चिन्ता, अवसाद र दुर्व्यसनका कतिपय मानसिक रोगीलाई वैज्ञानिक तवरले नै उपयोगी ठहरेकाले पनि यो ध्यानको चिकित्सा क्षेत्रमा समेत प्रयोग हुन थालेको छ । विपश्यना ध्यानले कुनै भगवान्को कुरा गर्दैन, न त यो ध्यान गर्नका निम्ति बुद्धिस्ट नै हुनुपर्छ ।
बौद्ध धर्मबाट लिइएको सचेतना (माइन्डफुलनेस)को अवधारणा आजकल धर्मनिरपेक्ष तप्कामा निकै लोकप्रिय छ । सचेतना भन्ने शब्दको धेरै अर्थ लगाउन सकिन्छ । सचेतनाले सर्वप्रथम त भूत र भविष्यलाई बिर्सेर वर्तमानमा केन्द्रित अभ्यासलाई जनाउँछ । सचेतना अभिवृद्धिका लागि ध्यानको व्यापक प्रयोग गर्ने गरिन्छ । बौद्ध धर्ममा अधिकतर दुई प्रकारका ध्यानको वर्णन गरिएको छ– विपश्यना र एकाग्रता ध्यान । एकाग्रता ध्यान कुनै वस्तुमा एकचित्त भएर गरिन्छ ।
विपश्यना ध्यान बौद्ध धर्मको मूलभूत शिक्षाको अनुशीलन हो । बौद्ध धर्मअनुसार विपश्यना अर्थात् जगत्लाई साक्षीभावले नियाल्नु हो, कार्य र कारणबीचको सेतु तोडेर जन्मजन्मान्तर जम्मा भएका संस्कारको मयल नासेर निर्मल हुनु हो । अर्थात्, यो सत्यको स्वअनुभव हो । त्यसैले यो विज्ञानजस्तै निर्मल छ । मनमा अनेक सोच, भाव र स्मरणहरूले आवतजावत गरिरहन्छन्, तर वर्तमानमा स्थित हुँदै अहिले जे भइरहेको छ, त्यसलाई वैज्ञानिकले झैँ वस्तुनिष्ठ अवलोकन गर्नु नै विपश्यना ध्यान रहेछ । हरपल सजगता नै विपश्यना रहेछ । जहाँ न कुनै भगवान्, न कुनै वरदान, न कुनै अपेक्षाभाव वा उपेक्षाकै भाव रहनेछ ।
बौद्ध धर्मका गुम्बा, धर्मशालाका दिवार नाघेर आजकल सचेतनाको अवधारणा अस्पताल, विद्यालय र कारागारहरूमा पनि लोकप्रिय छ । चिन्ता, अवसाद र दुव्र्यसनका कतिपय मानसिक रोगीलाई वैज्ञानिक तवरले नै उपयोगी ठहरेकाले पनि यो ध्यानको चिकित्सा क्षेत्रमा पनि प्रयोग हुन थालेको छ । विपश्यना ध्यानले कुनै भगवान्को कुरा गर्दैन, न त यो ध्यान गर्नका निम्ति बुद्धिस्ट नै हुनुपर्छ । यस लेखमा बौद्धवादले कसरी जीवन, दर्शन र आधुनिक मनोविज्ञानसँग तादात्म्य राख्दोरहेछ भन्नेमा चर्चा गर्न खोजेको छु । लेख रोबर्ट राइटको किन बौद्ध धर्म सही छ भन्ने किताब र उनैको कोरसेराको कक्षाबाट पनि अभिप्रेरित छ ।
