ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनामा ७ वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा कुमारी बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् ।
लगानी गर्ने ७ अर्ब रुपैयाँमा ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पुँजी कर्जाका रूपमा लगानी गर्ने सम्झौता भएको छ । प्रवद्र्धक कम्पनी एवं बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ । परियोजनाको अनुमानित लागत करिब ९ अर्ब रुपैयाँमा बैंकहरूले ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोडबराबरको ऋण लगानी गर्ने जनाइएको छ ।
यसमध्ये, सिटिजन्स बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिद्धार्थ बैंक प्रत्येकले १ अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ र सिभिल बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ । २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने जनाइएको छ ।
आयोजना ३ वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ, जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोसी करिडोरअन्तर्गको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिने उल्लेख छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।