नेपालमा राणाशासन समाप्त गरी प्रजातन्त्र ल्याएको पनि ७० वर्ष भइसक्यो । राजनीतिक पद्धति फेरिएको यति लामो अवधिसम्म पनि देशको विकास किन हुन सकेन ? हाम्रा दुई छिमेकी चीन र भारतले यो स्तरको प्रगति गरिसक्दा पनि हामी भने किन अझै यति धेरै पछाडि छौँ ? आखिर हाम्रो समस्या के हो र हामी कहाँनेर चुकिरहेका छौँ ? यस्ता प्रश्न हामीबीच बारम्बार उठिरहेका हुन्छन् ।
सन् १९८२ मा देङ स्याओ पिङ सत्तामा आउँदा चीनको प्रतिव्यक्ति आय तत्कालीन बंगलादेशको भन्दा कम अर्थात् १९० डलरभन्दा पनि तल थियो । त्यसयता चीनले गरेको आर्थिक प्रगतिसँगै अहिले त्यहाँको प्रतिव्यक्ति आय सात हजार डलरभन्दा माथि पुगिसकेको छ । आखिर के कारणले त्यहाँ यो रफ्तारमा प्रगति सम्भव भयो ? उता भारतको आर्थिक वृद्धि जुन गतिमा अघि बढिरहेको छ, त्यसका आधारमा विज्ञहरूले सन् २०४० सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने भविष्यवाणी गरिरहेका छन् । यसरी दुई छिमेकी यसरी अघि बढिरहेको समयमा हामी कहाँ चुक्यौँ भन्ने प्रश्न उठ्नु अन्यथा पनि होइन ।
यसका पछाडि धेरै कारण हुन सक्छन् । तर, सरसर्ती हेर्दा मैले मुख्य रूपमा दुईवटा पक्ष जिम्मेवार रहेको पाउँछु, एउटा पद्धति र अर्को पात्र । हामीले देशमा कस्तो खालको अर्थ–राजनीतिक पद्धतिको कल्पना गरेका छौँ र त्यसलाई कसरी संस्थागत गर्ने कोसिस गरेका छौँ ? त्यसका साथै त्यो पद्धतिलाई संस्थागत गरी अगाडि लैजाने पात्र हामीकहाँ कस्ता छन् र तिनले कस्तो भूमिका खेले या खेलिरहेका छन् ? त्यो पद्धतिले तोकेको भूमिका या मर्यादा ती पात्रले राम्ररी निर्वाह गरे या गरेनन् ? देशको आर्थिक उन्नति किन हुन सकेन भनेर विश्लेषण गर्दै गर्दा हामीले यी विभिन्न प्रश्नको पनि उत्तर खोज्नुपर्ने हुन्छ ।
पद्धति र पात्रबीचको अन्तर्सम्बन्धले कुनै पनि राष्ट्र कसरी अगाडि बढ्छ भन्ने निर्धारण गर्छ । यसको उदाहरण खोज्न टाढा जानुपर्दैन । दुई छिमेकी भारत र चीनलाई हेर्दा पुग्छ । छिमेकी भारतलाई हेर्दा : सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएयता सन् १९९० सम्मको लामो अवधिमा भारतको आर्थिक वृद्धिदर वार्षिक चार प्रतिशतभन्दा पनि कम रह्यो । त्यतिखेरका प्रसिद्ध अर्थशास्त्री राजकृष्णले भारतको त्यो आर्थिक वृद्धिदरलाई ‘हिन्दू रेट अफ ग्रोथ’ नाम दिएका थिए ।
अर्थात् ‘हिन्दूले गर्न सक्ने आर्थिक वृद्धि बढीमा चार प्रतिशत या त्योभन्दा कम नै हुन्छ’ सम्म भनिन्थ्यो । यस अवधिमा भारत आर्थिक वृद्धिदरका हिसाबमा खासै अघि बढ्न सकेन । तर, उनीहरूले पद्धति भने बलियो बनाए । भारतमा बलियो पद्धति बसाउने कार्यमा पं. जवाहरलाल नेहरूको भूमिका महत्वपूर्ण छ ।
