इस्लामद्वेष : मुसलमान महिलाको अमानवीकरण

मुसलमान पुरुषको दानवीकरणले मुसलमान महिलालाई लाचार र रक्षा एवं उद्धार गर्नुपर्ने कमजोर पात्र बनाइदिने गरेको छ

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

दुई साताअघि भारतमा शिक्षित एवं स्वावलम्बी मुसलमान महिलाहरू हिन्दू दक्षिणपन्थीको हिंसाबाट प्रताडित हुन पुगे । सामाजिक सञ्जालबाट थुप्रै मुसलमान महिलाको तस्बिर झिकेर ‘सुल्ली डिल्स’ नामक एपमा बिक्रीका लागि राखियो । ‘सुल्ला’ र ‘सुल्ली’ मुसलमान पुरुष र महिलालाई जनाउने अपमानजनक शब्द हुन् । यस घटनाले इन्टरनेट महिलाका लागि दिनानुदिन असुरक्षित भइरहेको तथ्यलाई उजागर मात्रै होइन, यसले दशकौँदेखि भारतीय समाजमा मुसलमान महिलालाई बहुसंख्यक हिन्दूले हेर्ने कुदृष्टिको एक लक्षणलाई सतहमा ल्याइदिएको छ । 

सुल्ली डिल्सजस्तो कहालीलाग्दो इन्टरनेट हिंसा घट्दा पनि मिडिया र सार्वजनिक मञ्चहरूले लगभग बेवास्ता नै गरे । तथाकथित उपल्लो जातका हिन्दू महिलाका मुद्दामा बोल्ने संस्थाहरूको मौनता पनि मज्जैले देखियो । यो मौनता भारतमा मुसलमान, दलित, आदिवासी र धार्मिक अल्पसंख्यक महिलामाथि हुने हिंसालाई बेवास्ता गर्ने प्रवृत्तिको पछिल्लो कडी हो । यस घटनाले मुसलमान महिलाका शरीर साम्प्रदायिक हिंसाको तारो बन्ने गरेको यथार्थ देखाउँछ । गुजरात हिंसा, कुनान फोस्फोरा, मुजफ्फरनगर हिंसाजस्ता साम्प्रदायिक हिंसामा बलात्कार भोगेका मुसलमान महिलाहरू न्यायका ढोकामा पुग्नुअघि नै उनीहरूमाथि भएको हिंसा खारेज भएका छन् वा मुद्दा दर्ता भए पनि अझै न्याय पाउन सकेका छैनन् । 

मुसलमान महिलाविरुद्ध लक्षित हिंसा भारतमा मात्रै सीमित छैन । मुसलमान महिलाको वस्तुकरण विश्वभरि नै सामान्य बनेको छ । पश्चिमा विश्वले ऐतिहासिक रूपमा मुसलमान महिलालाई कामुक वस्तुका रूपमा देखाउँदै आएको छ । फ्रेन्च उपन्यासकार गुस्ताव फ्लोबेरले एक मुसलमान नर्तकीलाई वस्तुकरण गरेको कुख्यात कृति ‘स्यलाम्बो’लाई उदाहरणका रूपमा लिन सकिन्छ । मुसलमान महिलाको नाम वा धर्म पत्ता लाग्दा तिनलाई मुसलमान पुरुषको लाचार छाया वा पितृसत्ताको रूढिवादी संरक्षकका रूपमा देखाउने गरिन्छ । वास्तवमा पश्चिमा आधुनिक संसारको मुसलमान महिलालाई हेर्ने दृष्टिकोणको जग नै समस्याग्रस्त छ ।  
वस्तुकरण र द्वेषको सिलसिला अहिले पनि देख्न सकिन्छ । २०१८ मा बेलायती प्रधानमन्त्री बोरिस जन्सनले बुर्का लगाउने महिलालाई पत्र मन्जुषा र बैंक लुटेराजस्ता अपमानसूचक टिप्पणी गरेका थिए । फ्रान्समा ‘बुर्किनी’ प्रतिबन्ध वस्तुकरणका मामिलामा झन् गम्भीर देखिन्छ, जहाँ मुसलमान महिलालाई अपराधीजस्तो देखाई निर्वस्त्रीकरण गर्ने कुत्सीत मानसिकता प्रस्टै देखिन्छ । यी यस्ता रबैयाले आप्रवासन रोक्ने नीति र इस्लामिक मुलुकविरुद्ध हुने तथाकथित आतंकवादविरोधी युद्धलाई पुष्टि गरी पुस्तौँदेखिको युरोप–अमेरिकाको श्वेत–सर्वोच्चतालाई प्रश्रय दिन्छ ।

