वासिंगटनका लागि अफगानिस्तानका अमेरिकी युद्धपीडितहरू अनुहार र नामविहीन हताहतीका आँकडाबाहेक केही ठहरिएनन्
एक गोप्य अप्रेसनअन्तर्गत केही दिनअघि अमेरिकी सेनाले काबुलको उत्तरमा रहेको बग्राम हवाई अड्डा छाडे । स्थानीय अफगान सहयोगीहरू पनि यस अप्रेसनबारे अनभिज्ञ रहे । अमेरिकी सैनिकले सयौँ एनर्जी ड्रिंक्स, तयारी खाना र टनका टन फोहोरका डुंगुर छाडेर गएका थिए । उनीहरूको यस्तो रबैयाले सामाजिक सञ्जालमा थुप्रै अफगानलाई आक्रोशित बनायो ।
अमेरिकाको तथाकथित सबैभन्दा लामो युद्धको अन्त्य भयो । थुप्रै अन्तर्राष्ट्रिय मिडियाले बग्रामबारे त्यहाँको कालो अतीतलाई छुटाएर रिपोर्ट प्रकाशमा ल्याए । यस्ता रिपोर्टिङ तिनै संशोधनवादी इतिहासको कडी हुन्, जसले अफगानिस्तानमा २० वर्षे अमेरिकी बृहत् यातनाका संयन्त्रहरू, नागरिक हताहती र चरम भ्रष्टाचारलाई अनदेखा गर्छन् । बुस प्रशासनदेखि नै बग्राम क्षेत्र अफगानिस्तानविरुद्ध अमेरिकी युद्धको केन्द्र बनेको हो । सन् २००० को सुरुवातमै बग्राम अमेरिकीकरण गरिएको एक सानो सहर बन्न पुग्यो । अफगान गाउँहरूमा नृशंस कारबाहीपछि बग्राम अमेरिकी सेनाका लागि केएफसी र बर्गर किङजस्ता तयारी खानाको स्वाद लिने ठाउँ बनेको थियो ।
तिनै तयारी खाना पस्किने रेस्टुराँछेउमा लामो समयदेखि कैदीहरू विशेषतः थुप्रै निर्दोष वा पक्राउ पुर्जी पनि नभएकाहरूको चरम यातनाबाट हत्या गरिएको थियो । बग्रामपरिसरमा ‘ब्ल्याक साइट्स’ भनेर चिनिने थुप्रै कुख्यात जेल छन् र त्यहाँको क्रूर व्यवस्था अमेरिकी युद्धको प्रतीक बनेको थियो । हालको अफगानिस्तानको मिडिया कभरेज समग्रमा सन् २००० मा गरिने साधारण कभरेजभन्दा फरक देखिँदैन । थुप्रै पश्चिमा पत्रकार अफगानिस्तानमा धेरैभन्दा धेरै समाचार सामग्री जुटाउन लागिपरेका छन् । स्थानीय भाषा, चलन एवं संस्कृति, मुलुक एवं स्थानीय क्षेत्रहरूको भूराजनीतिको ज्ञानको कमी र सजिलो बाटो खोज्ने अल्छी पत्रकार पुरानै ढर्राको नश्लभेदी र ओरिएन्टलिस्ट (पूर्वद्वेषी) प्रवृत्तिमा मिसिन पुगेका छन् ।
आतंकवाद निर्मूल गर्ने तथाकथित उद्देश्यबाट प्रेरित अमेरिकी नेतृत्वको अफगान युद्धले लुटेरा युद्ध सरदार, भ्रष्ट नेता र लागुऔषध धन्धा गर्ने गिरोहलाई प्रोत्साहनसिवाय केही गरेन
यी प्रवृत्तिले अमेरिकी नेतृत्वमा भएको २० वर्षको असफल युद्धपछिको अफगानिस्तानको मिडिया कभरेजलाई निर्दिष्ट गर्दैनन् । विडम्बना, यस्तो प्रवृत्ति ज्युँकात्युँ छ । उदाहरण हालै सिबिसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन) न्युजमा क्यानेडेली सेनाको दुर्दशा लेख्दा पत्रकार मुर्रे ब्रेवेस्टरले कान्दहार प्रान्तको पन्जवई जिल्लालाई ‘जंगली’ र ‘क्रुद्ध’ विशेषण प्रयोग गरेका थिए । जंगली, क्रुद्ध जस्ता विशेषण १९औँ शताब्दीका औपनिवेशिक प्रतिवेदनमा प्रयोग हुने विशेषण हुन् । ब्रेवेस्टरले ती ठाउँलाई ‘तालिबान