भारतमा जुन प्रजातान्त्रिक संविधान लागू गरियो, त्यसको मूल्य र मान्यतालाई आत्मसात् गरेर त्यसलाई संस्थागत गर्ने कार्यमा नेहरू र त्यतिखेरका नेताहरूको अहं भूमिका रह्यो । १७ वर्षसम्म सत्तामा रहेका नेहरू, राष्ट्रपति सर्वपल्ली राधाकृष्णनलगायत नेता, सबैले बहुदलीय संसदीय व्यवस्थालाई मजबुत बनाउन बलियो जग हाल्ने काम गरे । नेहरूको पालामा बसेको त्यो जगलाई उनैकी छोरी इन्दिरा गान्धीले तोड्ने प्रयास गरे पनि उनी त्यसमा सफल भइनन् । उनका पिता र अन्य राजनीतिक अग्रजले बसालेको राजनीतिक पद्धति तोडिएन, कायमै रह्यो । त्यतिखेरका नेताहरूको सुझबुझपूर्ण शासनमा राजनीतिक पद्धतिको बलियो जग बसे पनि आर्थिक विकास भने खासै हुन सकेन ।
सन् १९९० सम्म आइपुग्दा राजनीतिक पद्धतिमा भारत सुदृढ देखिँदै आयो । आखिर त्यही सुदृढ पद्धतिमा टेकेर पिभी नरसिंह राव, डा. मनमोहन सिंहलगायत नेताले आर्थिक रूपमा पनि देशलाई नयाँ फड्को दिलाए । सन् २००४ देखि २०१४ सम्मको १० वर्षको अवधिमा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत थियो ।
त्यसयता पनि उसको वृद्धिदर कोरोनाका वर्षहरूलाई छाड्ने हो भने सात प्रतिशतबाट तल झरेको छैन । अग्रजहरूले स्थापित गरिदिएको राजनीतिक पद्धतिले परिभाषित गरेको मूल्य र मान्यता नतोडी देशलाई अघि बढाउन सक्ने पात्रहरू देशले पाएको हुनाले भारतको अर्थतन्त्र निरन्तर प्रगतिकै क्रममा रहेको देखिन्छ । भारतमा जुन राजनीतिक स्थायित्व कायम भएको छ, जुन प्रकारको बलियो पद्धति स्थापित भएको छ, त्यसैको जगमा उनीहरूले बनाउँदै गरेका नयाँ आर्थिक संरचनाहरू पनि सफल हुनेछन् । र, सन् २०४० सम्ममा भारत संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्ने जुन प्रक्षेपण गरिएको छ, त्यो साँचो ठहरिने संकेतहरू अहिल्यैदेखि देखिँदै छन् ।
छिमेकी चीनलाई हेर्दा : चीनमा माओत्से तुङले ठूलो क्रान्ति गरे । क्रान्ति सफल पनि भयो । उनले क्रान्तिको जगमा विगतलाई बिर्सेर विकास र निर्माणको नयाँ युग ल्याउने सपना देखेका थिए । पुँजीवादी व्यवस्था ध्वस्त पार्नुपर्छ । परम्परागत माक्र्सवादअनुसार देशमा निजी सम्पत्तिलाई सरकारीकरण गर्नुपर्छ । राज्यमा कम्युनिस्ट पार्टीको नेतृत्व हुनुपर्छ भन्ने माओको नीति थियो ।
माओले एकदलीय कम्युनिस्ट पद्धतिको व्याख्या गरेर जेजस्तो नीति अंगीकार गरे, त्यसैका कारण सन् १९६० को दशकतिर आइपुग्दा चीनको अर्थतन्त्र ध्वस्त भइसकेको थियो । तत्कालीन राष्ट्रपति ली साओचीले देश असफल राष्ट्र बन्ने अवस्थामा पुगेको स्वीकार गरिसकेका थिए । माओले क्रान्तिपछि स्थापित गरेको पद्धतिको बलमा चीनलाई आर्थिक विकासका दृष्टिले छलाङ लगाउने जुन सपना देखेका थिए, त्यो चकनाचुर भयो । जब चीनमा देङ स्याओ पिङले शासन सत्ता सम्हाले, तब कम्युनिस्ट पार्टीकै शासन सत्ता कायम राखेर पनि त्यसका मूल्य र मान्यतामा आमूल परिवर्तन ल्याए ।