डार्बिनका क्रमिक विकासका नियमहरू मानवीय व्यवहारमा पनि लगाउन सकिन्छ । हाम्रो दिमाग र व्यवहारका पाटाहरू विकासक्रमले नै निर्धारण गरेका हुन् भन्न सकिन्छ । हामीलाई प्रकृतिले सधैँ सुखी रहने बनाएकै छैन । बरू हामीलाई जसरी हुन्छ समाजमा उत्कृष्ट रहेर आफ्नो वंश बढाउने बनाएको छ । प्रकृतिले मानवको दृष्टिकोण दूधको दूध पानीको पानी देख्ने बनाएको छैन । जंगलमा हामीले एउटा डोरी देख्यौँ भने हामी निष्पक्ष रहन सक्दैनौँ । सर्प भनेर तर्सिहाल्छौँ । हाम्रो यस्तो व्यवहारको पछाडि मनोवैज्ञानिक विकासक्रम कारक छ । सयमा ९९ चोटि डोरी डोरी नै हुन्छ, तर एकचोटि सर्प भएको अवस्थाबाट बच्नलाई सयपटक नै झस्किने हाम्रो व्यवहार हुन्छ । यो भ्रम (मिथ्या धारणा)को जालो काट्ने सीप रहेछ, विपश्यना । जीवनका हरक्षण र आयाममा सम्मुख आइरहने सर्परूपी डोरीको भ्रम नास्न र यो प्रकृतिलाई जस्ताको तस्तै देख्न सिकाउने रहेछ, विपश्यनाले । अहिलेको महासंकटमा विपश्यना मानसिक ओखती हुन सक्ने रहेछ ।
बुद्धको मुख्य शिक्षामा चार सत्य पर्छन् । ती चार सत्य हुन्– संसारमा धेरै दुःख छ, दुःखको कारण मानिसको चाहना हो, दुःखको अन्त्यका लागि चाहना छोड्नु आवश्यक छ, चाहना छोड्न आष्टमार्गको अवलम्बन जरुरी छ । यी चार सत्य जीवनदर्शनका चार आयाम हुन् । संसारभरि दुःखैदुःख छ भन्नु एक हिसाबले निराशावादी दर्शन हो । तर, दुःखको समाधान पनि बताएकोले यो आशावादी पनि भयो । कुनै पनि सर्वशक्तिमान् तŒवलाई उल्लेख नगर्नुले बुद्ध धर्मलाई धर्मभन्दा पनि दर्शन भन्न मिल्छ । बुद्धले वर्णन गरेका दुःख हामीले भोग्ने गरेका पीडा मात्र होइन । सुखको अन्त्य पनि एउटा दुःख नै हो । वैज्ञानिक दृष्टिकोणले खुसी हुँदा दिमागमा डोपामिन रसायन निस्कन्छ । हामीले चाहेको पाएपछि दिमागमा यो रसायन उत्पादन हुन्छ । मस्तिष्कले यो रसायन साह्रै छोटो समयका लागि छोड्छ, त्यसैले खुसी यो रसायनजत्तिकै क्षणभंगुर हुन्छ । प्रकृतिले नै हामीलाई सधैँ खुसी हुने बनाएको छैन ।
आठवटा मार्गलाई तीन समूहमा विभाजन गर्न सकिन्छ । तीन मार्ग विचारसँग सम्बन्धित छन्, अरू तीन कार्यसँग र अन्तिम दुई ध्यानसँग सम्बन्धित रहेछन् । विचारसँग सम्बन्धितमा सही सोच, सही मनसाय र सही प्रयास । कार्यसँग सम्बन्धितमा सही कार्य, सही बोली र सही जीवनयापन । ध्यानसँग सम्बन्धित मार्गमा सही ध्यान र सही सचेतना पर्छन् । यी मार्ग जति सरल सुनिन्छन्, उति नै कठिन छन् अवलम्बन गर्न । यी मार्गको अनुसरण गर्न सजगताको जरुरत पर्छ । बौद्धहरू विभिन्न किसिमका ध्यानको अभ्यास गर्छन् । विपश्यनामा श्वासप्रश्वास र विचारमा, तिब्बती ध्यानमा दृश्यमा र जेन बुद्धमार्गमा भनाइ तथा प्रश्नमा केन्द्रित भइन्छ । यस हिसाबले जेन बुद्धमार्गीलाई कवि, तिब्बती बुद्धमार्गीलाई कलाकार र विपश्यनामार्गीलाई मनोवैज्ञानिक भन्न सकिएला । यद्यपि, सबै ध्यान प्रणालीमा सचेतनाकै अभ्यास गरिन्छ । दिमागमा आएका विचारलाई निष्पक्ष भएर नियालिन्छ ।