पैदा गर्ने भूमि’समेत भने । वास्तवमा यो क्षेत्र पश्चिमाहरूले विगतदेखि मुटु कँपाउने युद्ध अपराध गरेको ठाउँ हो । मार्च २०१२ मा अमेरिकी सेना रबर्ट बेल्सले १७ जना निहत्था नागरिकको हत्या गरेका थिए, जसमा महिला र बालबालिका पनि थिए । आजीवन काराबास पाएका बेल्सलाई राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको अन्त्यतिर सजाय माफी दिएका थिए । अझै यस्ता थुप्रै हत्याकाण्ड सतहमा आएका छैनन् ।
ब्रेवेस्टरलगायत पत्रकारका लागि यी अत्याचार समाचार बन्न योग्य घटना होइनन् । अफगानिस्तानमा पश्चिमा अतिक्रमणले निम्त्याएको रक्तपात र हिंसालाई बेवास्ता गरेर ब्रेवेस्टरजस्ता थुप्रै पश्चिमा पत्रकारले तालिबान, आइएसआइएस वा उनीहरूद्वारा छनोट गरिएका आतंककारी र अन्यको हिंसाको घटनालाई समाचार बनाउँछन् । हिंसा र युद्ध नियन्त्रणको ठेक्का लिएको अमेरिका अत्याचार छनोट गरिएका आतंककारीभन्दा कसरी माथि छन् भनेर पत्रकारहरूले कहिल्यै प्रश्न गर्दैनन् ।
अमेरिकी युद्धका पीडितका आवाज कहिल्यै सुनिएन, उनीहरू वासिंगटनका लागि अनुहार र नामविहीन हताहतीका आँकडाबाहेक केही भएनन् । केही महिनाअगाडि २०१४ मा अमेरिकी ड्रोन आक्रमणबाट चार यात्रुसहित मारिएका ट्याक्सी ड्राइभरको छोरासँग भेट भयो । ड्राइभरका छोरा अझै पनि बुबा गुमाउनुको आघातबाट मुक्त हुन सकेका छैनन्, तर अमेरिकी सेनाले मुलुक छोड्ने खबरले राहत भने महसुस गर्छन् । उनी भन्छन्, ‘तिनीहरू (अमेरिकी सेना) ले निकै मान्छे मारे, यो ठाउँ उनीहरूका लागि होइन ।’ आतंकवाद निर्मूल गर्ने तथाकथित उद्देश्यबाट प्रेरित युद्धले लुटेरा युद्ध सरदार, भ्रष्ट नेता र लागुऔषध धन्धा गर्ने गिरोहलाई प्रोत्साहनबाहेक केही गरेन । यी सबैले अफगान राजनीतिमा कुनै न कुनै किसिमले हालीमुहाली जमाएका छन् । अहिलेकै रक्षामन्त्री अस्सदुल्लाह खालेदलाई जिउँदोजाग्दो उदाहरणका रूपमा लिन सकिन्छ, अफगान खुफिया संस्थाको गभर्नर र प्रमुख हुँदा उनले आफ्नो घरलाई नै यातनागृह बनाएका थिए । खालेदमाथि हत्या र नाबालिकहरूको अपहरण एवं यौन दुव्र्यवहारको आरोपसमेत लागेको छ । खालेदजस्तै मानिससँग पश्चिमा मुलुकले सहकार्य गरे । तिनले व्यापक भ्रष्टाचारलाई प्रोत्साहन गरे र काबुल–दुबईजस्ता ठाउँमा आलिसान महल ठड्याए ।
वास्तवमा अमेरिकाले २० वर्षको समयमा अफगानिस्तानमा एउटा पनि लोकतान्त्रिक संस्थाको निर्माण गरेन । अमेरिकाले अफगानिस्तानमा युद्धकविलावाद र भ्रष्टाचारको संस्कृतिको मलजल गरेर मात्रै मुलुक छोड्यो । यसअघिको लोकतान्त्रिक गणतन्त्रका लागि गरिएको चुनाव एक भद्दा प्रहसन मात्रै थियो । यहाँका नेतालाई अफगान मातदाताले होइन, वासिंगटनले छानेको हो । पश्चिमा पत्रकार पर्यवेक्षकलगायतहरू भने स्वैरकल्पनाभन्दा बाहिर निस्कन सकेका छैनन् ।
(फिरोज स्वतन्त्र पत्रकार एवं ड्रोन मेमोरियलका संस्थापक हुन्)
द अमेरिकन प्रोस्पेक्टबाट