उनले चीनको अर्थतन्त्रलाई पुँजीवादी अर्थव्यवस्थातर्फ रूपान्तरण गरे । हिजोसम्म सामूहिक कृषिमा संलग्न किसानलाई जग्गा तिमीले पाउँछौ, त्यसमा खेती गर, राज्यलाई तिनुपर्ने कर तिर र बाँकी रहेको नाफा तिमी आफू खाऊ भनियो । यही एउटा सामान्य नीतिगत सुधारसँगै चीनको कृषिमा लगभग क्रान्ति नै भयो । कम्युनिस्ट पार्टीको शासनभित्रै रहेर पनि पुँजीवादी शासन पद्धतिमा झैँ गरिनुपर्ने सुधार र प्रोत्साहन गरेर अघि बढ्दा चीनले आर्थिक वृद्धिका क्षेत्रमा छलाङ लगाउन सुरु ग¥यो । आखिर पात्र सही पर्यो भने उसले पद्धतिलाई प्रयोग गरेर सुधार गर्न सक्दो रहेछ भन्ने चीनको उदाहरणबाट देखिन्छ ।
नेपाललाई हेर्दा : नेपालमा हामीले पटक–पटक गरेर ६ वटा संविधान बनाइसकेका छौँ । हामीले राणाशासन अन्त्य गरी ००७ सालमा प्रजातान्त्रिक पद्धति भित्र्यायौँ । २०१५ सालमा संसदीय पद्धति भित्र्यायौँ । २०१७ सालमा अर्को पद्धति ल्यायौँ । २०४६ सालमा संसदीय पद्धति पुनस्र्थापित ग¥यौँ । हाम्रा संविधानमा हामीले प्रजातान्त्रिक पद्धतिका मूल्य र मान्यता स्थापित गर्ने कोसिस पनि गर्यौँ । तर, हामीले त्यसलाई व्यवहारमा भने कहिल्यै स्विकारेनौँ, जहिल्यै त्यसका सीमा नाघिरह्यौँ ।
हाम्रा पात्रहरू पद्धतिलाई बलियो बनाउनभन्दा पनि आफूअनुकूल हुने गरी त्यसलाई भाँचकुँच गर्न, आफू र आफ्नालाई सहज हुने गरी ऐन, नियम र कानुन तोडमोड गर्नसमेत हिचकिचाउँदैनन्
हामीले पटक–पटक संघर्ष गरेर स्थापित गरेको पद्धति सञ्चालन गर्ने पात्रहरूले पद्धतिलाई संस्थागत गरेर बलियो बनाउन कहिल्यै चाहेनन् । उनीहरूले हामीले अँगालेको राजनीतिक पद्धतिले तोकेका मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्नै चाहेनन् । २०४६ को परिवर्तनपछि बनेको संविधान आफैँमा नराम्रो थिएन । तर, त्यसलाई पालना गरेर शासन सत्ता चलाउनुपर्ने पात्रहरूले त्यस संविधानले तोकेका मूल्य–मान्यतालाई पालना गरेनन् । यसमा धेरथोर दोष हाम्रो पनि थियो होला ।
ठुल्ठूला पार्टी र तिनका नेतृत्वको दोष झनै ठूलो थियो । संसदीय व्यवस्थाले स्थापित गरेको पद्धति र त्यसको मूल्य–मान्यतालाई हामीले स्वीकार नगरेकै कारण आजको यो भद्रगोलको अवस्था सिर्जना भएको हो । राम्रो शासन व्यवस्था किताबमा आयो, तर त्यसलाई सञ्चालन गर्ने पात्रहरूको कमजोरीले गर्दा देशले आर्थिक प्रगति गर्न सकेन । पात्रहरू गलत परे, पात्रले गलत गरे या पात्रले पद्धतिले तोकिदिएका सीमाहरू भत्काउन थाले भने एउटा राम्रो सम्भावना भएको पद्धति पनि काम नलाग्ने हुन बेर लाग्दो रहेनछ ।
१० वर्षे ध्वंसात्मक युद्धपछि हामीले पुनः नयाँ पद्धति ल्यायौँ । तर, सञ्चालक पात्रहरूको निहित स्वार्थ र कमजोरीका कारण यस शासन पद्धतिबाट पनि देश र जनताको हित हुन सकिरहेको छैन । हामीले शासन पद्धतिलाई देश र जनताको बृहत्तर हितमा भन्दा पनि पात्र, तिनका आसेपासे, आफन्त र कार्यकर्ताको हितमा मात्र दुरुपयोग गरिरह्यौँ । पात्रहरूको यही मनोमानीका कारण राम्रो हुँदाहुँदै पनि हामीले ल्याएको पद्धति कमजोर हुँदै गयो ।
