रिचर्ड ब्रानसनको निराशाजनक अन्तरिक्ष सयर

देश/विदेश

बिहिबार, ३१ असार, २०७८
डिजिटल संस्करण

अहिलेका अर्बपतिको अन्तरिक्ष चासो तिनको शक्ति प्रदर्शन गर्ने र मुनाफा कुम्ल्याउने सपनाबाट प्रेरित छ । यसले बृहत्तर समाजलाई कुनै फाइदा गर्नेछैन ।

आइतबार ब्रिटिस अर्बपति रिचर्ड ब्रानसनले जमिनभन्दा ८५ किमि माथिसम्म उडान भरेर आफ्नो किशोरकालीन सपना पूरा गरे । अन्तरिक्ष उडानको सबैभन्दा उचाइमा पुगेपछि ब्रानसनले भने, ‘सम्पूर्ण बालबालिकाले मेरा कुरा सुन्नुहोस्, एक समय म पनि स्वप्नशील बालक थिएँ, जसको नजर आकाशतर्फ हुन्थ्यो । आज ठूलो भएपछि अन्तरिक्षमा आइपुगेको छु । यदि हामीले गर्न सक्यौँ भने तपाईंहरूले के मात्र नगर्नुहोला, कल्पना गर्नुहोस् ।’ ब्रानसनलाई यात्रामा भर्जिन ग्यालेटिकका कर्मचारीहरू बेथ मोसेस, कोलिन बेनेट र सिरिसा बन्डाले साथ दिएका थिए । 

अर्बपति ब्रानसनको सफल अन्तरिक्ष उडानलाई अन्तरिक्ष पर्यटन उद्योगको महत्वपूर्ण सफलता मानिएको छ । अन्य दुई अर्बपति पनि अन्तरिक्षतर्फ ध्यान दिएर बसेका छन् । अमेजनका संस्थापक जेफ बेजोस जुलाई २० मा आफ्नै लगानीमा अन्तरिक्ष जाँदै छन् । त्यस्तै इलोन मस्कको अन्तरिक्ष कम्पनीले पनि यसै वर्षको अन्त्यसम्म नागरिक क्रु रहने वाहनलाई अन्तरिक्षको कक्षमा पुर्‍याउँदै छ । 

ब्रानसनको अन्तरिक्ष यात्राबाट मानवजगत्ले केही हासिल गरेन । युरी गागरिनले ६० वर्षअघि अन्तरिक्षमा पुगेर १०८ मिनेटमा पृथ्वीको चक्कर लगाएका थिए । ब्रानसनको तुलनामा गागरिनले हासिल गरेको सफलता निकै ठूलो हो । 

अर्बपतिबीच देखिएको अन्तरिक्ष दौडले अन्तरिक्ष पर्यटनलाई निकट भविष्यमा सम्भव बनाउने अपेक्षा बढेको छ । तर, यी विकासक्रमबाट त्यति उत्साही हुनु आवश्यक छैन । पहिलो त अन्तरिक्ष उडानको वातावरणीय असर हुन्छ । भर्जिन ग्यालेटिकले आफ्नो अन्तरिक्ष उडानको कार्बन उत्सर्जन अमेरिकाबाट युरोपसम्मको हवाई यात्रामा उत्सर्जित भएबराबर हुने बताएको छ । (११ हजार किमिको उडानमा प्रतियात्रु प्रतिकिमी ०.२ केजी कार्बन उत्सर्जन हुन्छ) तर व्यावसायिक हवाई उडानको तुलनामा अन्तरिक्ष उडानमा निकै कम यात्रु हुन्छन् । ब्रानसनको १६० किमिको अन्तरिक्ष उडानमा प्रतियात्रु, प्रतिकिमि १२ केजी कार्बनडाइअक्साइड उत्सर्जन हुनेछ । केही मिनेटका लागि शून्य गुरुत्वको अनुभवका लागि यति उत्सर्जन हुनु निकै धेरै हो । बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले आफूहरूको जहाजले निकै कम वातावरणीय प्रभाव पार्ने बताएको छ । कम्पनीको अन्तरिक्षयानमा हाइड्रोजन÷अक्सिजनको इन्जिन प्रयोग हुने र तिनले कार्बन उत्सर्जन नगर्ने कम्पनीको दाबी छ । तथापि हाइड्रोजन पनि पेट्रोलियम पदार्थबाट बनाइन्छ, जसको निर्माण क्रममा कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ । 

