँथ्यो । उन्नाइसौँ शताब्दीको सुरुमा अमेरिकामा चिनियाँको आप्रवासन सुरु भएदेखि तिनलाई अफिमसँग जोडेर अपराधीकरण गरियो । सन् १९३० ताका मेक्सिकन आप्रवासनलाई ‘रिफर’ र ‘मेरिवाना’सँग जोडियो । निक्सनको समयसम्म आइपुग्दा लागुऔषधविरुद्धको युद्ध अमेरिकाले भियतनाममा मच्चाएको युद्धको विरोध गर्नेहरू र ब्ल्याक पावर मुभमेन्ट (काला जातिहरूको आन्दोलन)का अभियन्ता र हिप्पीलाई अपराधीकरण गर्ने अस्त्र बन्यो । लागुऔषधविरुद्धको युद्धलाई राजनीतिक फाइदाका लागि निक्सनका उत्तराधिकारी रोनाल्ड रेगन, जर्ज एच डब्लुु बुस र बिल क्लिन्टनले पनि प्रयोग गरे । अमेरिकामा कैदीको दर विस्फोटक रूपमा बढ्नु, सार्वजनिक एवं निजी जेलको बढोत्तरी हुनु र सिभिल पुलिसको सैन्यकरण हुने प्रक्रिया पनि लागुऔषधविरुद्धको युद्धकै परिणाम हुन् ।
लागुऔषध दुर्व्यसन र हिंसाको सम्बन्ध : सन् ८० को दशकको अन्तताकाबाट कोकिनलगायत खतरनाक लागुऔषधले हत्याहिंसामा निकै वृद्धि गरेपछि लागुऔषधविरुद्धको युद्धलाई अश्वेत पादरी र अमेरिकी कांग्रेसभित्रका अश्वेत प्रतिनिधिले पनि समर्थन गरेका थिए । कठोर नियम लागू भए पनि लागुऔषधको कुलत नियन्त्रण गर्ने कुनै कदम चालिएन । हार्वर्ड विश्वविद्यालयको एक अध्ययनले १९८५ मा उच्च वृद्धि भएको कोकिन सेवन सन् १९९० मा गिरावट आउनुअघि १९८९ मा चरम बिन्दुमा पुग्यो । सहरी क्षेत्रका ल्याटिन र काला समुदायको बाहुल्य भएका बस्तीहरूमा कोकिनको प्रयोग बढ्यो । यसका कारणले १४ देखि १७ वर्षका काला किशोरहरूको हत्या दुई गुणाले बढ्यो ।
लागुऔषध दुव्र्यसनी स्वास्थ्य समस्या हो : निक्सनले सुरु गरेको लागुऔषधविरुद्धको युद्ध सुरु भएको १५ वर्षपछि अश्वेत बास्केटबल खेलाडी लेन बाइसको अत्यधिक कोकिन प्रयोगका कारण हृदयाघातले ज्यान लियो । बाइसको निधन भएपछि नश्लभेदी नियत झल्काउने गरी मिडियाले जोडतोडसँग लागुऔषध फैलावटको दोष मुख्यतः अश्वेत र ल्याटिन समुदायमाथि थोपरे । नतिजास्वरूप १९८६ मा ‘एन्टी एब्युज एक्ट’ ल्याइयो । यो कानुन मिच्नेलाई अनिवार्य २० वर्षको सजाय तोकियो । लागुऔषधविरुद्धको युद्धका दुस्परिणामलाई ध्यान दिँदै वामपन्थी राजनीतिज्ञ र सामाजिक अभियन्ताहरूले लागुऔषध प्रयोगलाई अपराधीकरण गर्न छाड्नुपर्ने माग गर्न थाले ।
जनप्रतिनिधि कोरी बुस कुलतमा परेकाहरूको उपचार गर्न जोड दिनुपर्ने मत राख्छिन् । लागुऔषधको प्रयोगलाई अपराधको आँखाभन्दा पनि जनस्वास्थ्यको नजरबाट हेर्नुपर्ने बहस चलिरहेको वेला कोभिड–१९ वैश्विक महामारी आयो । यस अवधिमा पुनः लागुऔषधको दुरुपयोग बढेको देखिन्छ । यो अवधिमा पनि गैरकानुनी लागुऔषधको ओभरडोजबाट हुने मृत्युको वृद्धिमा निरन्तरता रहेको सिडिसीको तथ्यांकले देखाउँछ । अहिलेको अपराधीकरण गर्ने न्याय प्रणालीमा सुधार ल्याउनुपर्ने र समताका लागि प्रयास गर्नुपर्ने मत पनि उत्तिकै देखिन्छ । ड्रग पोलिसी एलायन्सका निर्देशक कसान्ड्रा फ्रेडरिक ५० वर्ष लामो लागुऔषधविरुद्धको युद्धबारे पुनरावलोकन गर्नुपर्ने बताउँछन् । यसको सुरुवात दशकौँदेखि यो अभियानबाट पीडित भएका मानिसहरूलाई क्षतिपूर्ति तिरेर हुनुपर्ने फ्रेडरिक बताउँछन् । (एपी)