नेपालका सन्दर्भमा भन्नुपर्दा हामी पद्धति बनाउन जहिल्यै तयार भयौँ । क्रान्तिका नाममा १७ हजार नेपालीको त सफाया नै भयो । पटक–पटक लडेर या संघर्ष गरेर नयाँ–नयाँ पद्धति हामीले स्थापित पनि ग¥यौँ । तर, पद्धति स्थापित भइसकेपछि त्यसले तोकेका मूल्य, मान्यता अंगीकार गरी शासन सत्ता सञ्चालन गर्ने पात्रका रूपमा भने हामी पटक–पटक असफल साबित हुँदै आयौँ ।
भारतमा नेहरूले सुरु गरेको प्रजातान्त्रिक पद्धतिलाई उनैले बलियो बनाए । त्यसैलाई अनुसरण गरेर उनीपछि आएका पात्रहरूले देशलाई अघि बढाए । माओत्से तुङले सुरु गरेको प्रयोग असफल भए पनि उनले कम्युनिस्ट पार्टीलाई स्थापित गराए । त्यसै पद्धतिलाई अनुसरण गरेर देङ स्याओ पिङले चीनलाई गति दिए । तर, हामीकहाँ भने कुनै पनि दल र पात्रले पद्धतिलाई संस्थागत गर्नै चाहेनन् । हाम्रा पात्रहरू पद्धतिलाई बलियो बनाउनभन्दा पनि आफूलाई अनुकूल हुने गरी पद्धतिलाई भाँचकुच गर्न, आफू र आफ्नालाई सहज हुने गरी ऐन, नियम र कानुन तोडमोड गर्नसमेत हिचकिचाउँदैनन् ।
पद्धतिले मलाई निर्देशन गर्ने होइन, मेरो चाहनाअनुरूप पद्धति निर्देशित हुनुपर्छ भन्ने पात्रहरूका कारण हामीले पटक–पटक स्थापित गरेका पद्धति कामै नलाग्ने साबित भए । हामीले भर्खरै मात्र ल्याएको नयाँ संविधानप्रति पनि तिनै पात्र र तिनका प्रवृत्तिका कारण जनताको विश्वास गुम्दै गएको अवस्था छ ।
संविधानले तोकेका बारबन्देज र मर्यादाभित्र रहेर देश र जनताका हितमा काम गरौँ भन्ने भन्दा पनि यो संविधानलाई प्रयोग गरेर जसरी हुन्छ आफू र आफ्ना मान्छेको स्वार्थपूर्ति गरौँ, यो राष्ट्रलाई सकभर छिटोभन्दा छिटो दोहन गरौँ भन्ने मानसिकता बोकेका पात्र र प्रवृत्तिका कारण आज छोटो समयमै वर्तमान संविधान पनि असफल हुने त होइन भन्ने प्रश्न उठ्न थालिसकेको छ ।
समस्याको समाधान : हामीकहाँ देखिएको पद्धति र पात्रबीचको असंगति या बेमेलको समस्या समाधानको उपाय भनेको हामीले स्थापित गरेको पद्धति, त्यसले बनाएका संरचना र तिनले तोकेका मूल्य–मान्यता सबैले व्यवहारमा पालना गर्नु हो । म पात्र नै सर्वेसर्वा हुँ र यो पद्धतिले मेरो सेवा गर्नुपर्छ भन्ने गलत सोच बोकेका पात्र र तिनका प्रवृत्तिका कारण देश अराजकतातिर धकेलिन्छ ।
अहिले हामीले अँगालेको पद्धतिका पनि केही आधारभूत कमजोरी छन् । राजसंस्था, सनातन हिन्दू धर्म, संघीयताको वर्तमान मोडललगायत विषयमा हाम्रो पार्टीको फरक मत छ । तर, त्यति हुँदाहुँदै पनि यो संविधानले दिएका प्रजातान्त्रिक मूल्य र मान्यतालाई पद्धतिका रूपमा विकास गर्न यहाँको सत्तामा पुगेका पात्रले जेजसरी खेलबाड गरिरहेका छन्, यसले उनीहरू पद्धति बलियो बनाउन होइन, पद्धतिका नाममा आफ्नै पुरानो सामन्तवादी शासन कायम गर्न चाहन्छन् भन्ने प्रस्ट हुन्छ । यसमा अंकुश लगाउने जनताले नै हो ।
(डा. लोहनी राप्रपा अध्यक्ष हुन्)