भारतका सन्दर्भमा हिन्दू सर्वोच्चता स्थापना गरी मुसलमान समुदायलाई अलगीकरण मात्रै गर्छ । विभिन्न तप्काका नारीवादीले बनाउने भाष्यहरूले पनि मुसलमान महिलाद्वेषी पश्चिमा आधुनिकताको संकथनमा थप बल पु¥याएका छन् । सुल्ली डिल्सजस्ता अपराधलाई महिलाविरोधी घटनाका रूपमा मात्रै देखाइन्छ र त्यस क्रममा विशेषतः मुसलमान महिलामाथि हुने हिन्दुत्व, यहुदी सर्वोच्चता र श्वेत सर्वोच्चतालाई लुकाउने गरिन्छ । यी नारीवादीहरूले भारतका सन्दर्भमा सबैभन्दा ठूला अल्पसंख्यक मुसलमानको संरचनागत मताधिकारको वञ्चितीकरण, भूराजनीतिक द्वेषभाव जस्ता घृणाका कारकलाई खारेज गरिदिएका छन् । 

मुसलमान महिलाको नाम वा धर्म पत्ता लाग्दा तिनलाई मुसलमान पुरुषको लाचार छाया वा पितृसत्ताको रूढिवादी संरक्षकका रूपमा देखाउने गरिन्छ । वास्तवमा पश्चिमा आधुनिक संसारको मुसलमान महिलालाई हेर्ने दृष्टिकोणको जग नै समस्याग्रस्त छ ।  

काला नारीवादीहरूले लिंगभेद र नश्लभेदका कारण काला महिलामाथि हुने हिंसालाई ‘मिस्सोजिनोई’ भन्ने शब्द प्रयोग गर्छन् । हालसम्म इस्लामद्वेष र लिंगभेदका कारण हुने हिंसालाई कुनै संज्ञाले चिनाइँदैन । विश्वभरि नै हेर्ने हो भने महिलाहरू मुसलमान भएकै कारण थप उत्पीडनमा परेका छन्, उत्पीडनमा पितृसत्तात्मक पुँजीवाद, भारतको हिन्दू राष्ट्रवाद, यहुदी सर्वोच्चता, म्यान्मार–श्रीलंकालगायत मुलुकको बौद्ध राष्ट्रवादको सम्मिश्रण देख्न पाइन्छ । यसो हुनुका पछाडि मुसलमानको दानवीकरण हो, जसले उपनिवेशवाद, पुँजीवाद, भूराजनीतिक द्वन्द्वजस्ता वास्तविक कारणलाई छायामा पारिदिन्छ ।

विशेषतः मुसलमान पुरुषको दानवीकरणले मुसलमान महिलालाई लाचार र रक्षा एवं उद्धार गर्नुपर्ने पात्र बनाइदिन्छ, उदाहरणका रूपमा भारतको ‘ट्रिपल तलाक’ फैसलाले मुसलमान पुरुषलाई मुसलमान महिलाको एक मात्र उत्पीडक बनाई अपराधीकरण गरेको देख्न सकिन्छ । यति लेख्दा मुसलमान महिला आफ्नो घरमा पितृसत्ताको सिकार हुँदैनन् भन्ने चाहिँ होइन । मुसलमान महिला दुईधारे तरबारको चपेटामा परेका छन् अर्थात् घरभित्रै हुने पितृसत्तात्मक थिचोमिचो र राज्य प्रायोजित हिंसाबीच उनीहरू थिचिएका छन् ।

‘सुल्ली डिल्स’जस्ता घटनाले आफ्नो समुदायका महिलाको रक्षा गर्न पुरुषत्ववादी भाष्यलाई प्रोत्साहन पनि गरेको छ । यस्तो प्रोत्साहनले दक्षिणपन्थी मुसलमान पुरुषलाई मुसलमान महिलामाथि उत्पीडन गर्न थप बल पु¥याउने देखिन्छ । सुल्ली डिल्सलगायत साम्प्रदायिक हिंसाका घटनाले मुसलमान महिलाको अमानवीकरण गरिदिन्छ । मुसलमान महिला उच्च जातका हिन्दू महिलाभन्दा निकै अमानवीकरण भएका छन् । अर्थात् उच्च जातका हिन्दू महिलालाई खोपीको देवीजस्तो बनाई उत्पीडनमा राखिन्छ भने मुसलमानलगायत गैर–उच्च जातका हिन्दू महिलालाई बलात्कार र बिक्रीको वस्तु बनाई पैतालामुनि राखिन्छ । भारतीय राष्ट्रको दक्षिणपन्थी रुझानका कारण मुसलमान, दलित, आदिवासीलगायत समुदायका महिलालाई दक्षिणपन्थी हिन्दूहरूले सुल्ली डिल्सका माध्यमबाट बिक्रीको माल बनाएर अमानवीकरण गर्न पाइरहेका छन् । 
(घोष नारीवादी अध्येता हुन्)  ‘फेमिनिज्म इन इन्डिया’बाट 

सुझावित समाचार