आजै सानो आकारको मन्त्रिपरिषद्

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले समयसीमा नै तोकेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएलगत्तै विपक्षी गठबन्धनले मन्त्रिपरिषद् गठनबारे छलफल थालेको छ । देउवाको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाएर अघि बढ्ने गठबन्धनको निर्णय छ । सकेसम्म सर्वदलीय सरकारको कोसिस गर्ने विपक्षी गठबन्धनको निर्णय छ । 

कांग्रेस र माओवादी सहभागी मन्त्रिपरिषद् : बालकृष्ण खाण

सुरुमा सानो आकारको मन्त्रिमण्डल बन्छ । यसबारे मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउँछ, हामी त राष्ट्रिय सरकार बनोस् भन्ने चाहन्छौँ 

कोटेश्वरस्थित एमाले नेता माधव नेपालको निवासनजिकै वन पैदावरमा बसेको गठबन्धनको बैठकले मंगलबार प्रधानमन्त्रीको शपथपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने निर्णय गरेको हो । तर, मन्त्रिमण्डल कस्तो र कति सदस्यीय बनाउने भन्नेबारे छलफल गर्न मंगलबार पुनः शीर्ष नेताको बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । ‘सुरुमा सानो आकारको मन्त्रिमण्डल बन्छ । मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउँछ, हामी त राष्ट्रिय सरकार बनोस् भन्ने चाहन्छौँ,’ उनले भने । 

माओवादी नेता वर्षमान पुनले पनि मंगलबार सानो आकारको मन्त्रिमण्डल बन्ने र त्यसपछि सरकार र गठबन्धनको प्राथमिकता हेरेर थप कार्य गरिने बताए । ‘प्रधानमन्त्रीको शपथ भएपछि अहिले सानो आकारको मन्त्रिमण्डल बन्छ, त्यसपछि सर्वदलीय सरकारको पहल गर्ने भन्ने छ । त्यस्तो नभए गठबन्धन त छँदै छ,’ उनले भने । 

तर, तत्कालै नेपाल समूह भने सरकारमा सहभागी नहुने भएको छ । नेता नेपालले अहिले आफूहरूको पार्टी एकताको प्रक्रिया अघि बढेकाले तत्काल गठबन्धनबाट बाहिरिने र सरकारमा सहभागी हुने वा नहुनेबारे पछि छलफल गर्ने बताएका थिए । 

गठबन्धनको बैठकमा नयाँ सरकार कहिलेसम्म रहने भन्नेबारेमा पनि छलफल भएको छ । ‘यो सरकार पूरै अवधिसम्म जान्छ । हामी जानुपर्छ भन्नेमै छौँ । त्यसबारे निर्क्योल भएको छैन, तर थप छलफल गरेर सरकारलाई संसद्को आयु रहुन्जेल काम गर्न दिनुपर्छ भन्ने नै छ,’ जसपाका नेता राजेन्द्र श्रेष्ठले भने । 

देउवालाई बधाई, नेपालको प्रशंसा
विपक्षी गठबन्धनको सोमबारको बैठकमा नयाँ प्रधानमन्त्रीका लागि देउवाले बधाई पाए । तर, बैठकमा बोल्ने अधिकांश नेताले एमाले वरिष्ठ नेपालको प्रशंसा गरे । नेपालको साहसिक निर्णयले मात्रै मुलुकको संविधान र लोकतन्त्रको रक्षा गर्ने कार्यको जित भएको भन्दै बैठकमा अधिकांश नेताले नेपालको प्रशंसा गरेका थिए । जनता समाजवादी पार्टीका नेता श्रेष्ठले नेपाल प्रतिगमनविरुद्धको आन्दोलनको नायक भएको बताए । ‘प्रधानमन्त्रीमा हामीले देउवाजीलाई अघि सार्‍यौँ । तर, वास्तवमा यो कोर्सको नायकचाहिँ माधवकुमार नेपाल नै हो,’ उनले भने ।

सुझावित समाचार