ध्यानले दिमागमा पार्ने प्रभावहरूको थप विश्लेषण गर्नुअगाडि मानिसको दिमाग कसरी चल्छ, त्यो हेरौँ । मनोवैज्ञानिक अध्ययनअनुसार हामी कुनै पनि वस्तुलाई सहजै राम्रो–नराम्रोमा विभाजन गर्न सक्छौँ । भाइरस, फोहोरजस्ता वस्तुलाई नराम्रो वर्गमा राख्न सन्देह नहोला । औषधि, खानेकुरालाई राम्रो वर्गमा राख्न पनि सन्देह नहोला । तर, कतिपय यस्ता वस्तु छन्, जसको वर्गीकरण असहज हुनुपर्ने हो । तर, अनुसन्धानमा त्यस्तो देखिएन । कुनै पनि कुरालाई राम्रो–नराम्रो छुट्याउने संवेदना हामीमा सधैँ सक्रिय हुन्छ । ध्यानको अभ्यासले हामीलाई सोच तथा वस्तुप्रति आग्रही होइन, निष्पक्ष हुन सिकाउने रहेछ ।
आजकल स्नायुविज्ञानमा दिमागलाई विभिन्न पार्टपुर्जामा विभाजित अंगका रूपमा हेर्ने गरिन्छ । विभिन्न पार्टपुर्जालाई मोड्युल भन्ने गरिन्छ । विभिन्न मोड्युललाई स्विस चक्कुका विभिन्न चक्कुहरूको रूपमा हेर्न पनि सकिन्छ । दिमागलाई ६ ओटा सञ्जालमा विभाजन गरिएको छ । पहिलो सञ्जाल हामी केही नगरी बसिराख्दा चल्छ । दोस्रो सञ्जालले हामीलाई के कुरा महŒवपूर्ण छ, छुट्याउने गर्छ । तेस्रोले हाम्रो ध्यानको सञ्चालन गर्छ । चौथोले हामीलाई निर्णय लिन सिकाउँछ । पाँचौँले हाम्रा मांसपेशीहरूलाई सञ्चालन गर्छ । छैटौँले हामीले देखेको जानकारी प्रशोधन गर्छ ।
ध्यान गरेपछि दिमागमा कस्तो असर पर्छ भनेर थुप्रै वैज्ञानिक अध्ययन भएका छन् । अध्ययनहरूले दिमागका विभिन्न कार्यकारी भाग भेट्टाएको छ । यी भागमध्येमा पर्छ, हामी केही नगरी बसेको वेलामा सक्रिय रहने भाग । यतिकै बसिरहेको वेला हामी भूत र भविष्यका बारेमा सोच्न थाल्छौँ । त्यस बखत मस्तिष्कको जुन भाग सक्रिय हुन्छ, ध्यान गर्नेहरूमा त्यो भाग उत्तिको सक्रिय नरहँदो रहेछ । जसले मानसिक शान्तिको अनुभूति गराउँदो रहेछ । अहिले महामारीका बीच मानिस आत्तिएको छ । उसलाई वर्तमानले चिमोटेको छ र भविष्यले अत्याएको छ । यसबीच, हामी मानसिक अशान्तिमा छौँ । यसर्थ, हामीलाई मानसिक शान्तिका उपायहरू चाहिएका छन् । धैर्य र सहनको क्षमता चाहिएको छ । विपश्यना यसमा फलदायी हुन सक्छ ।
(भट्टराई काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)