वातावरणीय प्रभावलाई बेवास्ता गर्ने हो भने पनि अर्बपतिहरूको अन्तरिक्ष दौडले बृहत्तर समाजलाई तत्काल कुनै फाइदा गर्नेछैन । यो लेख लेखिरहँदा अमेरिकाको पश्चिमी भागका मानिसले ऐतिहासिकस्तरको तापमान वृद्धिको सामना गरिरहेका छन् । हालसम्म यसबाट सयभन्दा बढीको ज्यान गइसक्यो । झन्डै २.४ करोड मानिसलाई उच्च तापक्रमको असरबाट बच्न चेतावनी दिइएको छ । अमेरिकाका १२ राज्यमा फैलिएका विशाल ५५ डढेलोले साताभरमा सात लाख ६८ हजार तीन सय सात एकड जमिनलाई असर गर्‍यो । उत्तरपश्चिम प्रशान्तमा हालै देखिएको ताप लहर मानव निर्मित जलवायु परिवर्तनबाहेक अरूले गराउन सक्दैन । जलवायुमा थप क्षति हुन नदिनु पृथ्वीको सबैभन्दा जल्दोबल्दो चुनौती हो । अन्तरिक्ष पुग्नुभन्दा अर्बपतिको ध्यान यस्ता विषयमा केन्द्रित हुनुपर्थ्यो । अन्तरिक्ष पर्यटनमा सन् २०२५ सम्म पाँच अर्ब डलरको व्यवसाय हुने बताइँदै छ ।

तर, यो व्यवसायको मुख्य फाइदा पहिलेदेखि अर्बपति रहेका सीमित व्यक्तिले नै पाउनेछन् । ब्रानसन आठ अर्ब डलरका मालिक हुन् । कोरोना महामारीकालमा जेफ बेजोस र इलोन मस्क विश्वका सबैभन्दा धनीको शीर्षस्थानका लागि प्रतिस्पर्धा गरिरहेका थिए । हाल बेजोस २११ अर्ब डलरसाथ शीर्षस्थानमा छन् । बेजोसको धन अर्बपतिको औपचारिक तथ्यांक राख्न थालेयताकै सबैभन्दा धेरै हो । यी तीन पुरुषले संयुक्त रूपमा तिनको सम्पत्तिलाई विश्वका जल्दोबल्दो समस्या सल्टाउन खर्च गरे भने पनि संसारको धनाढ्यको शीर्षस्थानमा कायमै रहनेछन् । 

ब्रानसनको यात्राबाट मानवजगत्ले केही हासिल गरेन । युरी गागरिनले ६० वर्षअघि नै अन्तरिक्षमा पहिलोपटक पाइला टेकेका थिए । दोस्रो विश्वयुद्धमा नाजीहरूबाट बालबाल बचेका एक सिकर्मीका सन्तान गागरिनले पृथ्वीमा फर्कनुअघि यस ग्रहलाई १०८ मिनेटमा चक्कर लगाएका थिए । ब्रानसनको तुलनामा गागरिनले हासिल गरेको सफलता निकै ठूलो हो । अहिलेका अर्बपतिको अन्तरिक्ष चासो तिनको शक्ति प्रदर्शन गर्ने र मुनाफा कुम्ल्याउने सपनाबाट प्रेरित छ । भविष्यमा हुने भर्जिन ग्यालेटिकको प्रतिउडान मूल्य दुई लाख डलरदेखि दुई लाख ५० हजार डलरबीच हुनेछ ।

यस अर्थमा ब्रानसनको सफलता भनेको धनाढ्यहरूबाट लाखौँ डलर लिएर केही मिनेटको शून्य गुरुत्व अनुभव गराउने मात्र हो । नासाका अन्तरिक्षयात्री रोन गरानले उनको पुस्तक ‘ओर्बिटल पर्सपेक्टिभ’मा यो ‘स्वर्ग’तर्फ हेर्दा ‘यहाँका झन्डै एक अर्ब मानिसले शुद्ध पिउने पानी नपाउने गरेको, हरेक रात भोकै निदाउनुपर्ने स्थिति र विश्वभर व्याप्त सामाजिक अन्याय, द्वन्द्व र गरिबी’लाई बिर्सिन नसकेको लेखेका छन् । रिचर्ड ब्रानसनले यसतर्फ थोरै मात्र ध्यान दिएको भए राम्रो हुने थियो। 

(थोमस लेखक तथा सम्पादक हुन्) 
सिएनएनबाट

सुझावित समाचार